close

आईफोन १५ सिरिज आज सार्वजनिक हुँदै, अरु के के आउलान् ?

टेकपाना टेकपाना

भदौ २६, २०८० ११:५८

आईफोन १५ सिरिज आज सार्वजनिक हुँदै, अरु के के आउलान् ?

काठमाडौं । एप्पलले आज मंगलबार आईफोन १५ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाली समय अनुसार राति पौने ११ बजेदेखि सुरु हुने एप्पल इभेन्टमा आईफोन १५ लाइनअप अन्तर्गतका विभिन्न मोडेल सार्वजनिक हुने भएका हुन् ।

एप्पल इभेन्ट क्यालिफोर्नियामा रहेको स्टिभ जब्स थ्रियटरमा हुनेछ । अघिल्लाे वर्ष सार्वजनिक भएकाे आईफोन १४ मा ब्याट्री हेल्थ चाँडै घटेको भन्दै प्रयोगकर्ताले गुनासो गरेका थिए । आईफोन १५ का माेडेलहरूका लागि एप्पलले विशेष सतर्कता अपनाएकाे विभिन्न रिपाेर्टहरूले उल्लेख गरेका छन् ।

कम्पनीले आफ्नो आधिकारिक वेबसाइट, एप्पल टिभी, र युट्युब च्यानलबाट नयाँ प्रडक्ट सार्वजनिक भएको भिडिओ प्रत्यक्ष प्रसारण गर्नेछ । यसअन्तर्गत यहाँ क्लिक गरी एप्पलको वेबसाइटमा गएर वा यहाँ क्लिक गरी एप्पलको युट्युब च्यानलबाट लाइभ हेर्न सकिनेछ ।

आजको कार्यक्रम प्रविधि क्षेत्रमा रुचि राख्नेहरूका लागि विशेष हुने अपेक्षा गरिएको छ ।

विशेषगरी एप्पलले ११ वर्षपछि आईफोनको चार्जिङ पोर्ट परिवर्तन गर्न लागेको छ । त्यस्तै नयाँ चिपसहितको आईफोन १५ प्रो र प्रो म्याक्स, एप्पल वाच सिरिज नाइन, एयरपड्स प्राे लगायतका प्रडक्ट सार्वजनिक हुँदैछन् । 

यी हुन आज सार्वजनिक हुने प्रडक्टः

आईफोन १५ सिरिज

एप्पल इभेन्टमा सार्वजनिक हुने प्रडक्टमध्ये आईफोन १५ सिरिजकाे चर्चा धेरै छ । आईफोन १५ लाइनअप अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स (वा आईफोन १५ अल्ट्रा) सार्वजनिक हुने अनुमान छ ।   

आईफोन १५ को बेस भेरियन्टमा ए१६ बायोनिक चिप हुनेछ भने प्रो मोडेलमा ए१७ बायोनिक चिप हुने छ ।

आईफोन १५ मा हुने यूएसबी टाइप-सी पोर्टलाई सबैभन्दा आकर्षक र बढी खोजिएको फिचरका रूपमा हेरिएको छ । विभिन्न लिकरका अनुसार आईफोन १५ का सबै मोडेलमा टाइप-सी पोर्ट समावेश हुनेछ । 

विभिन्न सूचना र लिकरहरूले सार्वजनिक गरेको जानकारी अनुसार आईफोन १५ को डिजाइनमा त्यति धेरै परिवर्तन गरिएको छैन । आईफाेन १४ को प्रो र प्रो म्याक्स मोडेलमा मात्र उपलब्ध डाइनामिक आइल्यान्ड फिचर भएकाेमा आईफोन १५ का सबै लाइनअपमा याे फिचर हुनेछ ।

आईफोन १५ प्रो र १५ प्रो म्याक्सलाई विशेष बनाउन एप्पलले टाइटानियम बडीलाई हटाएर स्टेनलेस स्टिल राखेको लिकरले उल्लेख गरेका छन् । त्यस्तै कस्टमाइज गर्न मिल्ने एक्सन बटनहरू हुनेछन् । अन्य मोडेलभन्दा यी दुई मोडेलको बेजल पातलाे हुने बताइएको छ । 

आईफोन १५ र आईफोन १५ प्लस एउटै कलरमा उपलब्ध हुनेछन् । विशेषगरी मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिङ्क कलरमा उपलब्ध हुनेछ ।

आईफोन १५ प्रो र प्रो म्याक्स मोडेल भने टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक कलरमा उपलब्ध हुनेछ ।

