close

इन्जिनियरिङको शुल्क बढेपछि विद्यार्थी संगठनको विरोधः कतै आमरण अनशन, कतै तालाबन्दी

सञ्जीवन राई सञ्जीवन राई

भदौ ७, २०८० १३:३२

इन्जिनियरिङको शुल्क बढेपछि विद्यार्थी संगठनको विरोधः कतै आमरण अनशन, कतै तालाबन्दी

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक तहमा इन्जिनियरिङ कार्यक्रमहरूकाे शुल्क बढाएको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, धरान, पश्चिमाञ्चल क्याम्पस, पाेखरा लगायतका क्याम्पसका विद्यार्थीहरूले आईओईको निर्णय फिर्ता लिन माग राख्दै विरोध जनाएका हुन् ।

यसअन्तर्गत विद्यार्थीले विराेध र्‍यालीदेखि कार्यालयमा तालाबन्दी र आमरण अनशनसम्मका कार्यक्रम राखेका छन् ।

पूर्वाञ्चल क्याम्पसका विभिन्न विद्यार्थी सङ्गठनहरूले कलेज प्रशासन भवनमा ताला लगाउनुका साथै विराेध र्‍याली निकालेका छन् । उनीहरूले ‘गरिबका छोराछोरी पढ्न दे’, ‘शिक्षामा व्यापारीकरण बन्द गर्’, ‘शुल्क वृद्धि खारेज गर्’ लगायतका नारा लगाउँदै विरोध जनाएका छन् ।

पूर्वाञ्चल क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)का उपसभापति नवीन श्रेष्ठले अवैज्ञानिक तरिकाले शुल्क वृद्धि भएकाले विरोध गरेको बताए । “आईओई प्रतिनिधिले हामीसँग शुल्क वृद्धिबारे छलफल गरेका थिए । हामीले वैज्ञानिक ढङ्गले केही रकम बढाउन भनेका थियौं,” उनले टेकपानासँग कुरा गर्दै भने, “तर १३० प्रतिशतसम्म शुल्क वृद्धि भयाे । यो कदमले गरिब जेहेन्दार विद्यार्थीहरू पढ्नबाट वञ्चित हुन्छन् ।”

त्यस्तै पुल्चोक क्याम्पस ललितपुरको स्वतन्त्र विद्यार्थी युनियनले एक विज्ञप्ति जारी गर्दै आईओईको शुल्क वृद्धि मान्य नभएको बताएको छ । सुविधा तथा गुणस्तर वृद्धि नगरी एकैचोटी शुल्क वृद्धि गर्नु विद्यार्थीको हकहित विरुद्ध भएको स्ववियूकाे ठहर छ ।

आईओईले शुल्क फिर्ता नगरे जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको विद्यार्थी संठगनहरूले चेतावनी दिएका छन् ।

साथै शुल्क वृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसका सुलभ चापागाईंले हिजो भदौ ५ देखि  आमरण अनशन सुरु गरेका छन् ।

आईओईले शुल्क फिर्ता नगरेसम्म आफ्नो विरोध प्रदर्शन जारी राख्ने विद्यार्थी नेताहरूले बताएका छन् । आईओईले यसै शैक्षिक सत्रबाट लागू हुने गरी स्नातक तहका इन्जिनियरिङ विषयहरूको शुल्क बढाएको छ ।

२०५३ सालमा निर्धारण भएको शुल्क हालसम्म कायम हुँदा क्याम्पस चलाउनै नसकिने अवस्था आएपछि मात्र बढाउनु परेको आईओईले जनाएको छ । यसअघि लिँदै आएको तीन लाख १८ हजार शुल्कबाट एकैपटक साढे चार लाख रुपैयाँ बढाएर आईओईले सात लाख ७५ हजार ४२० रुपैयाँ पुर्‍याएको छ ।

नयाँ शुल्क अनुसार नियमित अथवा छात्रवृत्तिमा पढ्ने विद्यार्थीका लागि चार वर्षको ८३ हजार ४२० रुपैयाँ शुल्क लाग्ने छ । त्यस्तै विदेशी विद्यार्थीका लागि १५ लाख ९९ हजार ३२० लाग्ने छ ।

सम्बन्धित समाचार:

आईओईले बढायो शुल्क, अब इन्जिनियरिङ पढ्न करिब ८ लाख शुल्क लाग्ने

पछिल्लो अध्यावधिक: भदौ ७, २०८० १४:२१