close

पीएमपीएल साउथ एसिया फलमा आजदेखि दोस्रो साताको खेल, कस्तो रहला नेपाली टिमको प्रदर्शन ?

टेकपाना टेकपाना

साउन १६, २०८० १४:१७

पीएमपीएल साउथ एसिया फलमा आजदेखि दोस्रो साताको खेल, कस्तो रहला नेपाली टिमको प्रदर्शन ?

काठमाडौं । पब्जीको दक्षिण एसिया क्षेत्रको प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया फल २०२३’ को लिग चरणअन्तर्गत दोस्रो साताको खेल आजदेखि सुरु हुँदैछ । पहिलो सातामा मङ्गोलियन पब्जी टिमहरू नेपाली टिमहरूमाथि हाबी भएका थिए । आजदेखि सुरु हुने दोस्रो साताको खेलमा राम्रो खेल देखाउँदै अङ्क तालिकामा आफ्नो वर्चश्व देखाउने अवसर नेपाली टिमसँग रहेको छ ।

प्रतियोगिताको पहिलो साताको अङ्क तालिकाको शीर्ष स्थानमा मङ्गोलियन पब्जी टिम फोमिराकल भाइब्स रहेको छ । ​फोमिराकल भाइब्सको १८५ पोइन्ट रहेको छ । जसमा १३१ एलिमिनेसन पोइन्ट र दुई चिकेन डिनर समावेश छ ।

१५० पोइन्टसहित दोस्रो स्थानमा नेपाली टिम स्काइलाइट गेमिङ र १४७ पोइन्टसहित तेस्रो स्थानमा म्याबटेक्स ई-स्पोर्ट्स रहेको छ । यसबाहेक शीर्ष १० मा दुई नेपाली टिम टीटूके ई-स्पोर्ट्स र रअ ई-स्पोर्ट्स पनि पनि अटाएका छन् ।

टीटूके ई-स्पोर्ट्स र रअ ई-स्पोर्ट्स क्रमश: १३० र १२९ पोइन्टसहित अङ्क तालिकाको सातौँ र आठौँ स्थानमा अटाएका छन् ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप तथा पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल जस्तो प्रतियोगिता खेलिसकेको नेपाली टिम डीआरएस गेमिङ भने अङ्क तालिको १५औँ स्थानमा रहेको छ ।

पहिलो साताको पाँचौ दिनको पाँचौ खेल सकिँदा अङ्क तालिकाका शीर्ष १२ टिमले लिभिक म्यापमा बोनस खेल खेलेका थिए, जुन डीआरएस सहित सात टिमले गुमाएका थिए ।

यो प्रतियोगिताको दोस्रो साताको खेल अगस्ट १, २, ४, ५ र ६ मा खेलाइने छ ।  खेल नेपाली समयअनुसार दिउँसाे ४:४५ देखि सुरु हुनेछ । ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज तथा युट्युब च्यानलबाट खेल हेर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: साउन १६, २०८० १४:५१