close

कतै तपाईँमा स्मार्टफोनको कुलत त छैन ? यसरी छुटाउनुहोस्

टेकपाना टेकपाना

मंसिर ६, २०७९ १३:१२

कतै तपाईँमा स्मार्टफोनको कुलत त छैन ? यसरी छुटाउनुहोस्

काठमाडौं । स्मार्टफोन हाम्रो दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ । सामान्य घरायसी कामदेखि कार्यालयका जटिल कामसम्म स्मार्टफोनको प्रयोग भइरहेको छ । आधुनिक जीवनयापनका लागि महत्त्वपूर्ण अंश बनेको फोनले हाम्रा प्रायः कामलाई सहज बनाइदिएको छ । भनिन्छ, जुन कुराको सकारात्मक पक्ष हुन्छन्, त्यसमा कतै न कतै नकारात्मक पक्ष पनि जोडिएका हुन्छन् ।

स्मार्टफोनको सन्दर्भमा सकारात्मक र नकारात्मक पक्षको अनुपात लगभग समान छ । अहिले अधिकांश मानिसहरू फोनको पहुँचमा छन् । हरेक वर्ष तनावपूर्ण अवस्थाको सामना गर्ने मानिसहरूले सङ्ख्या बढ्दो छ । यसको प्रमुख कारण हो, तपाईँ हामीले प्रयोग गरेको स्मार्टफोन ।

हामीलाई स्मार्टफोनको त्यस्तो लत लागेको हुन्छ, जसलाई डाक्टरहरूले 'नोमोफोबिया' नाम दिएका छन् । यो शब्दले मोबाइल फोन-फोबिया वा मोबाइल उपकरण बिनाको डर भन्ने बुझाउँछ ।

आज हामी फोनको लत, यसको लतबाट निम्तिनसक्ने विकराल रूपका साथै त्यसबाट बच्ने तरिकाको बारेमा जानकारी दिँदैछौँ । 

कसरी लाग्छ स्मार्टफोनको लत

कुनै पनि कुराको लत लाग्नुका पछाडि केही प्रमुख कारण लुकेर बसेका हुन्छन् । उदाहरणका लागि सिग्रेटलाई लिऔँ । धुमपान गरिरहने व्यक्तिलाई त्यसको धुँवा वा सिग्रेटले लत लगाइदिएको हुन्छ भन्ने लाग्छ । वास्तवमा सुर्तीजन्य सामग्रीमा निकोटिन’ नामक रसायन हुन्छ, जसले हाम्रो मस्तिष्कको केही भागमा ‘डोपामिन’ नामक रसायन उत्पन्न गराउँछ ।

यो रसायनले मुड (मनस्थिति) परिवर्तन गर्छ । जसले गर्दा हामीलाई केही समय आनन्द आउँछ । त्यही आनन्दका लागि हाम्रो मस्तिष्कले हरेक पटक उक्त रसायनको खोजी गरिरहेको हुन्छ ।

सो रसायन सजिलै सिग्रेटमा पाइने भएपछि हामी सिग्रेट पिउन बाध्य हुन्छौँ । त्यसैगरी हामीलाई सिग्रेटको तल लाग्छ । यही कुरा स्मार्टफोनमा पनि लागू हुन्छ । सिग्रेटमा रहेको निकोटिनले लत लगाए जस्तै स्मार्टफोनको लत लाग्नुका पछाडि पनि विभिन्न तत्त्व रहेका छन् ।

विशेषतः फोन वा अन्य कुनै पनि डिभाइसमा हुने सफ्टवेयर, एप तथा प्रोग्रामकै कारण फोनको लत लाग्छ । अझ विस्तृतमा भन्नुपर्दा त्यसमा हुने सामाजिक सञ्जाल तथा अनलाइन गेमले हामीलाई फोनको लत लगाइदिन्छन् ।

सामाजिक सञ्जाल यसरी तयार पारिएका हुन्छन्, जसको अनुपस्थितिमा हामी आफ्नो दैनिकी कल्पना नै गर्न सक्दैनौँ । हामीलाई फोनको लत लगाउने तत्व सामाजिक सञ्जाल हो भन्ने जानकारी पाइसकेपछि सामाजिक सञ्जालले लत कसरी लत लगाउँछ भन्ने कुरा बुझौँ ।

वास्तवमा सामाजिक सञ्जालको मेरुदण्डका रूपमा त्यस्ता इन्जिनियर रहेका हुन्छन्, जो हर समय मानिसको ध्यान खिच्नमा केन्द्रित हुन्छन् । उनीहरूलाई वैज्ञानिक भाषामा अटेन्सन (attention) इन्जिनियर पनि भन्ने गरिन्छ ।

