close

अवैध मोबाइल आयात रोक्ने एमडीएमएस आजदेखि लागू हुँदै

टेकपाना टेकपाना

पुस १५, २०७९ ९:५२

अवैध मोबाइल आयात रोक्ने एमडीएमएस आजदेखि लागू हुँदै

काठमाडौं । आजदेखि नेपालमा पूर्ण रुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आउने भएको छ । प्राधिकरणले गत साता नै पुस १५ देखि एमडीएमएस पूर्ण रूपमा लागू हुने जानकारी दिएकाे थियाे ।

यो प्रणालीमार्फत मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित हुने र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न सकिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । 

याेसँगै अब एमडीएमएसमा दर्ता नभएका माेबाइल सेटमा सिम सपाेर्ट गर्दैन । नेपालमा आधिकारिक प्रक्रियाबाट मात्रै फोनको आयात गर्न एमडीएमएसले सघाउ पुग्ने प्राधिकरणको विश्वास छ ।

प्राधिकरणका अनुसार विदेशबाट निजी प्रयोगका लागि नेपालमा ल्याइएका फोन पनि एमडीएमएसमा अनिवार्य दर्ता हुनुपर्ने छ । यसका लागि भन्सार कार्यालयबाट माेबाइलकाे प्रज्ञापनपत्र लिई एमडीएमएसमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएकाे छ । 

विदेशबाट आउँदा भन्सारमा रहेका कर्मचारीले नै भन्सार घोषणा गर्न लगाएर तपाईँलाई प्रज्ञापनपत्र दिन्छन् । यसरी आफूसँग रहेको एउटा फोनका लागि भन्सार घोषणा गर्दा तथा प्रज्ञापनपत्र लिँदा कुनै शुल्क लाग्दैन । भन्सारमा घोषणा नभएको मोबाइल फोन आजदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा पनि रोक लगाइने प्राधिकरणले स्पष्ट पारेको छ ।

व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापनपत्रसहित राहदानी, नागरिकता, राष्ट्रिय परिचयत्रका आधारमा यो वेबसाइटमा गई दर्ता गर्न सकिन्छ । फोन विदेशमै खरिद गरेर पहिलो पटक नेपालमा ल्याउँदै हुनुहुन्छ भने उक्त फोनमा नेपाली सिम प्रयोग गरेको १५ दिनभित्र दर्ता गरिसक्नुपर्छ । अन्यथा त्यसपश्चात् उक्त फोनमा नेपाली सिम चल्ने छैन ।

साथै प्राधिकरणले नेपालभित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएममा दर्ता भए/नभएको यकिन गर्न सकिने हुँदा सोही अनुसार यकिन गरेर मात्र खरिद गर्न आग्रह गरेको छ । त्यस्तै मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्ण रूपमा स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न मोबाइल आयातकर्ता बिक्रेतालाई सचेत गराइएको छ ।

पछिल्लो अध्यावधिक: पुस १५, २०७९ १०:२२