close

अब शेयर कारोबारका लागि ब्रोकरले आफ्नो छुट्टै टीएमएस प्रयोग गर्न पाउने

टेकपाना टेकपाना

असार १३, २०७९ १८:१३

अब शेयर कारोबारका  लागि ब्रोकरले आफ्नो छुट्टै टीएमएस प्रयोग गर्न पाउने

काठमाडौं । अब ब्रोकरहरूले शेयरको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) आफैँ विकास गरेर प्रयोग गर्न पाउने भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले ‘धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि, २०७९’ संसोधन गर्दै ब्रोकरहरूलाई आफ्नै टीएमएस प्रयोग गर्न सक्ने व्यवस्था मिलाएको हो ।

यो भन्दा अगाडि ब्रोकरहरूले नेप्सेले तयार गरेको टीएमएस नै प्रयोग गर्दै आएका थिए । अब भने टीएमएस सञ्चालनको लागि ब्रोकरहरूसँग तीन ओटा विकल्पहरू तयार भएका छन् ।

नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार ब्रोकरले आफ्नै प्रणाली विकास तथा खरिद गरी प्रयोग गर्न सक्नेछन् । साथै नेप्सेकै टीएमएस प्रयोग गर्न चाहेको खण्डमा त्यो विकल्प पनि खुल्ला रहने उनले बताए ।

“यो व्यवस्था लागू भएसँगै अब ब्रोकरहरूले आफ्नो क्लाइन्टको इच्छा अनुसार आफ्नै टीएमएस विकास गर्न सक्नेछन्,” उनले भने, “हाल प्रयोगमा रहेको नेप्सेकै टीएमएसको तुलनामा ब्रोकरहरूले आवश्यकता अनुसार फिचरहरू थप गरेर आफ्नै प्रणाली लागू गर्न सक्नेछन् । यस बाहेक अन्य कम्पनीको प्रणाली खरिद गरेर पनि प्रयोग गर्न सक्छन् ।”

यद्यपि यसको लागि नेप्सेको अनुमति भने लिनुपर्ने उनले बताए । यसका लागि ब्रोकरले आवेदन सँगै आफ्नो प्रणाली कस्तो हुनेछ भनेर नेप्सेमा प्रस्तुति दिइसकेपछि उपयुक्त भएको खण्डमा सो प्रणाली सञ्चालनको लागि अनुमति दिने पराजुलीको भनाई छ ।

यसका साथै नेप्सले ब्रोकरसँग आफ्नै प्रणाली सञ्चालनको लागि आवश्यक सूचना प्रविधिको पूर्वाधार भए नभएको यकिन गरेर मात्र अनुमति दिइने उनले बताए । अरुको टीएमएस प्रणाली खरिद गरि प्रयोग गर्नेको हकमा भने कुनै प्रस्तुती दिनु नपर्ने र आवेदन मात्र दिए पुग्ने कार्यविधिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३