close

आईफोन १४ को उच्च मागले एप्पलको चिनियाँ सर्भर डाउन

टेकपाना टेकपाना

भदौ ३०, २०७९ ८:५४

आईफोन १४ को उच्च मागले एप्पलको चिनियाँ सर्भर डाउन

काठमाडौं । आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्सको उच्च मागले गर्दा चीनमा रहेको एप्पलको सर्भर क्रयाश भएको छ ।

प्रि-अर्डर उपलब्ध भएको २४ घण्टाभित्र २० लाख बढी मानिसले आईफोन १४ का विभिन्न सिरिज प्रि-अर्डर गर्दा सर्भर क्रयाश भएको हो ।

चिनियाँ उपभोक्ताले बेइजिङस्थित चिनियाँ ई-कमर्श कम्पनी जेडी डटकमबाट एप्पलको आधिकारिक वेबसाइटबाट प्रि-अर्डर गरेका थिए ।

आईफोन १४ प्रो अर्डर गर्ने प्रयोगकर्ताको सङ्ख्या १० लाखभन्दा बढी थियो भने आईफोन प्रो म्याक्स आठ लाख बढी ग्राहकले प्रि-अर्डर गरेका थिए ।

गत सोमबार प्रकाशित एक रिपोर्टमा चीनमा आईफोन १४ सिरिज शिपमेन्ट हुन केही दिन ढिलो हुनसक्ने जानकारी उल्लेख छ । यस अनुसार चीनमा फोन सेप्टेम्बर १६ भन्दा केही दिनपछि मात्र उपलब्ध हुनेछ ।

आईफोनको नयाँ सिरिज सार्वजनिक हुँदा सर्भर क्रयाश हुने घटना नौलो होइनन् । २०२१ मा पनि आईफोन १३ सार्वजनिक हुँदा एप्पलको चिनियाँ वेबसाइट क्रयाश भएको थियो ।

उक्त समयमा आईफोन १३ प्रि-अर्डर गर्नेको सङ्ख्या ५० लाख बढी रहेको थियो । विश्वभर आईफोन १४ को प्रो र प्रो म्याक्स मोडेलको माग उच्च रहेको छ ।

विश्लेषकका अनुसार चीनमा आईफोन १४ सिरिजको प्रि-अर्डरले आईफोन १३ को बिक्री समेत बढ्नेछ । चीनमा आईफोन १४ प्रो म्याक्सको माग उच्च,  आईफोन १४ प्रो को माग मध्यम रहेको विश्लेषक बताउँछन् ।

आईफोन १४ प्लस र आईफोन १४ को प्रि-अर्डर आईफोन एसई र आईफोन १३ मिनीको जस्तै रहने उनीहरूको भनाइ छ । गत वर्ष आईफोन एसई र आईफोन १३ मिनीले चीनमा राम्रो बजार पाएको थिएन ।

यस वर्ष आईफोन १४ प्लस अक्टोबरपछि मात्र उपलब्ध हुने भएकाले उक्त फोनको प्रि-अर्डर त्यति नहुने विज्ञ बताउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४