close

अपुतालीको धन पाउने लोभमा ६९ वर्षीय रिटायर्ड नेपाली इन्जिनियरले अनलाइनबाट गुमाए ९५ लाख !

टेकपाना टेकपाना

असोज ३०, २०८० ९:३५

अपुतालीको धन पाउने लोभमा ६९ वर्षीय रिटायर्ड नेपाली इन्जिनियरले अनलाइनबाट गुमाए ९५ लाख !

काठमाडौं । एक व्यक्तिले ह्वाट्सएप मार्फत माधव पुरी (परिवर्तित नाम) लाई सम्पर्क गरे । कुराकानीको क्रममा ती व्यक्तिले टर्कीमा एड्रिन पुरी भन्ने व्यक्तिको कोभिडका कारण मृत्यु भएको र मृतक पुरीको परिवारले सरकारबाट कोभिड बीमा बापत रकम पाउने कुरा सुनाए । 

तर, ती मृतक पुरीको कोही आफन्त सम्पर्कमा नआएकाले बीमा रकम यथावत् रहेको भन्दै माधव पुरीलाई उक्त रकम दाबी गर्न प्रेरित गरे । ह्वाट्सएपमा सम्पर्कमा आएका व्यक्तिले आफू टर्कीको इस्तानबुल बैंकको कर्मचारी रहेको बताएका थिए । 

माधव पुरीलाई सो घटनाबारे जानकारी दिएको र मध्यस्थ गरे बापत आफूले ५० प्रतिशत रकम लिने ती व्यक्तिको भनाई थियो । यता सरकारी इन्जिनियरको जागिरबाट रिटायर पुरीका छोरा बुहारी पोर्चुगल र डेनमार्कमा जागिरे छन् । 

ह्वाट्सएपमा सम्पर्कमा आएका व्यक्तिले विभिन्न कागजात बनाएर पठाएपछि माधवलाई हो कि भन्ने लाग्यो । जाबो मृतक आफ्नो हो भनिदिंदैमा बीमामार्फत प्राप्त हुने ९५ लाख अमेरिकी डलरको आधा रकम पाउने भएपछि माधवको मनमा लोभ जाग्न थाल्यो । 

उनले आफू तयार भएको स्वीकारोक्ति दिए । त्यसपछि बैंकका कर्मचारी बताउने व्यक्तिले एड्रिन पुरीको नामका विभिन्न कागजात पठाए । 

उताबाट माधव पुरीलाई पनि कागजात पठाउन अनुरोध गरे । माधवले आफ्नो नागरिकता, पासपोर्ट लगायतका कागजात स्क्यान गरेर दिए ।  कागज प्राप्त भइसकेपछि माधवलाई टर्की आउन भनियो । 

तर उनी टर्की जान सक्ने अवस्थामा थिएनन् । त्यसैले आफू त्यसका लागि असमर्थ रहेको जानकारी दिए । 

“त्यसोभए हामीले सबै कागजात मिलाउनका लागि एउटा वकिलको साथ लिनुपर्छ,” बैंकका कर्मचारी भनिने व्यक्तिले ह्वाट्सएपमार्फत भनेका थिए, “त्यसका लागि तपाईंले केही शुल्क तिर्नुपर्ने हुन्छ ।” 

टर्की जानुभन्दा उनीहरूले माग गरे बमोजिमको रकम उपलब्ध गराउन माधव राजी भए । त्यसपछि उनले भने बमोजिमको रकम पठाइदिए । 

उनलाई पछि बैंकका कर्मचारी भन्ने व्यक्तिले वकिल भनिएका व्यक्तिसँग माधवको परिचय गराइदिए । अधिवक्ताले पनि विभिन्न शैलीले माधवबाट रकम असुले, अहिले पनि असुल गरिरहेकै छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आउँदा “बुझेँ, अब छिट्टै उजुरी दिन्छु” भनेका माधव अहिले प्रहरीसँग सम्पर्कमा आउनै चाहँदैनन् ।

प्रहरीले सम्झाएपछि माधवलाई आफू ठगिएको हो कि भन्ने लागेको थियो । “हामीले सम्झाएपछि उहाँले अब छिट्टै उजुरी दिन्छु भन्नु भएको थियो,” अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, “पछि त उहाँले फोन उठाउनै चाहनु हुन्न ।”

वकिल भनिएका व्यक्तिले विभिन्न प्रलोभनमा पारेको र माधव पुरी उक्त प्रलोभनबाट बाहिर निस्किन नसकेको प्रहरीको बुझाई छ । पछि गिरीले फोन त उठाए । तर, उनी आफू ठगीमा पर्दै नपरेको भन्दै बोली फेरिरहेका छन् । 

 

प्रहरीसँग सोमवार टेलिफोन सम्पर्क हुँदा माधव पुरीले भनेका थिए, “म ठगिएको छैन । मेरो रकम जम्मा भइरहेको छ । म उजुरी दिन्नँ । तिमीहरू जे गर्छौ, गर ।”

स्क्यामर (ठग)ले पीडितलाई एकोहोरो बनाइदिने भएकाले पीडितलाई बैलेमा आफू ठगिएको महसुस नै नहुने प्रहरीको भनाई छ । सोही प्रकृतिको अर्को घटना स्मरण गर्दै अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, “अस्ति सुदूरपश्चिमको एक जना वृद्ध सम्पर्कमा आउनु भएको थियो । उहाँले पनि यसरी नै सुरुमा होइन भन्नु भएको थियो । पछि उजुरी दिनुभयो ।”

