close

कोरोनाभाइरसको विश्व संकट टार्न के गर्दैछन्, विश्वका वैज्ञानिक ?

टेकपाना टेकपाना

चैत १०, २०७६ १७:४४

कोरोनाभाइरसको विश्व संकट टार्न के गर्दैछन्, विश्वका वैज्ञानिक ?

काठमाडौं । विश्व संकटको रुपमा आतंक मच्चाइरहेको कोरोना भाइरस (कोभिड-१९) पहिलोपटक चिनियाँ सहर वुहानमा देखा परेको थियो । तर अहिले करीब सम्पुर्ण विश्वलाई आफ्नो चपेटामा पारिसकेको छ भने भाइरसविरुद्ध लड्न विश्व एकजूट समेत भएको छ । 

विश्वभरका अनुसन्धानकर्ताहरु मिलेर यसको समाधान खोज्ने प्रयास गरिरहेका छन् । जनवरीको सुरुवातमा चिनियाँ वैज्ञानिकहरुको एक टोलीले यो भाइरसको जेनेटिक कोड प्रकाशित गरेको थियो ।

उक्त जेनेटिक कोडले कोरोनाभाइरसमाथि काम गरिरहेका वैज्ञानिकहरुलाई थप अगाडि काम गर्न मार्गदर्शन गरेको छ । 

केही समय अघि मात्र हङकङ विश्वविद्यालयका प्याथोलोजिस्टहरुले कोरोनाभाइरसबारे थप जानकारी हासिल गर्न मानव कोषमा नोबल कोरोना भाइरस पैदा गरेका थिए ।

उक्त टोलीका एक प्याथालोजिस्ट भन्छन्, ‘मानिसहरुले यो भाइरसको बारेमा बुझ्न चाहेको प्रमुख कुरा भनेको यो भाइरस स्वासको नली वा शरीरको कुन स्थानमा धेरै बढ्नसक्छ ? दोस्रो कुरा, यसले शरीरलाई कसरी नोक्सान पुर्‍याउन सक्छ र अर्को प्रश्न भाइरसले पुर्‍याएको नोक्सानीलाई शरीरले कस्तो प्रतिक्रिया दिन्छ भन्ने ।’

कुनै पनि भाइरस विरुद्धको लडाँईमा अन्तिम लक्ष्य भनेको त्यसको एन्टिडट पत्ता लगाउनु हो । अहिले धेरै अनुसन्धान टोलीहरु यसको खोजीमा जुटेका छन् ताकि मानिसहरुलाई यो भाइरसबाट सुरक्षित राख्न सकियोस् । 

बेल्जियममा लयभन विश्वविद्यालय यस्तै प्रयासमा जुटेको छ । विश्वविद्यालयको अनुसन्धान टोलिमा संलग्न एक शोधकर्ता भन्छन्, ‘सामान्यतया एन्टिडटको विकास गर्न १० देखि १५ वर्षसम्म लाग्नसक्छ । त्यसपछि मात्र इन्जेक्सन बजारमा आउँछ । तर अहिले चाँडोभन्दा चाँडो यसलाई बजारमा ल्याउन हामी प्रयासरत छौं ।’

बेल्जियमको उक्त टोलीको अनुसन्धान सामान्यतयाः रोबोटिक ल्याबमा हुन्छ । यस्तो ल्याबमा शोधकर्ताहरु खतराबाट सुरक्षित रहनसक्छन् । उनीहरुले पहिलो इन्जेक्सनको प्रयोग मुसाहरुमा गर्ने अपेक्षा गरेका छन् । 

मुसाहरुमा परीक्षण गरेर मानिसहरुको प्रयोगसम्म पुग्न एकदमै लामो प्रकृया हुन्छ ।  किनभने यसका लागि धेरै किसिमको परीक्षणहरु गर्नुपर्छ, जनावरहरुमाथि सुरक्षा परीक्षण, गुणस्तर नियन्त्रण परीक्षण, त्यसपछि फेरी स्वयम्‌सेवीहरुको परीक्षण, त्यसपछि फेरी एन्टिबडी राख्ने परीक्षण । 

वैज्ञानिकहरुको गम्भीर प्रयासका बावजूद कोभिड-१९ को एन्टिडट अर्को वर्षको गर्मी महिनाभन्दा अगाडि उपचारका लागि तयार नहुने देखिन्छ । 

तत्कालका लागि अहिले भाइरसको फैलावटलाई कसरी कम गर्ने भन्ने कुरामाथि अनुसन्धान जारी छ । जर्मनीको राजधानी बर्लिनमा भौतिक वैज्ञानिक लिर्क बर्कमन र उनका साथीहरु विश्व संकटको आंकलनको एक मोडलमाथि काम गरिरहेका छन् । 

बर्कमनको टोली यो भाइरस विभिन्न देशमा फैलिने खतरा कति छ भनेर हवाई डेटाको विश्वलेषण गरी अध्ययन गर्दै छन् ।

‘हामी सल्लाहकारको हैसियतले काम गर्छौं,’ बर्कमनले भनेका छन्, ‘जर्मनीमा मात्र होइन अरु देशमा पनि संक्रामक विमारीहरुको प्रसारको मोडल थाहा पाउनु एकदमै महत्वपूर्ण भईसकेको छ । मेरो अनुभवले भने अनुसार यो क्षेत्रको अनुसन्धानमा विश्वभरका सबै टिम एक अर्कासँग नजिकरुपमा जोडिएका छन् । हामी हाम्रा सबै जानकारीहरु एकअर्कासँग बाँडिरहेका छौँ । इबोला संक्रमण, एच वान एन वान महामारीको समयमा यस्तो अवस्था थिएन । यो वास्तवमा नै नयाँ विकास हो ।’

एजेन्सीहरुको सहयोमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६