close

एकपछि अर्को किन ह्याक हुँदैछन् नेपाली युट्युव च्यानल ?

हिक्मत आचार्य हिक्मत आचार्य

चैत १७, २०७८ १६:५२

एकपछि अर्को किन ह्याक हुँदैछन् नेपाली युट्युव च्यानल ?

काठमाडौं । युट्युव च्यानल ह्याक हुने समस्या नौलो होइन । तर, विगत केही वर्षदेखि नेपालका चर्चित युट्युव च्यानलहरू ह्याक भइरहेका छन् । चैत १७ गते नेपालको सबैभन्दा बढी सब्सक्राइबर हुने च्यानलमध्ये एक बुढासुब्बा डिजिटल ह्याक भएको थियो ।

ह्याक कसरी भयो भन्ने कुरा हालसम्म बाहिर आइसकेको छैन । ह्याक गरिसकेपछि ह्याकरले सो च्यानलको नाम परिवर्तन गरेर ‘इथेरियम’ राखेका थिए ।

त्यसअघि चर्चित र्‍यापर भिटेनको युट्युव च्यानल ह्याक गरी ह्याकरले इथेरियम सम्बन्धी लाइभ स्ट्रिमिङ गरेका थिए ।

बेलाबखत ठूला-ठूला युट्यव च्यानल ह्याक भएको समाचार आइरहेको हुन्छ । यी ठूला कम्पनीहरूमा प्राविधिक टिमको सहभागिता हुँदा हुँदै पनि ह्याक हुने समस्या आइरहनु यसको गम्भीर पक्ष हो ।

युट्युव ह्याक प्रायः सबैको साझा समस्या जस्तै बनेको छ । समयमै यसबारे बुझ्न सकिएन भनेपछि ठूलो परिणाम भोग्नपर्छ । पछि रिकभर गर्न सकिहालिन्छ नि भन्ने मान्यता लियो भने च्यानल त रिकभर होला ।

तर त्यसमा भएका सबै भिडिओ नहराउलान् भन्न सकिँदैन । आफूले त्यति धेरै समय दिएर बनाएको भिडिओ हराउँदा निरुत्साहित भइन्छ । त्यसैले युट्युव ह्याकिङ जस्तो संवेदनशील विषयमा हामी केही जानकार हुन निकै आवश्यक हुन्छ । सबैभन्दा पहिले बुझौं, ह्याकरले युट्युव च्यानल किन ह्याक गर्छन् भन्नेबारे ।

कसैले पनि केही कुरा ह्याक वा चोरी आफ्नो फाइदाका लागि गर्ने गर्छन् । त्यसकारण धेरै सब्सक्राइबर तथा चर्चित च्यानलहरू ह्याकरको नजरमा पर्छन् । कतिपय अवस्थामा युट्युवरको सफलतामा ह्याकरको नजर परिरहेको हुन्छ ।

उसलाई त्यो सफलताबाट गिराउन पनि ह्याकरले ह्याक गर्न सक्छन् । ह्याकरले कुनै पनि च्यानल ह्याक गरिसकेपछि त्यसलाई रिब्राण्ड गर्छन् । अर्थात् त्यसको नयाँ नाम राख्छन् । ह्याक गरेको च्यानलको कभर हटाएर त्यसमा आफ्नो कभर राख्छन् । त्यस्तै डिस्क्रिब्सन हटाएर आफ्नो रिब्राण्ड नामको आधारमा नयाँ डिस्क्रिप्सन राक्छन् ।

कसैले त्यसमा भएका सम्पूर्ण भिडिओ डिलिट नै गरिदिन्छन् भने कतिले त्यसलाई लुकाएर राखेका हुन्छन् । यी सबै कुरा गर्नुकाे पछाडिको कारण हो, त्यो च्यानल ह्याक गरिएको जस्तो नदेखियोस् ।

ह्याक गरिसकेपछि उनीहरू आफूले राखेको नाम अनुसारका भिडिओ अपलोड गर्छन् । जसले गर्दा सब्सक्राइब गरेका च्यानललाई त्यो च्यानल ह्याक भयो भन्ने कुरा थाहा नै हुँदैन ।

ह्याक गरिसकेपछि ह्याकरहरूले ती युट्युव च्यानल, अकाउन्ट्स मार्केट डटकम, डार्क वेबजस्ता साइटमा बेच्छन् । वा आफ्नै तरिकाले गैरकानूनी कामहरू प्रवर्द्धन गर्ने गर्छन् । जसले गर्दा कानूनी रूपमा ती युट्युव च्यानलका संस्थापकले धेरै कुरा भोग्नपर्ने हुन्छ ।

अब जानौं, ह्याकरले युट्युव च्यानल कसरी ह्याक गर्छन् भन्ने कुरा । ह्याकरहरू युट्युव च्यानल ह्याक गर्ने धेरै प्रकारका विधि अपनाउने गर्छन् । जसमा सबैभन्दा प्रभावकारी विधि सोसल इन्जिनियरिङलाई मानिन्छ ।

प्रायः ह्याकरहरू यही विधि अपनाएर च्यानल ह्याक गर्ने गर्छन् । सोसल इन्जिनियरिङ एउटा यस्तो माध्यम हो, जहाँबाट ह्याकरले प्रयोगकर्तालाई नै प्रयोग गरेर उनीहरूको संवेदनशील जानकारी लिने गर्छन् ।

ह्याकर युट्युवरको आवश्यकतालाई मध्यनजर गर्दै सोही अनुरूपका अफरहरू दिन भरपर्दो देखिने साइट निर्माण गर्छन् ।

युट्युवरलाई विज्ञापन दिने बहाना, उनीहरूको एप प्रचार गरिदिएबापत मोटो रकम दिने आश्वासन वा अन्य कुनै आर्थिक प्रलोभनमा पारेर  होस्, ह्याकरहरू प्रयोगकर्तालाई ईमेलमार्फत डेटा लिने लिंक पठाउँछन् र च्यानल कब्जामा लिन्छन् ।

कोही पैसाको प्रलोभनमा नपर्ने संस्था वा व्यक्तिको च्यानल ह्याक गर्नपरे उनीहरू त्यसबाहेकका अन्य उपाय अपनाउँछन् ।  विशेषगरी कसैको व्यक्तिगत च्यानल ह्याक गर्नपरे ह्याकरहरू उनीहरूको आफ्नो एपको प्रचार गरिदिए बापत मोटो रकम दिने आश्वासन देखाउँछन् ।

यदि एकपटक सो एप कम्प्युटर वा स्मार्टफोनमा आइसकेपछि सो एपले प्रयोगकर्ताको सम्पूर्ण जानकारी जस्तै सेभ गरेका पासवर्ड, कुकिज सबै ह्याकरको डेटाबेसमा पठाउँछ ।

त्यसपछि ह्याकरले ह्याक भएका च्यानल रिब्राण्डको प्रक्रिया अघि बढाउँछन् । युट्युव च्यानल हाम्रै कारणले ह्याक हुने भएकाले यसमा विशेष ध्यान दिनपर्छ । अनावश्यक लिंक खोल्नु हुँदैन ।

युट्युव च्यानल भएको जिमेल अकाउन्ट सुरक्षित राख्ने गर्नुपर्छ । कुनै पनि शंकास्पद साइटमा लगईन गर्दै नगर्ने, यदि गर्नपरे डिस्पोजएबल ईमेल प्रयोग गर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार:
ह्याकरले कसरी चोर्छन् पासवर्ड ?
जानिराख्नुहोस् गुगल अकाउन्ट सुरक्षित राख्ने यी १० तरिका

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३