close

एल साल्भाडोरपछि अब मध्य अफ्रिकी गणतन्त्रमा समेत बिटक्वाइनलाई आधिकारिक मुद्राको मान्यता 

टेकपाना टेकपाना

बैशाख १५, २०७९ १६:१९

एल साल्भाडोरपछि अब मध्य अफ्रिकी गणतन्त्रमा समेत बिटक्वाइनलाई आधिकारिक मुद्राको मान्यता 

काठमाडौं । मध्य अफ्रिकी गणतन्त्र (सीएआर) ले बिटक्वाइनलाई आफ्नो आधिकारिक मुद्राको रुपमा मान्यता दिएको छ । मध्य अफ्रिकी गणतन्त्र विश्वकै सबैभन्दा गरिब मध्येको एक मुलुकको रुपमा रहेको भए पनि हिरा, सुन र युरेनियममा भने धनी छ । दशकौँ लामो द्वन्द्वमा फसेको यो देश रुस निकट मानिन्छ ।

सांसदहरूले बिटक्वाइनलाई वैधानिक मुद्राको रुपमा स्वीकार गर्ने विषयमा गोप्य मत दिएको त्यहाँको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

‘यो अग्रसरताले मध्य अफ्रिकी गणतन्त्रलाई विश्वकै साहसी र सबैभन्दा दूरदर्शी मुलुकको नक्सामा पारेको छ,’ उसले भनेको छ ।

त्यसो त एल साल्भाडोर सन् २०२१ मा बिटक्वाइनलाई आधिकारिक मुद्राको रुपमा स्वीकार गर्ने पहिलो मुलुक बनेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष सहितका थुप्रै अर्थशास्त्रीहरूले यसबाट वित्तीय अस्थिरता निम्त्याउने जोखिम बढाएको भन्दै उक्त अग्रसरताको आलोचना गरेका  थिए ।

अन्यले बिटक्वाइन जस्ता क्रप्टोकरेन्सीले आपराधिक मनि लाउन्डरिङ गर्न सहज बनाउने भय रहेको विषय उठाएका थिए । यसका साथै विद्युतीय ऊर्जाको अत्यधिक खपत हुने भएकाले यस किसिमको मुद्रा वातावरणका लागि हानिकारक समेत भएको कतिपयको तर्क छ ।

क्रिप्टोकरेन्सी प्रयोग गर्न इन्टरनेटको आवश्यकता पर्दछ । तर वर्ल्ड डेटा वेबसाइटका अनुसार सन् २०१९ सम्म मध्य अफ्रिकी गणतन्त्रमा वेबको पहुँच चार प्रतिशत जनतामा मात्र पुगेको देखिन्छ ।

वर्तमान समयमा यो देशले फ्रान्स समर्थित सीएफए फ्र्याङ्कलाई आफ्नो मुद्राको रुपमा प्रयोग गर्दै आएको छ । जुन एकताका फ्रान्सेली साम्राज्य अन्तर्गत रहेका अधिकांश अफ्रिकी मुलुकमा यो मुद्रा प्रचलनमा छ ।

केहीले बिटक्वाइन स्वीकार गर्ने कदम सीएफएलाई कमजोर तुल्याउनु हो । प्राकृतिक संसाधनले धनी यो मुलुकमा रुसी र फ्रान्सेली प्रभावको प्रतिस्पर्धाको रूपमा समेत यसलाई हेरिएको छ ।

‘अहिलेको सन्दर्भ हेर्ने हो भने प्रणालीगत भ्रष्टाचार र रुसी साझेदारले अन्तर्राष्ट्रिय प्रतिबन्ध खेपिरहेको छ, यो निर्णयले त्यस्तै किसिमको आशङ्कालाई बल पुर्‍याएको छ,’ फ्रान्सेली विश्लेषक थेरि भिरकलोनले एएफपी समाचार संस्थासँगको कुराकानीमा भनेका छन् ।

अर्थशास्त्री यनन् दावोरोले बीबीसी अफ्रिकीसँगको कुराकानीमा  कारोबार स्मार्टफोनबाटै गर्न सकिने र बिटक्वाइनबाट कुनै पनि अन्य मुद्रामा रूपान्तरण गर्न सकिने भएकाले यसले जनजीवनलाई सहज बनाउने बताएका छन् ।

‘व्यवसायीहरूले विदेशबाट सामान खरिद गर्न अब सीएफए फ्र्याङ्कका सुटकेस बोकेर डलरसँग साट्न यताउति भौँतारिनु पर्ने छैन,’ उनले भनेका छन् । यति मात्र होइन, उनले सीएफए अफ्रिकाको हितका लागि कहिल्यै प्रयोग नभएको तर्क समेत गरे ।

त्यहाँ थुप्रै देशहरूमा मुद्राको विषयमा थुप्रै आवाज उठ्ने गरेका छन्, जसले यसलाई औपनिवेशिक युगको अवशेषको रुपमा हेर्ने गर्छन् । सीएफएले अफ्रिकी मुलुकमाथि अझै पनि फ्रान्सको आर्थिक नियन्त्रण कायम गर्ने सहयोग गरिरहेको अर्थमा लिने गरिएको छ । 

यद्यपि कम्प्युटर वैज्ञानिक सिड्नी टिकायाको विचारमा यसरी क्रिप्टोकरेन्सी स्वीकार गर्नु अपरिपक्व र गैरजिम्मेवार कदम हो ।

मध्य अफ्रिकी गणन्त्र सुरक्षा, शिक्षा र खाने पानी जस्ता मुद्दाले दबाबमा रहेको उल्लेख गर्दै उनी भन्छन्,  ‘बिटक्वाइन सम्पूर्ण रुपमा इन्टरनेटमा निर्भर हुन्छ, जब कि मुलुकमा अझै पनि इन्टरनेट पहुँच विस्तार एकदमै कमजोर छ ।’

सन् १९६० मा स्वतन्त्र भएयता मध्य अफ्रिकी गणतन्त्र लगातार द्वन्द्वबाट गुज्रिइरहेको छ । सन् २०१३ मा विशेषगरी इसाई धर्मावलम्बीको बाहुल्यता रहेको यो देशको नियन्त्रण मुस्लिम विद्रोहीले आफ्नो हातमा लिए ।

आत्मरक्षाका लागि नियन्त्रण फिर्ता ल्याउन मिलिसियाको गठन गरियो, जसबाट धार्मिक सीमाहरूमा व्यापक नरसंहार मच्चायो । सन् २०१६ मा राष्ट्रपति फउस्टिन-आर्चेञ्ज टौउदेरा सत्तामा आए, त्यससँगै यो मुलुकले आफ्नो रणनीतिक धार फ्रान्सबाट परिवर्तन गर्दै रुसतर्फ केन्द्रित गर्‍यो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२