काठमाडौं । प्रतिकुलतालाई चुनौती दिएर अगाडि बढ्न सक्ने मानिसहरु कमै हुन्छन् । त्यसका एउटा मूर्त उदाहरण हुन्, पोखरा लहचोकका २४ वर्षीय सुजन थापा मगर ।
कुरा आजभन्दा करिब ८ वर्षअघिको हो । टेलिभिजन र फिल्ममा देखिने कालाजादुबाट प्रभावित भएर ९ कक्षामा पढिरहेका सुजनलाई पनि कालाजादु सिक्ने हुटहुटी चल्यो ।
आफ्नो इच्छा उनले बुबा-आमासामु राखे । काम नबन्ने देखेपछि घर छोड्ने मनस्थितिमा पुगे । तर त्यो कुरा थाहा पाएर बुबा-आमाले उनलाई घरभित्रै थुनेर राख्न थाले ।
आफ्नै घरभित्र बन्दी बनेको बेला समय कटाउन उनी फेसबुकको वाल चहार्न थाले । त्यहीबेला कसैले बैंकको सिस्टम ह्याक गरेको समाचारमा उनको आँखा पर्यो ।
फेसबुक चलाउन भर्खर सिक्दै थिए । ह्याकिङ शब्द सुनेको त्यही नै पहिलोपटक थियो ।
गुगलमा कुनै कुरा कसरी खोज्ने, त्यो पनि थाहा थिएन सुजनलाई । अनि साथीभाइको सहयोगमा आफूले सुनेको ह्याकिङ शब्द गुगलमा खोजेर हेर्न थाले ।
विस्तारै रुचि जाग्दै गयो । तर उनी पढेको सामुदायिक विद्यालयमा कुनै कम्प्युटर विषय थिएन । न त कम्प्युटरको कुनै बेसिक कोर्ष नै उनले पढ्न पाएका थिए ।
पढाइमा पहिलेदेखि नै कमजोर र अल्छी । तर पनि सुजन सजिलै परीक्षा पास गरी कक्षा चढ्न सकिन्छ भनेर एसएलसीपछि शिक्षा संकायमा भर्ना भए ।
ह्याकिङजस्तो जटिल प्रविधि र शिक्षा संकायका विषयबीच टाढाको सम्बन्ध पनि थिएन । सुजन परे शिक्षा संकायका विद्यार्थी ।
त्यो पनि अल्छी र कमजाेर । त्यसमाथि उनको चाहनाले उनलाई शिक्षा संकायभन्दा विपरित ध्रुवतिर हुत्याउँदै थियो ।
ह्याकिङबारे धेर थोर थाहा पाइसकेपछि ह्याकर बन्ने हुटहुटी उनमा यसरी सवार भयो । हुटहुटी यतिसम्म बढ्यो कि त्यसले कुनै अभाव र कमजोरी सामु घुँडा टेक्न मानेन ।
आफूसँग जे थियो, त्यहीबाट सुरु गरे । बरु कमी कमजोरीबीच आफूलाई अगाडि बढाउने उपाय खोज्न थाले ।
सपना ह्याकिङको दुनियाँतर्फ मोडिसकेको थियो । त्यहाँसम्म पुर्याउने सारथी बन्यो इन्टरनेट । एउटा मोबाइल थियो, त्यसैबाट उनको ह्याकर बन्ने यात्रा अगाडि बढ्यो ।
गुगलमा विभिन्न सामग्रीहरु सर्च गर्दै, पढ्दै, भिडियोहरु हेर्दै सिक्न थाले । कम्प्युटरका सबै कुरा अंग्रेजीमै हुन्छन् ।
ती पनि जटिल प्राविधिक भाषामा लेखिएका । जो सबैले बुझ्न सक्दैनन् । त्यसमाथि उनको अंग्रेजी पनि राम्रो थिएन ।
‘म एउटा एउटा शब्द डिक्सनरीमा खोज्दै खोज्दै सिक्न थालेँ,’ आफ्नो प्रारम्भका दिनहरुबारे सुजन सुनाउँछन् । अग्रज ह्याकरहरुलाई भर्चुअल माध्यमबाट पछ्याउन थाले ।
उनीहरुबाट सिक्दै गए । इन्टरनेटमा भिडिओ र टेक्स्ट सामग्री हेरेर, पढेर एचटीएमएल, प्रोग्रामिङ ल्याङ्ग्वेज सबै कुरा सिक्दै गए ।
पोखराको लहचोकका सुजन थापा मगरले विस्तारै वेबसाइट एप्लिकेसन, मोबाइल एपहरु डेभलपमेन्टको काम सिक्दै जान थाले । यसैबाट प्रोग्रामिङ स्किल पनि बढ्दै थियो ।
