close

अव्यवस्थित तार व्यवस्थापन भइरहेको भन्दै इन्टरनेट पूर्वाधारमा क्षति नपुर्‍याउन प्राधिकरणको आग्रह

टेकपाना टेकपाना

बैशाख २४, २०८० १०:५६

अव्यवस्थित तार व्यवस्थापन भइरहेको भन्दै इन्टरनेट पूर्वाधारमा क्षति नपुर्‍याउन प्राधिकरणको आग्रह

काठमाडौं । शहरका अव्यवस्थित तारको व्यवस्थापन गर्ने नाममा इन्टरनेट पूर्वाधारमा क्षति नपुर्‍याउन नेपाल विद्युत प्राधिकरणले आग्रह गरेको छ । काठमाडौं महानगरपालिकाले १५ दिन अगाडि एक सूचना जारी गर्दै पोलमा झुन्डिएका अव्यवस्थित तार सेवाप्रदायकले व्यवस्थापन नगरे आफैँले हटाउने बताएको थियो । 

दशकौ देखि टॉगीएका र सेवा प्रवाह भईरहेको तार एकै पटक व्यवथापन गर्न कठिनाई हुने भन्दै दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी यसको व्यवस्थापन गर्न काम भइरहेको प्राधिकरणले जनाएको छ । एक सूचना जारी गर्दै प्राधिकरणले दीर्घकालीन रुपमा तार लगायत अन्य युटिलिटीहरुको व्यवस्थापनको लागि सडक निर्माण हुँदा युटिलिटी डक्टको व्यवस्था गर्न आवश्यक कानुन निर्माण भईरहेको बताएको छ । 

"दूरसञ्चार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाई यस अगाडी नै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थापन हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भईरहेको छ," सूचनामा उल्लेख गरिएको छ । 

अव्यवस्थित रुपमा रहेको तारहरुलाई अल्पकालिन रुपमा व्यवस्थापन गर्ने क्रममा महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरण समेतको सहकार्यमा सिंहदरवार वरिपरी, पुतलीसडक, कमलादी, ठमेल, एयरपोर्ट, माइतीघर लगायत पाटन दरवार क्षेत्रको प्रयोगमा नरहेको तार हटाई बंडलिंग गरिएको पनि प्राधिकरणले बताएको छ ।

प्राथमिकताको आधारमा अन्य रुटमा समेत योजना बनाई तार व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने प्राधिकरणले स्पष्ट गरेको छ ।

"इन्टरनेट सेवा अति आवश्यक सेवा भएको र यसको पूर्वाधारमा क्षति पुग्न जादा बैंक, हवाईसेवा, नेपाल सरकारबाट नागरिक लक्षित गरी प्रदान गर्दै आएका अनलाइन सेवाहरू अवरुद्ध हुन जाने र यसको पूर्वाधारमा क्षति पुऱ्याउने कार्य दूरसञ्चार ऐन, २०५३ अनुसार दण्डनीय समेत हुने हुनाले यसको पूर्वाधारमा क्षति पुग्ने कार्य नगर्न नगराउन तथा यसको व्यवस्थापन कार्यमा सेवा प्रदायक र प्राधिकरणबाट भइरहेको कार्यलाई सघाउ पुर्याईदिनु हुन हार्दिक अनुरोध गर्दछौ," 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८० १०:५६