यी त्यही अटेन्सन इन्जिनियर हुन्, जसले क्यासिनोमामा आकर्षक जुवा खेल तयार पारेका हुन्छन् । यी इन्जिनियर मानिसको दिमागसँग खेलेर यस्तो डिजाइन तयार पार्न सक्षम हुन्छन्, जसलाई एक पटक प्रयोग गर्दा मानिसमा त्यसको लत लाग्न थाल्छ । उनीहरू त्यस्तो प्रोग्राम बनाउँछन् जसले प्रयोगकर्तालाई उनीहरूको एपबाट बाहिर जानै नसक्ने बनाइदिन्छ ।

सामाजिक सञ्जालमा कसैले हाम्रो तारिफ गर्‍यो भने हामीलाई उक्त तारिफ मन पर्छ । यो तारिफ गरेको मन पर्नु नै हाम्रो मस्तिष्कमा डोपामिन रसायन उत्पन्न हुनु हो । यही मानव स्वभावलाई केन्द्रित गर्दै सामाजिक सञ्जालमा लाइक तथा कमेन्ट गर्ने विकल्प उपलब्ध गराइएको हुन्छ ।

सामाजिक सञ्जालमा हेर्ने हो भने डिसलाइक (मन नपराउने) गर्ने विकल्प कुनै पनि माध्यममा छैन । केही वर्षअघिसम्म युट्युबमा डिसलाइकको विकल्प समावेश गरिएको थियो ।

तर, त्यसले कन्टेन्ट क्रियटरलाई भिडिओ बनाउन निरुत्साहन गरेपछि युट्युबले डिसलाइक सङ्ख्या नदेखिने बनाएको थियो । सामाजिक सञ्जालमा आउने तारिफ योग्य प्रतिक्रियाले नै हामी हरेक पटक कन्टेन्ट अपलोड गर्न बाध्य हुन्छौँ ।

तारिफ पाउँदा हामी आनन्दित हुन्छौँ । तर, त्यसले भित्रभित्रै सामाजिक सञ्जाल र त्यससँग जोडिएको फोनको लत लगाइदिएको कुरा हामीलाई पत्तै हुँदैन । यही लतले गर्दा हामी फोनबाट टाढा जानै नसक्ने हुन्छौँ ।

वैज्ञानिकका अनुसार हाम्रो शरीरलाई जति धुमपानले असर गरेको हुन्छ, त्यो भन्दा कैयौँ गुणा बढी फोनको लतले असर गरेको हुन्छ । फोनको लत लाग्दा हाम्रो दिमागमा खैरो पदार्थको मात्रा घट्दै जान्छ । मस्तिष्कमा हुने खैरो पदार्थ केन्द्रीय स्नायु प्रणालीको एउटा भाग हो, जसले हाम्रो चाल, भावना र स्मरण शक्तिलाई नियन्त्रण गरेको हुन्छ ।

यो खैरो पदार्थको अभाव हुँदा मानिसमा स्मरण तथा भावनात्मक शक्ति कम हुनुका साथै मानिस एकलकाँटे हुँदै जान्छ । फोनको लतले मानिसलाई यस्तो बनाइदिन्छ, जहाँ व्यक्तिले आफ्नै नजिक भइरहेका कुराको वास्ता गर्न छोड्छ । र, काल्पनिक दुनियाँमा रमाउँछ ।

यसको ज्वलन्त उदाहरण हो, सन् २०१३ मा सान फ्रान्सिस्को रेल स्टेसनमा भएको घटना । त्यहाँको रेल स्टेसनमा बसेको एउटा मानिसलाई हत्याराले गोली हान्छ । तर, उसको वरपर बसेका कसैले पनि गोली लागेको थाहै पाउँदैनन् । त्यहाँ भएका सबै व्यक्ति आफ्नो फोनमा व्यस्त भएकाले उक्त घटनाबारे कसलाई थाहा नभएको सीसी क्यामेरा फुटेजबाट पुस्टि भएको थियो ।

स्मार्टफोनले मानिसलाई एकोहोरो बनाइ दिँदा मानिसले धेरै कुरा गुमाइरहेको हुन्छ । 

यसरी हटाउनुहोस् स्मार्टफोनको लत

स्मार्टफोनबाट टाढा हुँदा बाँच्नै नसकिने भन्ने हुँदैन । यो वाक्यांश पढ्दा तपाईँलाई केही अनौठो लाग्न सक्छ । संसारमा कतिपय यस्ता मानिसहरू छन् जो स्मार्टफोनबिना बाँच्नै नसकिने भन्ने भ्रममा बाँचिरहेका हुन्छन् ।

