close

प्रिपेड जस्तै रिचार्ज गर्नुपर्ने बाध्यतामा पोस्टपेड प्रयोगकर्ता, फेरि टेलिकमलाई छुट्टै रेन्टल तिर्नुपर्ने किन ?

टेकपाना टेकपाना

कात्तिक २३, २०७९ १८:२७

प्रिपेड जस्तै रिचार्ज गर्नुपर्ने बाध्यतामा पोस्टपेड प्रयोगकर्ता, फेरि टेलिकमलाई छुट्टै रेन्टल तिर्नुपर्ने किन ?

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सम्पूर्ण सेवामा ‘रियल टाइम बिलिङ सिस्टम’ लागू गरिसकेको भए पनि पोस्टपेड प्रयोगकर्ताको ‘रेन्टल चार्ज’ हट्न सकेको छैन । ग्राहकको निश्चित रकम डिपोजिट स्वरूप राख्न लगाएर महिनाको अन्तिममा बिलिङ गर्ने मौलिक सुविधा हटिसकेको पोस्टपेड मोबाइल सेवामा रेन्टलको झन्झट कायम देखिएको हो । 

टेलिकमका पोस्टपेड मोबाइल प्रयोगकर्ताले मासिक रूपमा ३०० रुपैयाँ रेन्टल चार्ज तिर्नुपर्ने हुन्छ । यद्यपि यस्तो चार्जलाई प्रयोगकर्ताले टकटाइमको रूपमा प्रयोग गर्न सक्छन् ।   

यसको अर्थ ग्राहकले सेवा प्रयोग नगरे पनि रेन्टल बापतको ३०० रुपैयाँ टेलिकमलाई बुझाउनु पर्छ । पोस्टपेड प्रयोगकर्ताले प्रिपेड प्रयोगकर्ताका लागि समेत उपलब्ध विभिन्न डेटा, भ्वाइस तथा एसएमएस प्याकेजहरू खरिद गर्न सक्छन् । 

तर रेन्टल चार्जमा त्यस्तो खर्च गणना हुँदैन । प्याकेज नलिएरै गरिएको खर्च र पोस्टपेड प्याक लिँदाको खर्च मात्रै रेन्टल चार्जमा गणना हुने गर्दछ । यसरी गरिएको खर्च हरेक महिना ३०० रुपैयाँभन्दा माथि भएको खण्डमा रेन्टल चार्जको चिन्ता लिइरहनु पर्दैन । तर यदि तपाईँले पोस्टपेड प्याकेज नलिएर अन्य सामान्य प्याकेजमा ३०० रुपैयाँभन्दा बढी खर्च गर्नु भयो भने पनि रेन्टल बापत छुट्टै ३०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।  

यतिमात्र होइन, तपाईँले महिनाको अन्त्यमा रेन्टल चार्ज तिर्नुपर्ने बाध्यता भए पनि पोस्टपेड मोबाइलबाट कल गर्न, डेटा प्रयोग गर्न वा एसएमएस पठाउन प्रिपेडमा जस्तै ब्यालेन्स हुनै पर्छ । यदि पोस्टपेडमा पर्याप्त ब्यालेन्स (अभाइलेबल क्रेडिट) छैन भने तपाईँले मोबाइल सेवा प्रयोग गर्न पाउनु हुन्न ।

 

टेलिकमका प्रवक्ता सोभन अधिकारी मोबाइल सेवा प्रयोग गर्न पोस्टपेड प्रयोगकर्ताले प्रिपेड प्रयोगकर्ता सरह अग्रिम रूपमा रिचार्ज गर्नु पर्ने भए केही थप सुविधा दिने गरिएको बताउँछन् । “प्याकेज नलिएरै कल गर्दा पोस्टपेड प्रयोगकर्तालाई प्रति मिनेट प्रिपेडभन्दा ५० पैसा सस्तो पर्न आउँछ,” उनी भन्छन्, “यस बाहेक पोस्टपेड ग्राहकका लागि विशेष प्रकारका प्याकेजहरू समेत उपलब्ध छन् ।”

यस बाहेक प्याकेज बिना अन्य नेटवर्कमा कल गर्दा प्रिपेड प्रयोगकर्तालाई प्रति मिनेट दुई रुपैयाँ शुल्क लाग्छ भने पोस्टपेड प्रयोगकर्तालाई यस्तो शुल्क १.५ रुपैयाँ मात्र तोकिएको छ । 

टेलिकमको पोस्टपेड सिमकार्ड लिन चाहने ग्राहकले टेलिकमका शाखा कार्यालयसम्मै पुग्नुपर्ने व्यवस्था छ । जब कि प्रिपेड मोबाइल कम्पनीका डिलर अन्तर्गत रहेका चिया पसलमा समेत उपलब्ध छन् । 

यति मात्र होइन, पोस्टपेड सिम कार्डको शुल्क ५०० रुपैयाँ राखिएको छ । जसमा ‘सिम एक्टिभेसन शुल्क’ ४० रुपैयाँ र ४६० क्रेडिट लिमिट हुन्छ । 

तर प्रिपेड सिमका लागि भने स्वामित्व शुल्क सहित ९० रुपैयाँ मात्र तिर्नु पर्छ । जसमा तपाईँले १० रुपैयाँ ब्यालेन्ससँगै ५० मिनेट भ्वाइस, २० एसएमएस र ६० एमबी डेटा पाउन सक्नु हुन्छ । 

प्रिपेड समान बिलिङ सिस्टम लागू भइसकेको अवस्थामा पोस्टपेड प्रयोगकर्ताबाट रेन्टल चार्ज उठाइरहनु उचित नभएको भन्दै प्राधिकरणले त्यसलाई हटाउने तयारी गरेको छ । यसका लागि आन्तरिक गृहकार्य भइरहेको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताए । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०७९ १८:२७