अलि अलि ह्याकिङ पनि सिक्दै थिए । गर्दै पनि थिए । ‘सुरुवातमा त के गर्ने, कसरी अगाडि बढ्ने राम्रोसँग थाहै हुँदैन,’ सुजन ह्याकिङका आफ्ना प्रारम्भिक दिन सम्झन्छन्, ‘मैले पनि विभिन्न साइटहरुमा रहेका कमजोरीहरु खोतल्ने प्रयास गरेँ । विभिन्न ठाउँमा एक्सेस गरेर सुरक्षा कमजोरीहरुलाई पहिल्याउँदै गएँ ।’
त्यसैबीच तीन वर्षअघि साथी निर्मल दाहालले उनलाई साइबर सेक्युरिटी कम्पनी एमिनेन्स वेजमा लिएर गए । निर्मल पहिल्यैबाट उक्त कम्पनीमा काम गर्दै आएका थिए ।
एमिनेन्स वेजले उनीमाथि एउटा स्किल परीक्षण गर्यो । जहाँ उनलाई सीटीएफ अर्थात् क्याच द फ्लेग ह्याकिङ असाइन गरियो ।
उनले चार/पाँच मिनेटमै उक्त काम फत्ते गरे । त्यसपछि एमिनेन्स वेजले सुजनलाई कर्मचारीकै रुपमा नियुक्त गर्यो ।
एमिनेन्स वेजको नियुक्ति सुजनको लागि ठूलो सौभाग्य सावित भयो । एमिनेन्स वेजमै प्रवेश गरेपछि उनले एथिकल ह्याकिङ सुरु गरे । एमिनेन्स वेजकै ग्रुमिङका कारण उनका बग रिपोर्टहरु भ्यालिड हुन थाले । बाउन्टी रिवार्ड पनि आउन थाल्यो ।
‘ट्रान्सफरवाइज डटकम’बाट उनले पहिलो बाउन्टी रिवार्ड पाए । जुन पाँच सय डलरको थियो । तीन वर्षदेखि उनले यस्ता धेरै बाउन्टी रिवार्ड बटुलिसकेका छन् ।
२४ वर्षीय साइबर अनुसन्धानकर्ता सुजन थापा मगरले हालसम्म भिजा, मास्टरकार्ड जस्ता ५० भन्दा बढी विश्वचर्चित अन्तर्राष्ट्रिय कम्पनीहरुलाई विभिन्न सुरक्षा कमजोरी पहिल्याएर जोखिमबाट बच्न सघाइसकेका छन् ।
‘अहिले दैनिक एक दुईवटा बग सब्मिट भएर भ्यालिड भइरहेको हुन्छन्,’ सुजन भन्छन्, ‘न्यूनतम सय डलरदेखि माथिका बाउन्टी रिवार्डहरु आइरहेका हुन्छन् ।’
लकडाउनपछि अफिसमा फर्केर आएको दुई/तीन महिना भयो । यसबीच उनले बाउन्टी रिवार्डबाटै घरको १५ लाख ऋण तिरिसकेको सुनाए ।
प्राविधिक पृष्ठभूमि नभएपनि उनी हाल एमिनेन्स वेज जस्तो देशकै प्रतिष्ठित साइबर सेक्युरिटी कम्पनीमा वेब सेक्युरिटी रिसर्चरको भूमिकामा सक्रिय छन् ।
बिहान ९ देखिपाँच बजेको अफिस समयपछि घर पुगेर उनी बग खोज्न थाल्छन् । स्वअध्ययनले साइबर सुरक्षाको क्षेत्रमा लागेका सुजन आफूलाई आधारभूतदेखि एडभान्स स्तरमा पुर्याउने श्रेय एमिनेन्स वेजलाई दिन्छन् ।
गुगलको सामान्य ज्ञानसमेत नभएका सुजनले प्रविधिको कखरा सिक्दै तीन चार वर्षसम्म मोबाइलबाटै ह्याकिङ स्किल सिकेर आज यहाँसम्म आइपुगेका हुन् ।
एमिनेन्स वेजका संस्थापक सीईओ नारायण कोइराला पनि आफू सुजनको क्षमताबाट निकै प्रभावित भएको सुनाउँछन् । ‘पढाइ मात्र सबैथोक हो, पढाइ नभए केही हुँदैन, केही गर्न सक्दैनस्,’ सुजनले आफ्ना बाबु आमाबाट थुप्रै पटक सुने ।
तर आफ्नो एउटै भिजन लिएर अनवरतरुपमा मेहेनतका साथ अगाडि बढेर यहाँसम्म आइपुगेका सुजन ‘गरे के हुन्न’ भन्ने उक्तिको मूर्त उदाहरण हुन् ।
ह्याकिङ जति जटिल र भयानक सुनिन्छ, अठोट लिएर अगाडि बढे असम्भव छैन । सुजनको अनुभवले यही भन्छ ।