close

कति पर्छ टेलिकमको नमस्ते वाई-फाई चल्ने राउटरको मूल्य ?

टेकपाना टेकपाना

माघ ६, २०७८ १८:४४

कति पर्छ टेलिकमको नमस्ते वाई-फाई चल्ने राउटरको मूल्य ?

काठमाडौं । नेपाल टेलिकमले आफ्नो फोरजी नेटवर्कमा आधारित होम ब्रोडब्यान्ड सेवाको रुपमा नमस्ते वाईफाई बजारमा ल्याएको छ । त्यसका लागि विभिन्न प्याकेज सार्वजनिक गरेको कम्पनीले वाई-फाई राउटरका लागि निजी कम्पनीसँग सहकार्य गरेको छ ।

विशेषतः फोरजी सेवाको कभरेज भएका तर एफटीटीएच सेवा नपुगिसकेको क्षेत्रमा रहेका ग्राहकहरूलाई लक्षित गरी कम्पनीले यस किसिमको प्याकेज ल्याएको हो । त्यसो त सहरी क्षेत्रका फाइबर इन्टरनेट प्रयोगकर्ताले समेत ब्याकअपको रुपमा यो सेवा लिनसक्ने अपेक्षा  गरिएको छ ।  

यदि तपाईँ यो सेवा तथा प्याकेज प्रति आकर्षित हुनु भएको छ भने पक्कै पनि राउटरको मूल्य कति पर्छ भन्ने जिज्ञासा पनि रहेको हुनुपर्छ । त्यसैले हामीले नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी समक्ष यो जिज्ञासा राखेका छौँ ।

उनका अनुसार घरायसी प्रयोगकर्ताले नमस्ते वाईफाई राउटरका लागि सात हजार रुपैयाँदेखि नौ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ भने कर्पोरेट ग्राहकलाई २५ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म पर्नेछ । ‘इथरनेट पोर्ट र ब्याट्री ब्याकअपको सुविधा समेत रहेको यो राउटर प्राविधिक रुपमा समेत केही महँगो पर्ने गर्छ,’ उनले टेकपानासँगको कुराकानीमा भनिन्, ‘पावर ब्याकअप अनुसार यसको मूल्य पनि फरक पर्न गएको हो ।’

कम्पनीको आफ्नै वितरण सञ्जाल हुँदा हुँदै निजी कम्पनीसँग किन सहकार्य गर्नुपर्‍यो भन्ने प्रश्नमा उनले छिटो छरितो रुपमा सेवा वितरण गर्न यो मोडालिटी अपनाइएको जवाफ दिइन् । ‘हामीले विगतको वाई-म्याक्स र अहिलेको एफटीटीएच सेवा विस्तारमा समेत यही मोडालिटी अपनाएको अवस्था हो,’ प्रमुख व्यावसायिक अधिकृत पहाडीले अगाडि भनिन् ।

नमस्ते वाई-फाई सेवा लिन चाहने ग्राहकले आफ्नो नजिकै रहेको टेलिकम कार्यालयमा सम्पर्क राख्न सक्ने बताइएको छ । त्यसपछि टेलिकम कार्यालयले वितरकलाई उक्त अर्डर पठाउनेछन् ।

त्यस आधारमा वितरकबाटै नमस्ते वाई-फाई चल्ने होम ब्रोडब्याण्ड उपलब्ध गराइने टेलिकमले जनाएको छ । राउटरको अनुगमन, गुणस्तर सुनिश्चितता लगायतका काम पनि सप्लायरले नै गर्नुपर्ने गरी सम्झौता भएको पहाडीले बताइन् ।

नेपाल टेलिकमले गत वर्ष आह्वान गरेको टेन्डरबाट टेलिकमको नमस्ते वाई-फाईका लागि आवश्यक राउटर उपलब्ध गराउन दुई ओटा कम्पनी छानिएका थिए । जसमा साइबरनेटिक्स प्रालि र साङ्ग्रिला प्रालि रहेका छन् ।

पहाडीका अनुसार साइबरनेटिक्सले राउटर नेपाल ल्याएपछि टेलिकमको फोरजी एलटीई नेटवर्कमा चल्ने नचल्ने परीक्षण, त्यसको अधिकारिकता लगायतका विभिन्न चरण पार गरेपछि मात्रै बजारमा बिक्री गर्ने अनुमति प्रदान गरिएको हो ।

‘साङ्ग्रिलाले ल्याएको राउटर अहिले परीक्षणकै क्रममा छ । टेस्टिङ लगायतका परीक्षणमा सफल देखिए त्यसलाई पनि स्वीकृति प्रदान गर्छौँ,’ उनले टेकपानासँग भनिन्, ‘त्यसपछि यो सेवाले अझ व्यापकता पाउने अपेक्षा हामीले राखेका छौँ ।’ टेन्डरबाट राउटरका लागि न्युनतम प्रस्ताव पेश गर्ने कम्पनीहरू मध्येबाट दुई ओटा सप्लायर चयन गरिएको कम्पनीले जनाएको छ ।

टेलिकमको फोरजी एलटीई नेटवर्क अनुसार १८०० मेगाहर्ज र ८०० मेगाहर्ज दुवै फ्रिक्वेन्सी ब्याण्डमा चल्ने राउटर बन्डलिङको आधारमा बिक्री गर्न लागिएको हो । यसमा राउटरको आम्दानी सम्बन्धित कम्पनीको हुने र डेटा प्याकेजको आम्दानी टेलिकमको हुने भन्दै अहिलेसम्म एक अर्काको आम्दानीमा कमिसन लिने दिने कुरा नरहेको पहाडीको भनाई छ ।

‘यो टेलिकमले डेटा प्याकेज दिने र मोबाइल निर्माता कम्पनीहरूले सेट बिक्री गरे  जस्तै विषय हो, ’ उनले भनिन्, ‘तर यसमा अतिरीक्त रुपमा बन्डलिङ मात्रै गरिएको हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२