close

देशका सबै स्वास्थ्य संस्थामा पुग्यो निःशुल्क इन्टरनेट

टेकपाना टेकपाना

माघ २५, २०७८ १४:२७

देशका सबै स्वास्थ्य संस्थामा पुग्यो निःशुल्क इन्टरनेट

काठमाडौं । देशभर रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट जडानको काम सम्पन्न भएको छ । चार हजार १२२ वटा स्वास्थ्य संस्थामा दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने योजना सहित यो परियोजना अघि बढाइएको थियो ।

विभिन्न चरणमा भएको सम्झौता अनुरूप देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा इन्टरनेट जडानको काम सम्पन्न भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले हालै ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरूको प्रगति विवरण सार्वजनिक गरेको छ ।

उक्त प्रगति विवरण अनुसार पुस महिनासम्म देशका सम्पूर्ण स्वास्थ्य संस्थाहरू इन्टरनेटमा जोडिएका छन् । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत ७०२ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्नेगरी १८ परियोजना अगाडि बढाएको छ ।

जसअन्तर्गत ७०२ वटा स्थानीय तह, पाँच हजार ८२७ वटा वडा कार्यालय, पाँच हजार २२५ वटा सामुदायिक विद्यालय र चार हजार १२२ वटा स्वास्थ्य संस्था गरी कूल १५ हजार ८४९ वटा स्थानमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम अगाडि बढाइएको थियो ।

त्यसमध्ये ९९.५१ प्रतिशत स्थानीय तहमा इन्टरनेट जडानको काम सम्पन्न भइसकेको जनाइएको छ । जसअन्तर्गत ६९५ स्थानीय तह, पाँच हजार ८२२ वटा वडा कार्यालय, पाँच हजार २१७ माध्यमिक विद्यालय र चार हजार १६९ स्वास्थ्य संस्था गरी कूल १५ हजार ९०३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको हो ।

अब परियोजना अन्तर्गत सात स्थानीय तह, १११ वटा वडा कार्यालय, आठ माध्यामिक विद्यालय गरी कूल १२६ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडान गर्न बाँकी छ ।

प्राधिकरणले १८ वटा प्याकेजमध्ये १६ वटा प्याकेजमार्फत ६५ जिल्लाका सबै स्थानमा इन्टरनेट सेवा विस्तार सम्पन्न भएको जनाएको छ । त्यस्तै दुईवटा प्याकेजमार्फत नौ वटा जिल्लामा ५० प्रतिशत कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याइएको छ ।

यसरी कार्य सम्पन्न भएको भएपनि परियोजनाको प्रमाणीकरणको कार्य भने निकै सुस्त देखिएको छ । प्राधिकरणले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हालसम्म जम्मा सातवटा परियोजनाको मात्रै अनुगमन गरी प्रमाणीकरणको कार्य सम्पन्न भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२