म्यासेजिङ एप ह्वाट्सएपबाट ठगी गर्ने दुई जना पक्राउ परेका छन् । ह्वाट्सएपमा भारतीय मोबाईल नम्बरबाट म्यासेज गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहीले भक्तपुर बस्ने दुई जनालाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थायी घर सिन्धुपाल्चोक चौतारा स्थायी घर भइ भक्तपुरको कौशलटार बस्ने अमिर थापा र भक्तपुरकै कमलबिनायकका अमन अवाल रहेको प्रहरीले जनाएको छ । पेशाले विद्यार्थी रहेका उनीहरुले अमेरिकाबाट आईफोन, ल्यापटप, मोबाईल, क्यामरा, घडी, श्रृगार लगायतका सामानहरु सस्तो मुल्यमा पठाई दिने भन्दै ठगी गरेको आरोप प्रहरीले लगाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले एक महिनाको समयावधीमा आठ लाख रुपैयाँभन्दी बढी रकम ठगी गरेको खुल्न आएको बताइएको छ । अनलाईनबाट सामान मगाई अमिर थापा र अमन अवालको खातामा रकम जम्मा गरी ठगिमा परेको भए महानगरीय अपराध महाशाखा टेकुमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ ।
यस्तै प्रकृतिका घटना पुन: दोहोरिन सक्ने सम्भावना रहेको भन्दै प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले समयमै सजग रहन आग्रह गरेका छन् । ‘पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भईरहेको छ,’ उनले भने ।