close

इन्टेलको नयाँ प्रविधि, डिपफेक भिडिओ सजिलै पहिचान गर्ने

टेकपाना टेकपाना

मंसिर ३, २०७९ १२:५३

इन्टेलको नयाँ प्रविधि, डिपफेक भिडिओ सजिलै पहिचान गर्ने

काठमाडौं । पछिल्लो समयमा इन्टरनेटको संसारलाई नक्कली भिडिओहरू विशेषगरी डिपफेक भिडिओहरूले जोखिमपूर्ण बनाइरहेको छ । यस्ता नक्कली भिडिओ पत्ता लगाउन इन्टेलले नयाँ उत्पादन 'फेकक्याचर' ल्याउने घोषणा गरेको छ ।

कम्पनीका अनुसार यो डिटेक्टरले ९६ प्रतिशत सटिकताका साथ डिपफेक भिडिओको पहिचान गर्न सक्नेछ । ‘डिपफेक’ (deepfake) अर्थात् कृत्रिम मिडिया, जसमा कम्प्युटर प्रोग्रामले बनाएको मिडियामा वास्तविक मान्छेको हाउभाउसँग शतप्रतिशत मिल्ने गरी चित्रण गर्न सकिन्छ ।

यसरी बनाएको नक्कली मिडियामा देखिने, बोल्ने व्यक्तिको हाउभाउ, आवाज, अनुहार सो अनुहारसँग मिल्दोजुल्दो वास्तविक व्यक्तिसँग यति दुरुस्त मिल्छ कि त्यो मिडिया हेर्ने वा सुन्ने मानिसले सो मिडियामा वास्तविक मान्छे नै भएको ठान्दछ ।

इन्टेलको फेकक्याचरले भने यस्ता भिडिओहरूलाई सहजै पत्ता लगाउने कम्पनीको दाबी छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यो प्रविधिले भिडियोको पिक्सेलमा भएको 'रगत प्रवाह' को मूल्याङ्कन गरेर वास्तविक समयमा (रियल टाइम) डिपफेक भिडिओ पत्ता लगाउन सक्छ ।

यसको अर्थ हो, कुनै चलिरहेको भिडिओ डिपफेक हो कि होइन भनेर यसले सोही समयमा नै पत्ता लगाइदिन सक्छ । कम्पनीका अनुसार यो प्रविधिले मानव शरीरमा रगत सञ्चार हुँदा नसाको रङमा हुने परिवर्तनलाई पहिचान गर्नसक्छ । त्यसपछि रगत प्रवाहको संकेतहरू अनुहारबाट सङ्कलन गरिन्छ र भिडिओ वास्तविक हो वा डिपफेक हो भनेर एल्गोरिदमद्वारा पत्ता लगाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०७९ १२:५९