close

किन अनलाइन भुक्तानी लिन चाहँदैनन् पेट्रोल पम्प ? 

अर्पना आले मगर अर्पना आले मगर

बैशाख १५, २०७९ १०:२५

किन अनलाइन भुक्तानी लिन चाहँदैनन् पेट्रोल पम्प ? 

काठमाडौं । पछिल्लो समय डिजिटल भुक्तानीसँगै उपभोक्ताहरूको दैनिकी  सहज बन्दै गएको छ । भुक्तानी सेवाप्रदायक, मोबाइल वालेट र मोबाइल बैंकिङबीचको प्रतिस्पर्धाले ससाना व्यवसाय र तरकारी पसलहरूमा पनि क्यूआर मार्फत भुक्तानी गर्ने सुविधा उपलब्ध हुन थालेको छ ।

विभिन्न ठाउँमा नगद कारोबार हुने ठाउँहरूमा पनि अनलाइन तथा डिजिटल भुक्तानी तीव्र रुपमा विस्तार भइरहेको छ । तर यस अघि नै क्यूआर कोड राखेर अनलाइन भुक्तानी स्वीकार गर्न थालिसकेका पेट्रोल पम्पहरू भने त्यसबाट पछि हटेका छन् ।

एकदमै व्यस्त रहने ठाउँहरू मध्ये एक हो ‘पेट्रोल पम्प’ । निकै भिडभाड हुने ठाउँको हिसाबले अनलाइन भुक्तानीले सहज बनाउनुपर्नेमा उल्टै झन्झट थपेको व्यवसायीहरूको दाबी छ । त्यसमाथि झन् केही पेट्रोल पम्पहरूले त अनलाइन पन्छाउँदै नगदमै भुक्तानी गर्नुपर्ने बाध्यता थपेका छन् । 

पेट्रोल पम्प भनेको निकै नै भिडभाड हुने र छिटो छिटो काम गर्नुपर्ने ठाउँ हो । एउटा जादैँ अनि अर्को आउँदै गर्दा सामान्य रुपमा प्रायः सधैँ भिडभाड नै हुन्छ । यस्तोमा अनलाइन कारोबारको सेटलमेन्ट समयमा नहुदाँ आफूहरूलाई समस्या परेको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्ष लिलेन्द्र प्रधान बताउँछन् ।  

क्यूआरबाट रकम भुक्तानी गर्दा सामान्यतया पैसा पुग्न केही समय लाग्छ । यस्तोमा पैसा आयो कि आएन भनेर हेरिरहने समयमा अर्को सवारीमा इन्धन भर्न सकिने उनको दाबी छ । विशेषगरी धेरै भिड भएको समयमा एउटाको भुक्तानी कुर्दा पालो कुरेर बस्ने अर्को व्यक्तिलाई ढिला हुने गरेको पनि उनले बताए । 

‘सबैतिर समस्या भएको भन्ने पनि होइन । तर कहिलेकाहीँ यसले समस्या नै सिर्जना गरिरहेको हुन्छ । भुक्तानी भएको रकम आउन ढिला हुदाँ अलिक असहज जस्तो महसुस भएको हो,’ उनले भने ।

‘त्यसमाथि कहिलेकाहीँ इन्टरनेटको पनि समस्या हुन्छ । भुक्तानी गर्ने व्यक्तिको मोबाइल अथवा पम्पमै रहेको इन्टरनेटको समस्या भयो भने पनि अनलाइन भुक्तानी सम्भव हुँदैन । त्यसैले यो अहिले नै अनलाइन भुक्तानी पूर्ण रुपमा नगदको विकल्प बन्न सकेको छैन ।’

पैसा पठाइसकेपछि पाउने व्यक्तिको खातामा आउन केही समय लाग्छ । यो प्रकृया कुनै समस्या नभएर विश्वव्यापी रुपमा नै प्रयोग हुने सामान्य प्रचलन भएको फोनपेका प्रमुख प्राविधिक अधिकृत (सीईओ) दिवस सापकोटा बताउँछन् ।

‘सामान्यतया क्यूआर कोडबाट गरिने भुक्तानीमा पैसा पाउने व्यक्तिको खातामा वास्तविक समयमै जाँदैन,’ उनले भने, ‘क्यूआर कोड अधिकांश व्यापार व्यवसायमा प्रयोग हुन्छ । यस्तोमा पैसा भुक्तानी गरिसकेपछि नेट सेटलमेन्ट गर्न समय लाग्छ । धेरै समय लाग्ने भन्ने त होइन । तर दुई तीन मिनेटको समय लाग्न सक्छ ।’ 

विश्वभर नै क्यूआर भुक्तानीको अभ्यास यस्तै भएको उनको भनाई छ । ‘मोबाइल बैंकिङ मार्फत डिजिटल वालेटमा बैंकिङ सिस्टको इन्ट्रिगेसन भएर आउन पनि समय लाग्न सक्छ,’ उनी भन्छन्, ‘यसले गर्दा अनलाइन भुक्तानीमा पैसा पठाउने बित्तिकै पैसा आइपुग्न थोरै भए पनि समय त लाग्छ ।’

तर यो नै समस्या भने होइन । विश्वभर नै डिजिटल भुक्तानीको प्रकृया नै यस्तै हुने र यो खासै लामो समय नभएको उनको तर्क छ । आईएमईपेका सीईओ विकास नाहाटाले भने नगद कारोबार भन्दा अनलाइन भुक्तानी अझ छिटो-छरितो हुने बताए ।

‘अनलाइन पेमेन्ट भनेको वास्तविक समय (रियल टाइम) मा हुने भुक्तानी हो, जसमा पैसा आउन धेरै समय लाग्दैन,’ उनी भन्छन्, ‘नगद कारोबार भन्दा अनलाइन पेमेन्ट नै सहज हुन्छ र अहिलेसम्म त्यस्तो समस्या पनि केही आएको छैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२