हामीले लगाएको तल हामी आफैले छुटाउन सक्छौँ भन्ने कुरामा विश्वस्त हुनुपर्छ । यदि तपाईँलाई त्यो स्तरको लत लागेको छैन भने अहिलेबाटै फोनसँग नजिक नहुनुहोस् । 

नोटिफिकेसन अफ गर्नुहोस्

सबैभन्दा पहिले तपाईँ कुन एपमा बढी सक्रिय हुनुहुन्छ भन्ने कुरा छुट्याउनुहोस् । आफू सबैभन्दा बढि सक्रिय हुने एप पत्ता लगाएपछि त्यसबाट आउने नोटिफिकेसन बन्द गर्नुहोस् ।

अधिकांश प्रयोगकर्ता एपबाट जाने पुश नोटिफिकेसनका कारण एप प्रयोग गर्ने विभिन्न अध्ययनले देखाएको छ । यसरी नोटिफिकेसन नदेख्दा एप चलाउनुपर्ने कुरा मनमा कम आउँछ । र, फोनतर्फको आकर्षण कम हुँदै जान्छ । 

विश्राम लिनुहोस्

फोन प्रयोग गर्न थालेपछि घन्टौँ बितेको थाहा हुँदैन । एउटा एपबाट अर्को एप अर्कोबाट अर्को एपमा जाँदा हाम्रो समय त्यसैमा बितिरहेको हुन्छ । फोन चलाउँदा खेर गएको समय सम्झेर पछि पश्चाताप हुन्छ । यस्तो बानीबाट छुट्कारा पाउन केही समय ब्रेक लिनुपर्ने हुन्छ ।

कोठामा घण्टौँ एक्लै बसिरहँदा फोनको लत छोड्न गाह्रो हुन्छ । फोन कोठामै छाडेर अन्त कतै घुम्न जानुहोस् । हरेक दिन फोन यति घण्टा यो यो प्रयोजनका लागि प्रयोग गर्छु भनेर भिन्नै तालिका बनाउनुहोस् । यसरी तालिका अनुसार काम गर्न थालेपछि फोनबाट विश्राम लिने बानीको विकास हुने खोजकर्ताको अध्ययनमा उल्लेख छ । 

डिजिटल वेलबिङलाई गम्भीरतापूर्वक लिनुहोस्

पछिल्लो समय बजारमा आएका अधिकांश स्मार्टफोनमा डिजिटल वेलबिङको सेक्सन रहेको हुन्छ । जहाँ दिनमा कुन एप कति समय प्रयोग गर्‍यौँ भन्ने कुरा उल्लेख गरिएको हुन्छ । हरेक दिन आज हिजोभन्दा कम समय फोन प्रयोग गर्छु भनेर चुनौती दिनुहोस् ।

यसरी आफ्नै चुनौतीलाई पछ्याउँदा एउटा त्यस्तो समय आइपुग्छ जहाँ तपाईँ विशेष कामबाहेक अन्य प्रयोजनका लागि फोन प्रयोग गर्नै छोड्नुहुन्छ । 

सामाजिक सञ्जालको कम प्रयोग गर्नुहोस्

सामाजिक सञ्जालकै कारण हामीलाई फोनको लत लाग्छ भन्ने कुरा माथि उल्लेख गरिसकेका छौँ । सामाजिक सञ्जाल आफैंमा नराम्रो कुरा होइन । तर, किन प्रयोग गर्ने भन्ने प्रश्न आउँछ । यदि सूचनाका लागि मात्र प्रयोग गर्नुहुन्छ भने विभिन्न समाचारका स्रोत मात्र फलो गर्नुहोस् ।

साथीभाइसँग कुरा गर्नका लागि मात्र हो भने सीमित समय मेसेन्जर वा मेसेजिङ एप प्रयोग गर्नुहोस् । फोटो अर्काइभमा राख्न खोज्नुभएको छ भने फोटो अपलोड गरेर 'वन्ली मी' मा राख्नुहोस् । सामाजिक सञ्जालमा स्टोरी वा अन्य अनावश्यक कन्टेन्ट राख्न बन्द गर्नुहोस् ।

यसरी सामाजिक सञ्जालबाट टाढा हुन सकिन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईँलाई फोनले सघाएको छ वा लत लगाएको छ भन्ने हुन्छ । यदि सकारात्मक रूपले रचनात्मक कामका लागि प्रयोग गर्नुभएको छ भने त्यसले तपाईँको व्यक्तिगत जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ । त्यसैले तपाईँले फोन कसरी प्रयोग गर्नु भएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ६, २०७९ १३:२९