close

मस्कलाई सम्झौता तोडेको आरोप, ‘अनुमोदनका लागि वकिललाई ट्वीट देखाउँदैनन्’

टेकपाना टेकपाना

जेठ २०, २०७८ १७:६

मस्कलाई सम्झौता तोडेको आरोप, ‘अनुमोदनका लागि वकिललाई ट्वीट देखाउँदैनन्’

काठमाडौं । आफ्ना ट्वीटका कारण टेस्ला कारका सीईओ एलन मस्क बारम्बार चर्चामा आउँछन् । कहिले एक शब्दमात्रको ट्वीट गर्नेदेखि आफ्नै कम्पनीका बारेमा अनेक कुराहरू लेख्ने उनको बानीले धेरै पटक मिडियामा ठाउँ बनाएको छ ।  मस्क यसपटक फेरि चर्चामा आएका छन् । त्यो पनि ट्वीटकै कारण । यसपटक भने कारण अलि फरक छ । 

सन् २०१८ को एउटा ट्वीटका कारण मस्कलाई अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी)ले टेस्लाका विषयमा ट्वीट गर्दा कम्पनीका वकिलहरुसँग अनुमोदन गरेर मात्र ट्वीट गर्न बाध्य बनाएको थियो । उनका ट्वीटले कम्पनीका बारेमा लगानीकर्ताहरूलाई भ्रम छरेको भन्दै वकिल र मस्कबीच सम्झौता गरिएको थियो । 

यतिबेला त्यही सम्झौता तोडेका कारण मस्क चर्चामा आएका हुन् । अखबारहरूका अनुसार मस्कका पछिल्ला दुई ट्वीटलाई लिएर एसईसीले सम्झौता तोडेको आरोप लगाएको हो ।  एसईसीका अनुसार मस्कले एउटा ट्वीटमा टेस्लाको सेयर मूल्य अत्यधिक बढी भएको र अर्कोमा कम्पनीको सोलार छानाको उत्पादन उल्लेख गरेर सम्झौता उल्लंघन गरेका छन् ।

सम्झौताका अनुसार उत्पादन संख्या, नयाँ उत्पादनहरू र कम्पनीको वित्तीय अवस्थाका विषयमा ट्वीट गर्नुअघि मस्कले वकिलको अनुमोदन लिनुपर्ने थियो । तर यी दुई ट्वीटले सम्झौता तोडेको एसईसीको ठहर छ । त्यसो त मस्कको एउटा ट्वीट नै क्रिप्टोकरेन्सी र टेस्लाकै शेयर मूल्य उतारचढावका लागि काफी छ । उनको ट्वीटको यस्तो प्रभावका विषयमा बारम्बार समाचार पनि बनेका छन् ।

तर लगानीकर्तालाई नै भ्रममा पार्ने गरी भएका ट्वीटले गलत प्रभाव पार्ने निष्कर्षसहित एसईसीले मस्कलाई ट्वीट अनुमोदनको सम्झौता गराएको थियो । एसईसीले लिखित रुपमै मस्कको यस्तो हरकतप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । लगानीकर्तालाई भ्रममा पारेको ठहर गर्दै सन् २०१८ मा मस्कलाई कम्पनीको अध्यक्षबाट राजिनामा दिन बाध्य पारिएको थियो ।

त्यस्तै उनलाई दुई करोड डलर जरिवाना पनि तोकिएको थियो । मस्कले भने एउटा अन्तरवार्तामा एसईसीप्रति आफ्नो कुनै सम्मान नरहेको  तर न्याय प्रणालीप्रति रहेकोले विश्वासले मात्र जरिवाना तिरेको उल्लेख गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३