एप्पलले हरेक नयाँ मोडेल सार्वजनिक गरेसँगै नयाँ प्रोसेसर उपलब्ध गराउने गर्छ । गत वर्ष आईफोन १४ प्रो र प्रो म्याक्समा दिइएको ए१६ बायोनिक चिपसेट अब आईफोन १५ र आईफोन १५ प्लस उपलब्ध हुनेछ ।

आईफोन १५ प्रो र १५ प्रो म्याक्समा भने एप्पलको नयाँ प्रोसेसर ए१७ बायोनिक चिप रहनेछ ।

आईफोन १५ मा एप्पलले उपलब्ध गराउने उच्चतम र्‍याम ६ जीबी हो । तर, यस पटक प्राे माेडेलहरूमा ८ जीबी र्‍याम उपलब्ध गराउने चर्चा छ ।

इन्टर्नल स्टोरेजको सन्दर्भमा यो वर्ष एप्पलले आईफोन १५ प्रो र प्रो म्याक्समा १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी इन्टर्नल स्टोरेज उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

आईफोन १५ र १५ प्लस भने १२८ जीबी, २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । 

क्यामेराको सन्दर्भमा आईफोन १५ र आईफोन १५ प्लसमा ४८ मेगापिक्सेलको मुख्य र १२ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल लेन्स हुनेछ । आईफोन १५ प्रोमा ४८ मेगापिक्सेलको मुख्य, १२ मेगापिक्सेलको अल्ट्रावाइड र १२ मेगापिक्सेलको टेलिफोटो लेन्स हुने बताइएको छ ।

आईफोन १५ प्रो म्याक्समा भने ४८ मेगापिक्सेलको सोनी आईएमएक्स ९०३ सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल लेन्स र १२ मेगापिक्सेलको टेलिफोटो पेरिस्कोप लेन्स रहनेछ ।

यी सबै मोडेलमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध हुने लिकरले उल्लेख गरेका छन् ।​ आईफोन १५ लाइनअपको मूल्य अघिल्ला मोडेलहरूको तुलनामा केही बढी हुने चर्चा छ ।

लिक गर्ने विभिन्न स्रोतलाई आधार मान्ने हो भने आईफोन १५ को मूल्य ७९९ डलर, आईफोन १५ प्लसको मूल्य ८९९ डलर, आईफोन १५ प्रोको मूल्य ९९९ डलर र आईफोन १५ प्रो म्याक्सको मूल्य ११९९ डलरबाट सुरु हुनेछ ।

एप्पल वाच सिरिज नाइन  र अल्ट्रा टु

जति जानकारी आईफोन १५ का बाहिरिएका छन्, त्यति एप्पल वाच सिरिज नाइन र अल्ट्रा टुका बाहिरिएका छैनन् । यसबाट पनि वेयरेबलका सन्दर्भमा प्रयोगकर्ताले त्यति चासो नदिएको बुझ्न सकिन्छ । 

लिक भएका विभिन्न सूचनालाई आधार मान्ने हो भने अल्ट्रा टु र सिरिज नाइनमा नयाँ कलर र प्रोसेसर समावेश हुनेछ । त्यसबाहेक पनि एप्पल वाचको केस डिजाइन थ्रीडी प्रिन्टिङमा आधारित हुनेछ ।

एप्पल वाच सिरिज नाइन ४१ एमएम र ४५ एमएम साइजमा उपलब्ध हुनेछ भने अल्ट्रा टु ४९ एमएममा उपलब्ध हुनेछ । 

एयरपड्स प्रो

एप्पल इभेन्ट २०२३ मा सार्वजनिक हुने अर्को प्रडक्ट हो, अपडेटेड एयरपड्स प्रो । यसलाई कम्पनीले टाइप-सी चार्जिंङ सपोर्ट उपलब्ध गराएर सार्वजनिक गर्ने बताइएको छ । 

यसको हार्डवेयरमा कम्पनीले त्यति नयाँ फिचर ल्याउने अपेक्षा गरिएको छैन । यद्यपि सफ्टवेयरका सन्दर्भमा भने यसमा केही विशेष फिचरहरू आउन सक्छन् ।

लिक भएका विभिन्न जानकारी अनसार कम्पनीले यो एयरपड्स प्रोमा स्वतः विभिन्न डिभाइसमा स्विच हुने र एयरपड्स आफैं म्युट र अनम्युट हुने फिचर ल्याउन लागेको छ ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८० १२:१२