close

नेपालबाट विदेशीलाई यसरी खेलाइन्थ्यो अनलाइन जुवा, १२ जना पक्राउ

टेकपाना टेकपाना

माघ ७, २०७८ १०:९

नेपालबाट विदेशीलाई यसरी खेलाइन्थ्यो अनलाइन जुवा, १२ जना पक्राउ

काठमाडौं । अनलाइन मार्फत देश विदेशमा रहेकाहरूलाई जुवा खेलाउने समूहलाई महानगरिय अपराध महाशाखाले पक्राऊ गरेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाबाट उनीहरूलाई पक्राऊ गरिएको हो । नेपालमा बसेर विदेशीहरूलाई अनलाइनमार्फत जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ । 

महाशाखाका अनुसार पक्राउ परेका व्यक्तिहरू मध्ये सुरेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन व्यवस्था मिलाएका थिए । यसको लागि उनीहरूले कीर्तिपुरमा तीन वटा घर भाडामा लिएका थिए । तीन वटा घरमा २४ सै घण्टा अनलाइन मार्फत जुवा खेलाउनका लागि कर्मचारीहरू समेत राखिएको थियो । 

कर्मचारीहरूले फेसबुकमार्फत अमेरिकी तथा युरोपेली नागरिकहरूलाई साथी बनाई जुवा, फायर काइरिङ, रिभर स्वीप्स, रिभर मोन्सटर, भेगस-एक्स लगायतका अनलाइन जुवा खेल्ने लिंक सेयर गरी डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको पुरस्कार दिने गरेका थिए । उनीहरूले १० महिनादेखि अनलाइन जुवा खेलाइरहेको प्रहरीले जनाएको छ । 


महाशाखाले माघ ५ गते सो समूहलाई पक्राउ गरेको हो ।   

महाशाखाबाट खटिएको प्रहरी टोलीले कीर्तिपुर नगरपालिकाको वडा नं.-६ चोभार, वडा नं.-९ नगाँउ र वडा नं.-१० बागभैरब स्थित विभिन्न घरहरू खानतलासी गर्दा अनलाइन जुवा खेलाइरहेको अवस्थामा १२ जनाको समूहलाई ल्यापटप, मोबाइल लगायतका उपकरणहरू सहित पक्राउ गरेको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२