close

सावधान ! मोबाइलमा धेरै समय बिताउने बालबालिकालाई हुन सक्छ ‘भर्चुअल अटिजम’

टेकपाना टेकपाना

साउन २७, २०८० १८:३३

सावधान ! मोबाइलमा धेरै समय बिताउने  बालबालिकालाई हुन सक्छ ‘भर्चुअल अटिजम’

काठमाडौं । बालबालिकाहरूले मोबाइल फोनमा घण्टौं समय बिताउन थालेपछि आमाबाबुहरू अहिले चिन्तित बन्दै गएका छन् । सुरु सुरुमा फकाउन वा उसलाई खुसी पार्न मोबाइल फोन दिने अभिभावकहरू अहिले कसरी त्यो बानीबाट बालबालिकालाई छुट्याउने भनेर लागि परेको देखिन्छ । किनकि बालबालिकाले अधिक मोबाइल फोन प्रयोग गर्दा उसको स्वास्थ्यमा हानी पुर्‍याउनुका साथै अनेकन् रोग निम्तिने सम्भावना हुन्छ ।

ती समस्याहरूमध्ये भर्चुअल अटिजम (autism) एक हो । विभिन्न अध्ययनहरूले बालबालिकामा स्क्रिन हेर्ने लतले अटिजम निम्त्याउन सक्ने देखाएको छ । बालबालिकामा हुने यस्तो बानीलाई भर्चुअल अटिजम भनेर चिनिन्छ ।

आज हामी त्यही भर्चुअल अटिजम के हो, बालबालिकाले धेरै समय मोबाइल फोनको स्क्रिनमा बिताउँदा यो जाेखिम हुन्छ जस्ता विषयमा चर्चा गर्ने छौं:

स्क्रिनमा लत र अटिजमको सम्बन्ध

माथि पनि चर्चा भइसकेको छ, बालबालिकाहरू अहिले स्क्रिनमा अधिक समय बिताइरेका छन् । उनीहरूलाई यसको लत लागिसकेको छ । यही कारण अटिजमसँग यसलाई जोडेर हेरिने गरिन्छ । बालबालिकाको यस्तो स्वभावले एक प्रकारको चिन्ता पनि उत्पन्न गराएको छ ।

मनोविद् डा. मारियस जाम्फिरले ‘भर्चुअल अटिजम’ लाई पहिलो पटक प्रयोगमा ल्याएका थिए । उनका अनुसार बच्चाले स्क्रिनमा अत्यधिक समय बिताउँदा पर्ने नकारात्मक प्रभाव नै भर्चुअल अटिजम हो । यसले विकास भइरहेको बालबालिकाको मष्तिष्कमा असर पार्न सक्छ । जसले गर्दा बालबालिकामा बोल्न सक्ने क्षमता, पढ्न सक्ने क्षमता र सामाजिक अन्तर्क्रियाहरूमा कठिनाइहरू निम्तिन्छ ।

अहिलेको  व्यस्त तालिकाले गर्दा आमाबाबुले बच्चाहरूसँग बिताउने समय कम हुँदै गएको छ । यसले बच्चाहरू अत्याधिक टेलिभिजन हेर्ने, मोबाइल वा कम्प्युटर हेर्ने गरेका छन् । तत्काल यसको असर नदेखिए पनि पछि बाल्यकालमा ‘अटिजम स्पेक्ट्रम डिसअर्डर’ (एएसडी) हुन सक्छ ।

बालबालिकामा असक्षमता विकास हुनु एएसडी हो, यसले बालबालिकाको सामाजिक, सञ्चार र व्यवहारिक क्षमताहरूमा असर गर्छ। सरल भाषामा बुझ्दा एएसडी एक अवस्था हो, जसले बच्चाहरूलाई अरूसँग बुझ्न र कुरा गर्न गाह्रो बनाउँछ । यसका साथै उनीहरूमा विभिन्न प्रकारका समस्याहरू निम्त्याउन सक्छ । 

कुनै पनि बालबालिकाका सुरुवाती वर्ष मस्तिष्क विकासको लागि निकै महत्त्वपूर्ण मानिन्छ । यस अवधिमा उनीहरूले अरूलाई हेरेर, वरपर भएका कुराहरू देखेर, खेलेर सिकिरहेका हुन्छन् । त्यस्तै यस अवस्थामा अधिकतम विकासको लागि उनीहरूसँग आमाबाबुको अन्तर्क्रिया हुनु महत्त्वपूर्ण हुन्छ । तर यी सबै गर्न नपाउँदा उनीहरू स्क्रिनमा समय बिताउन बाध्य हुन्छन् । यसले उनीहरूको समग्र विकासमा नै प्रभाव पार्छ ।

स्क्रिनमा समय बिताउँदको असर र समाधान

बालबालिकाले स्क्रिनमा लामो समय बिताउँदा मस्तिष्कको मेलाटोनिन र डोपामाइनको प्राकृतिक उत्पादनमा बाधा पुग्छ । त्यस्तै निद्रामा असर पुग्छ, सिक्ने तरिकामा असर पुग्छ ।  साथै उनीहरू आफूले भनेको पूरा भएनन् भने वा स्क्रिनबाट छुट्याउन खोज्यो भने रिसाउने, आक्रामक हुने सम्भावना हुन्छ ।

स्क्रिनमा मात्र समय बिताउने बालबालिकाहरू भर्चुअल संसारबाट अलग हुँदा रमाइलो मान्दैनन् । उनीहरूलाई वास्तविक संसारभन्दा त्यही भर्चुअल संसार रमाइलो मा्छन् । यसले उनीहरूको सामाजिक अन्तर्क्रिया र मानसिक स्वास्थ्यलाई असर गर्न सक्छ ।

यद्यपि कोही बालबालिका यस्तो भएका छन् भने उनीहरूलाई याे लतबाट छुटाउन सकिन्छ । भर्चुअल अटिजम भएका बालबालिकाको स्क्रिन समय सीमित गर्नाले उसको अवस्थालाई उल्टाउन वा रोक्न सकिन्छ ।

यसका लागि अभिभावक वा आमाबाबुहरूकै सबैभन्दा ठूलाे भूमिका हुन्छ । आफ्नो बच्चासँग अन्तर्क्रिया गर्ने, खेल्ने, कुराकानी गर्ने, घुमाउन लैजाने, कथा सुनाउने जस्ता काम गर्नुपर्छ । भर्चुअल डिसअर्डरबाट ग्रसित बालबालिकालाई यसबाट छुटाउन स्क्रिन टाइम कम गर्नु हो । यसो हुँदा बच्चाहरूको मस्तिष्कको विकास प्राकृतिक रुपमा हुन जान्छ ।

-अन्तर्राष्ट्रिय मिडियाहरूको सहयोगमा

पछिल्लो अध्यावधिक: साउन २७, २०८० १८:३३