close

कालिकोटका विद्यालयमा भेन्डिङ मसिन, स्मार्ट कार्ड प्रयोग गरी निःशुल्क सेनिटरी प्याड लिन सकिने

टेकपाना टेकपाना

भदौ १२, २०७९ १८:४

कालिकोटका विद्यालयमा भेन्डिङ मसिन, स्मार्ट कार्ड प्रयोग गरी निःशुल्क सेनिटरी प्याड लिन सकिने

काठमाडौं । कालिकाेटस्थित सान्नी त्रिवेणी गाउँपालिकाका सामुदायिक विद्यालयमा ‘सेनिटरी प्याड भेन्डिङ मसिन’ उपलब्ध गराइने भएकाे छ । विद्यालयका किशाेरीहरूलाई लक्षित गर्दै गाउँपालिकाका सबै माध्यमिक विद्यालयमा यस्ताे मसिन सञ्चालनमा ल्याउन लागिएकाे हाे ।

गत शुक्रबार ‘किशोरीसँग उपाध्यक्ष’ कार्यक्रम आयोजना गर्दै गाउँपालिकाले पञ्चदेवल माध्यमिक विद्यालयबाट उक्त मसिन सञ्चालनमा ल्याएकाे छ । याे महिनाभर सबै विद्यालयमा मसिन उपलब्ध गराइने गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिहं (सञ्ज्याल)ले कालिकोट जस्तो विकट ठाउँमा भेन्डिङ मसिन ल्याउन पाउनु खुसीको कुरा भएको बताइन् ।

“यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई महिनावारीका बेला निकै समस्या हुने गरेको थियो,” टेकपानासँग उनले भनिन्, “सरकारले उपलब्ध गराएका सेनिटरी प्याड पनि विभिन्न कारणले सदुपयोग हुन सकेको थिएन । याे समस्यालाई समाधान गर्न भेन्डिङ मेसिन सञ्चालमा ल्याएका हाैं ।”

विगतमा किशोरी विद्यार्थीहरू महिनावारीको समयमा सेनिटरी प्याड माग्न लजाउने गरेकाे उनले सुनाइन् ।

“यो मसिन ल्याउनु पहिले विद्यालयमा राखिएका सेनिटरी प्याड मुसाले खाने वा कोठामा राख्दा बिग्रिने जस्ता समस्या थियाे । सेनिटरी प्याडकाे सट्टा कपडा प्रयोग गर्दा रोग निम्तिने जाेखिम थियाे,” उनले भनिन् ।

यसरी प्रविधिको प्रयोगले विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा सघाउने उनकाे भनाइ छ ।

काइँचाे ग्रुपअन्तर्गत रेड इन्टरनेसनलले उपलब्ध गराएको उक्त भेन्डिङ मसिनमा एक पटकमा ४०० सेनिटरी प्याड भण्डारण गर्न सकिन्छ ।

त्यस्तै विद्यालयले किशोरीहरूलाई स्मार्ट कार्ड उपलब्ध गराएको छ, जसलाई भेन्डिङ मसिनमा स्क्यान गरी मासिक १२ ओटा सेनिटरी प्याड लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३