close

माइक्रोसफ्ट ह्याकिङका मुख्य योजनाकार १६ वर्षे किशोर !

टेकपाना टेकपाना

चैत १०, २०७८ १८:२७

माइक्रोसफ्ट ह्याकिङका मुख्य योजनाकार १६ वर्षे किशोर !

काठमाडौं । पछिल्लाे पटक माइक्रोसफ्टकाे सोर्स कोड चोरी भएकाे घटनाले चर्चा पाइरहेकाे छ । कम्पनी स्वयंले ह्याकिङ भएकाे पुष्टि गरिसकेको छ ।

यसअघि सामसङ, एनभिदिया, भाेडाफाेन जस्ता थुप्रै कम्पनीकाे साेर्स काेड र आन्तरिक डकुमेन्टमाथि पहुँच लिएकाे दावी गर्ने ल्याप्सस (Lapsus$) नामकाे ह्याकर ग्रुपले माइक्रोसफ्ट पनि ह्याक गरेको बताइएकाे छ ।

याे ग्रुपले गत हप्तामात्रै ३७ जीबी बराबरकाे माइक्राेसफ्टकाे सोर्स कोडको डेटा ह्याक गरेकाे दावी गरेको थियाे ।

याे घटनापछि माइक्राेसफ्टका सुरक्षा अनुसन्धानकर्मीले गरेकाे एक अध्ययनमा ल्याप्सस ग्रुपका मुख्य याेजनाकारमा इंग्ल्याण्डका १६ वर्षीय किशाेर रहेकाे खुलाइएकाे छ ।

नाबालिग भएका कारण ती किशाेरबारे अन्य विवरण सार्वजनिक गरिएकाे छैन । ती किशोर बस्ने ठाउँ अक्सफोर्ड विश्वविद्यालयबाट करिब ५ माइल पर रहेकाे साे अध्ययनमा उल्लेख छ ।

ल्याप्सस ग्रुपबाट भएका चर्चित ह्याकमा उनको संलग्नता रहेको दावी समेत गरिएको छ ।

ब्लुमबर्गकाे एक समाचार अनुसार आरोपित किशाेरकी आमाले भने यसबारे आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिएकी छन् ।

ल्याप्सस ग्रुपमा ब्राजिलका एक अर्का किशाेर र अन्य सातवटा अकाउन्ट लिंक रहेको अनुसन्धानकर्मीहरूले उल्लेख गरेका छन् ।

याे ग्रुपकाे मुख्य उद्देश्य नै विभिन्न संस्थाबाट डेटा चोरी गरेर उनीहरूमाथि विनाशकारी आक्रमण गर्ने र पैसा असुल्नु रहेकाे पनि अनुसन्धानकर्ताकाे दावी छ ।

ल्याप्सस ग्रुपले केही चर्चित कम्पनीहरू ओक्टा, सामसङ, युविसफ्ट, एनभिदिया र अहिले माइक्रोसप्टको डेटामा आफ्नो एक्सेस भएको बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२