close

आईपीओ जारी गर्दै भायानेट

टेकपाना टेकपाना

कात्तिक १६, २०७९ १३:२६

आईपीओ जारी गर्दै भायानेट

काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक भायानेट कम्युनिकेसन प्रालिले प्राथमिक शेयर (आईपिओ) निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले आर्थिक वर्ष २०७९/८० को सुरुवातसँगै आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको थियो । हालै कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।

२३ वर्षअघि निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापना भएको भायानेटले सञ्चार तथा प्रविधि क्षेत्रमा विभिन्न काम गरिरहेकाे छ । सन् २०११ मा कम्पनीले पहिलोपटक फाइबर टु दी होम (एफटीटीएच) भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेकाे थियाे ।

सुस्त गतिको इन्टरनेटबाट आजित ग्राहकका लागि डेडिकेटेड र द्रुत गतिको इन्टरनेट प्रदान गरेर व्यक्ति तथा संस्थाहरूका लागि विभिन्न अवसर खोलेको कम्पनी बताउँछ । त्यस्तै सन् २०१६ मा भायानेटले आईपीटीभी 'भायाटिभी' सेवा ल्यायाे ।

आईपीटीभी सेवाको सुरुवातले मुख्यतया केबल टेलिभिजनको प्रभुत्व रहेको समयमा ग्राहकलाई आधुनिक र उत्कृष्ट विकल्प प्रदान गर्न आफ्नो पनि हात रहेकाे कम्पनी दाबी गर्छ । भायाटिभीले 'पज एन्ड प्ले', भिडिओ अन डिमान्ड, क्याच अप टिभीजस्ता सुविधा तथा सेवा दिइरहेकाे छ ।

उपत्यका र सहर क्षेत्रसँगै कम्पनी अहिले देशैभर आफ्नो सेवा विस्तारको चरणमा छ । आगामी दिनमा पब्लिक कम्पनीका रूपमा भायानेटले अझ धेरै ठाउँमा सेवा विस्तार गरी धेरैभन्दा धेरै ग्राहककाे पहुँचमा पुग्ने याेजना ल्याएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०७९ १३:५९