close

अनलाइनमै निःशुल्क पाइन्छ हरेक तहका शैक्षिक सामग्री, तपाईंले फेला पार्नुभयो ?

टेकपाना टेकपाना

जेठ ५, २०७९ १६:४९

अनलाइनमै निःशुल्क पाइन्छ हरेक तहका शैक्षिक सामग्री, तपाईंले फेला पार्नुभयो ?

काठमाडौं । कोभिड-१९ महामारीले देशको शैक्षिक प्रणालीमा प्रत्यक्ष असर गर्‍याे । भौतिक कक्षाको विकल्प नहुँदा विशेषगरी ग्रामीण भेगमा पठनपाठन प्रणाली प्रभावित बने । अहिले अवस्था सामान्य बनेको छ, तर शैक्षिक सत्र सुरु भएपनि धेरै ठाउँमा पुस्तक पुग्न सकेको छैन ।

यस्तो अवस्थामा अनलाइन पुस्तकालय निकै उपयोगी हुनसक्छ । नेपालमा शैक्षिक सामग्री उपलब्ध गराउने केही ई-पुस्तकालय छन्, जसबाट विद्यार्थी र शिक्षक प्रत्यक्ष लाभान्वित बनिरहेका छन् ।

विद्यालयको शैक्षिक पाठ्यक्रमलाई डिजिटल स्वरुप दिने उद्देश्यसहित ओएलई नेपाल सन् २००९ देखि ई-पुस्तकालयमा काम गरिरहेकाे छ ।

‘भौतिक रूपमा देशका सबै ठाउँमा पुस्तकालय बनाउन नसकिएला । तर एउटा अनलाइन पुस्तकालय बनाएर देश-विदेशका पाठकमाझ डिजिटल पुस्तक उपलब्ध गराउन सकिन्छ भन्ने विचारले यसको सुरुवात गरिएको हो,’ ओएलई नेपालका ईपुस्तकालय संयोजक गणेश घिमिरेले भने ।

भौगोलिक रूपले विकट ठाउँमा पुस्तक पुग्न धेरै समय लाग्ने चर्चा गर्दै उनले यसकाे समाधान अनलाइन पुस्तकालय बन्नसक्ने टिप्पणी गरे ।

‘हामीले विभिन्न विद्यालयमा वेबसाइटको सर्भर उपलब्ध गराउने गरेका छौं । जसका माध्यमबाट विद्यार्थीहरूले अफलाइन पुस्तकहरू पढ्न सक्छन्,’ घिमिरेले भने ।

ई-पुस्तकालय गैरनाफामुखी कार्यक्रम भएको बताउँदै उनले साझा शिक्षा ई-पाटी नेपाल (ओएलई नेपाल) ले सरकारका विभिन्न निकाय र संस्थाहरूसँग सहकार्य गरी राष्ट्रिय पाठ्यक्रममा आधारित ई-पाठ (कक्षा १-८) र साना बालबालिकाहरूका लागि हाम्रो रमाइला कथाहरू जस्ता डिजिटल सिकाइ सामग्रीहरूको पनि विकास गरिरहेको जानकारी दिए ।

यी सबै शैक्षिक सामग्रीहरू ई-पुस्तकालयको गृहपृष्ठमा भेटाउन सकिन्छ । ई-पाठका लागि यहाँ क्लिक गर्नुहोस् र रमाइला कथाका लागि यहाँ क्लिक गर्नुहोस् ।

वेब एप दुवै संस्करणमा उपलब्ध ई-पुस्तकालयमा पाठ्यक्रम र त्यस बाहेकका शैक्षिक सामग्री उपलब्ध छन् ।

नेपालमा पठन संस्कृतिको विकास गर्न याे प्लेटफर्ममा साहित्यिक र अन्य ज्ञानमूलक पुस्तक पनि उपलब्ध गराइएकाे घिमिरेले बताए ।

यसमा १ देखि १० कक्षासम्मका सम्पूर्ण पाठ्यक्रम समावेश छन् । त्यस्तै भिडिओ आवश्यक पर्ने विषयका लागि शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरले तयार पारेका सामग्री पनि उपलब्ध छन् ।

‘यसमा विशेषगरी बालबालिकाका लागि बनाइएको एनिमेटेड भिडिओ सामग्री छन् । जसले गर्दा बालबालिकालाई पढाइका कुरा बुझ्न र सम्झन सहज हुने गरेकाे छ,’ उनले भने ।

त्यस्तै ई-पुस्तकालयमा विभिन्न क्याटेगोरी (वर्ग) अन्तर्गतका पाठ्यसामग्री समावेश छन् । त्यसमा कला र साहित्य, पाठ्यक्रम सामग्री, टिचिङ मटेरियल (शिक्षकलाई तालिम दिने सामग्री), रिफ्रेन्स मटेरियल, अन्य शैक्षिक सामग्री र पत्रपत्रिका समावेश छन् ।

यी सामग्री पीडीएफ फाइलका रूपमा उपलब्ध हुने भएकाले प्रयोगकर्ताले डाउनलोड गरेर अफलाइन पढ्न सक्छन् । त्यस्तै त्यहाँ उपलब्ध हुने अडियाे र भिडिओ डाउनलोड गरी अफलाइनमा हेर्न र सुन्न सकिन्छ ।

अडियाे सामग्री अन्तर्गत विभिन्न साहित्यिक पुस्तकलाई अडियाेका रूपमा उपलब्ध गराइएको छ ।

ई-पुस्तकालयमा आठ हजार ७०० बढी पुस्तक, दुई हजार ९०० बढी अडियाे सामग्री, दुई हजार ४०० बढी भिडिओ सामग्री रहेको पनि उनले जानकारी दिए ।

यस साइटमा माध्यमिक तहका केही सीमित विषयका पाठ्यसामग्री उपलब्ध छन् भने त्यसभन्दा माथिका विद्यार्थीका लागि सन्दर्भ सामग्री उपलब्ध छ ।

‘वेब संस्करणमा सम्पूर्ण फिचरहरू उपलब्ध छ । मोबाइल एपका लागि पनि हामीले अडियाे र भिडिओ फिचर थप्ने काम गरिरहेका छाैं,’ उनले भने ।

याे पनि पढ्नुहाेस्

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२