close

फोनबाटै पोडकास्ट बनाउने सजिलो तरिका

टेकपाना टेकपाना

चैत २९, २०७८ १४:४३

फोनबाटै पोडकास्ट बनाउने सजिलो तरिका

काठमाडौं । हाम्राे जीवनमा सामाजिक सञ्जालकाे प्रयोग सामान्य बनिसकेकाे छ । समयको विकासक्रमसँगै अहिले पोडकास्ट पनि निकै परिचित भएको छ ।

पोडकास्ट एक प्रकारको अडियाे फाइल हो, जुन इन्टरनेटबाट डाउनलोड गरेर कम्प्युटर, स्पिकर अथवा मोबाइल फोनमा सुन्न सकिन्छ । विशेषगरी कुनै सिरिज, अन्तर्वार्ता र ब्याकग्राउन्ड म्युजिकको सम्मिश्रणबाट पोडकास्ट बनाइन्छ ।

पोडकास्ट एक प्रकारको गफगाफ पनि हो, जसका छुट्टाछुट्टै लक्षित वर्ग हुन्छन् । कुनै पाेडकास्ट युवा वर्गका लक्षित गरी बनाइएको हुन्छ भने केही बालबालिकालाई ।

केही राजनीतितिर चासो राख्नेहरूका लागि बनाइएको हुन्छ भने केही अन्य प्रकारका विश्लेषणका लागि ।

पोडकास्ट सुनिरहँदा वा भिडिओमा हेरिरहँदा आफ्ना साथीभाइसँग बसेर गरेका कुराकानी पोडकास्टका रूपमा प्रयोग गर्न पाए नि हुने भन्ने लाग्न सक्छ । कतिपय पल निकै अविस्मरणीय हुन्छन् । जसलाई लामो भिडिओमा बनाउँदा निकै नै धेरै स्टोरेज आवश्यक पर्न जान्छ ।

तर, त्यही पल अडियो अथवा पोडकास्टका रूपमा सम्हालेर राख्दा त्यसले थोरै स्टोरेज कम खपत गर्छ । पोडकास्ट गर्न निकै स्तरीय डिभाइस चाहिन्छ भन्ने छैन ।

हामी हाम्रै फोनबाट पनि स्तरीय पोडकास्ट बनाउन सक्छौं । त्यसका लागि स्पोटिफाई एबीले विकास गरेको एङ्कर एप निकै प्रभावकारी हुन्छ ।

यो एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

याे एपबाट रेकर्ड गर्दा आउने ब्याकग्राउन्ड नोइजलाई न्यूनीकरण गर्छ । फोनमा बाह्य माइक्रोफोन प्रयोग गरेर अडियो रेकर्ड गर्दा अझ स्तरीय पोडकास्ट निर्माण गर्न सकिन्छ ।

एङ्करका माध्यमबाट रेकर्ड गरिएको पोडकास्टमा लाइसेन्स प्राप्त विभिन्न विधाका ब्याकग्राउन्ड म्युजिक प्रयोग गर्न सकिन्छ । ब्याकग्राउन्ड म्युजिक प्रयोग गरिसकेपछि सिस्टमले पोडकास्टको अडियो र ब्याकग्राउन्ड म्युजिकलाई ब्यालेन्स गर्छ ।

यसले गर्दा कुराकानीका बीचमा भएको खाली स्पेसमा ब्याकग्राउन्ड म्युजिकको साउन्ड बढी सुनिन्छ भने कुराकानी भइरहेको फेजमा सानो सुनिन्छ ।

ब्याकग्राउन्ड म्युजिक बाहेक त्यसमा आवश्यक विभिन्न साउन्ड इफेक्ट पनि एङ्करबाटै प्रयोग गर्न सकिन्छ । त्यस्तै एङ्करकै माध्यमबाट पोडकास्टका बारेमा सम्पूर्ण विवरण राख्न सकिन्छ ।

पोडकास्टमा आफूलाई मनपर्ने वा पोडकास्टसँग सुहाउने ब्याकग्राउन्ड फोटो सजिलै राख्न सकिन्छ । पोडकास्टको डिस्क्रिप्सनका साथसाथै सो पोडकास्ट कतिऔं सिजनको कतिऔं एपिसोड हो भन्ने कुरा पनि एङ्करमा राख्न मिल्ने व्यवस्था छ ।

पोडकास्ट निर्माणका सम्पूर्ण प्रक्रिया पूरा गरिसकेपछि सो पोडकास्ट पब्लिस हुन सक्छ । पब्लिस भइसकेको पोडकास्ट अडियो लिसनिङ एप स्पोटिफाई, गुगल पोडकास्ट लगायत अन्यमा शेयर गर्न मिल्छ ।

सीमित अडियन्स र लिसनिङ टाइम पार गरिसकेपछि एङ्कर अकाउन्ट मनिटाइज गर्न सकिन्छ । त्यसको अर्थ तपाईंले आफ्नो पोडकास्ट मार्फत राम्रो आम्दानी गर्न पनि सक्नुहुन्छ ।

त्यति मात्र नभई अन्य डिभाइसबाट रेकर्ड गरिएका पोडकास्ट पनि एङ्करको माध्यमबाट पब्लिस गर्न सकिन्छ । एङ्करमा पोडकास्ट निर्माण र पब्लिसबाहेक अन्य कामहरू पनि गर्न सकिन्छ ।

हामी इन्टरनेटको पहुँचमा हुँदा एङ्करको माध्यमबाट विभिन्न पोडकास्ट सुन्न पनि सक्छौँ ।  आफूले चिनेका प्रस्तोता वा आफूलाई मन पर्ने कलाकारले गरेका पोडकास्ट जुनसुकै समयमा सुन्न सक्छौँ ।

नेपालमा स्पोटिफाई एप परिचित भएपनि एङ्कर एप प्रयोगमा आएको खासै देखिँदैन । पोडकास्ट निर्माणकर्ताले एङ्करको सहायताले आफ्ना पोडकास्ट प्रचार गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४