close

युट्युव शर्ट्समा विज्ञापन परीक्षण गर्दै गुगल

टेकपाना टेकपाना

बैशाख १७, २०७९ १३:४९

युट्युव शर्ट्समा विज्ञापन परीक्षण गर्दै गुगल

काठमाडौं । टिकटकजस्तै छोटो भिडिओहरूको प्लेटफर्म युट्युव शर्ट्समा अब गुगलले विज्ञापन पनि राख्ने भएको छ । युट्युव शर्ट्सलाई पनि व्यावसायिक बनाउने प्रक्रियामा यसमा अब विज्ञापन पनि थप्न लागिएको गुगलले जनाएको छ ।

यति मात्र होइन, युट्युव शर्ट्सको दैनिक भ्युज ३० अर्ब पुगेको पनि गुगलले बताएको छ । यसले पछिल्ला दिनमा छोटो भिडिओहरुको लोकप्रियतालाई जनाउँछ । साथै व्यावसायिक हिसाबले यसले गुगललाई आम्दानीको नयाँ बाटो खुलाएको छ ।

शर्ट्सको प्रयोगकर्ता बढ्नुको अर्थ हो, अन्य प्लेटफर्मको प्रयोगकर्ता घट्नु । जसले स्वत: कम्पनीको आम्दानीमा प्रभाव पार्छ । गुगलले यो विषयलाई आफ्नो पछिल्लो आय रिपोर्टमा पनि उल्लेख गरेको छ ।

शर्ट्सको लोकप्रियताले कम्पनीको आम्दानी वृद्धिमा सकारात्मक संकेत देखाएको गुगलले बताएको छ । युट्युवको आम्दानीको दायरा बढिरहँदा कम्पनीले कन्टेन्ट क्रियटहरूको लागि पनि आम्दानी गर्ने बाटोहरू खुलाउनु पर्नेहुन्छ ।

किनभने युट्युवमा जस्तो भिडिओको बीचमा विज्ञापन दिएर अथवा भिडिओको अगाडि विज्ञापन दिएर शर्ट्सलाई मनिटाइज गर्न सकिदैँन । छोटो भिडिओलाई कसरी मनिटाइज गर्ने भन्ने चुनौती त थपिएको छ नै, जसलाई गुगलले सम्बोधन गर्न परीक्षण गरिरहेको छ ।

गुगल मात्र होइन, यो कुरालाई समाधान गर्न टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट पनि लागिपरेका छन् । अहिले अभ्यासमा भएको तरिका भनेको प्रयोगकर्ताले क्रियटरलाई विभिन्न गिफ्टको बहानामा पैसा पठाउनु हो ।

तर यो अभ्यास त्यति सहज नभएको कारण सबै प्रयोगकर्ताले यसलाई प्रयोग गरेका छैनन् । यसमा पैसा लोड गर्न तथा झिक्न पनि विभिन्न थर्ड पार्टीको माध्यमबाट जानुपर्ने हुदाँ यो झन्झटिलो पनि भएको छ ।

यस्तोमा यो समस्यालाई शर्ट्सले कसरी समाधान गर्छ भनेर हेर्न बाँकी नै छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२