तर, माधव पुरीले भने पछिल्लो समय लगातार आफू ठगीमा नपरेको दाबी गर्दै आएका छन् । उनले पहिले प्रहरीले उनीसँग गरेको कुराकानीलाई आधार मान्ने हो भने उनले सबै जानेरै गरेको देखिने प्रहरीको भनाई छ । 

पछि भने आफ्नो रकम आइरहेको र ठगीमा नपरेको भन्दै टार्न खोजिरहेको प्रहरीको बुझाई छ । प्रहरीले वृद्धसँग उनका छोरा बुहारीको सम्पर्क नम्बर पनि मागेको थियो । 

तर, उनले सबै दिन अस्वीकार गरे । अहिले प्रहरीलाई नै “जे गर्न सक्छौ, गर !” भन्दै चुनौती दिन थालेका छन् । यसबाट प्रहरीलाई उनको अकाउन्ट कसैले दुरुपयोग गरेर ट्रान्सफर गर्ने माध्यम मात्र बनाएको पो हो कि भन्ने आशंका पनि छ । तर, कुराकानीमा आफ्नो वकिलले सबै मिलाइरहेको भन्दै पुरी ढुक्क हुन खोजेको प्रहरीको अनुमान छ । अहिले प्रहरीले पुरीको बैंक स्टेटमेन्ट निकाल्ने र त्यसैबाट रकम उनले पठाएको हो वा अरू कसैले पुरीलाई पठाएर उनको अकाउन्टबाट अन्यत्र ट्रान्सफर भएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

यसरी खुल्यो ठगीको पर्दा 

पछिल्लो समय काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा विभिन्न किसिमका अनलाइन ठगीमा पर्नेहरूको लामो लाम लाग्ने गरेको छ । चिठ्ठा परेको प्रलोभन, पार्सल पाउने लोभ, सामाजिक सञ्जालको विज्ञापनदेखि विदेश जाने सपना, उत्तराधिकारी बनेर बीमा रकम पाउने लोभमा पर्दा कैयौंले आफ्नो जीवनभरको कमाई गुमाइरहेका छन् । 

आफू ठगिएको थाहा पाएपछि कतिपय पीडितहरू कार्यालयको प्राङ्गणमा पुग्छन् । प्रहरीले केही समयअघि केही पीडितहरूले उपलब्ध गराएको बैंक खातामा अनुसन्धान सुरु गरेको थियो । जसमा  एउटै गिरोहले ठगी गरिरहेको तथ्य फेला पर्‍यो । 

ठगी गर्ने गिरोहले पीडितलाई उपलब्ध गराउने खाता एउटै भएकाले उही गिरोह सक्रिय छ भन्ने पहिचान गर्न प्रहरीलाई गाह्रो भएन । प्रायः सबै किसिमका अनलाइन ठगीमा नवराज काफ्ले, अनूप रेग्मी र विक्रान्तको नाम जोडिएको थियो । 

प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढायो । “उनीहरूले खाता मात्र खोलेका थिए,” अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन्, “केवाईसी भेरिफाई गर्ने बेला बैंक खातामा मोबाइल नम्बर राखेका थिए । त्यसमा कमल चौधरी र महावीरप्रकाश शाहको नम्बर भेटिएपछि उनीहरूलाई पक्राउ गरेर भक्तपुर पठाएका छौं । यसबाट उनीहरूले सङ्गठित अपराध गरिरहेको देखिन्छ ।” 

प्रहरी अनुसन्धान हेर्दा कमल र महावीरले विभिन्न एजेन्ट छनौट गरेका छन् । जसमध्ये नवराज, अनूप र विक्रान्त पनि हुन् । बाँकी अरू पनि संलग्न रहेको हुनसक्ने अनुमान गरिएको छ । 

बैंक खातामा पीडितबाट क्रमिक रूपमा मोटो रकम आएकाले अन्य एजेन्ट पनि सक्रिय रहेको प्रहरीले जनाएको छ । 

यसरी कसैले दुबईबाट यो गिरोहलाई सञ्चालन गरिरहेको र ठगी मार्फत जम्मा गरेको रकम गिरोहमार्फत बाहिरिने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । 

उनीहरूको बैंक अकाउन्टमा कहाँकहाँबाट रकम आएको छ, त्यहाँबाट कहाँ गएको छ भन्ने जालोको चिरफार गर्न प्रहरीले बैंक स्टेटमेन्टको एक एक कारोबार ध्यान दिएर केलायो । 

त्यसै क्रममा पक्राउ परेका एजेन्ट रोहनकुमार सरदारको अकाउन्टमा माधव पुरीको नामबाट १३ लाख १७ हजारभन्दा बढी पठाएको देखियो । मोटो रकम पठाएको पाइएपछि प्रहरीले एउटै नामबाट रकम पठाउने व्यक्तिको खोजी गर्न थाल्यो ।

त्यस क्रममा पुरीले अर्का एजेन्ट सन्तोष चौधरीलाई सोही हाराहारीको रकम पठाएको देखियो । त्यस्तै नवराज र अनूपको अकाउन्टमा पनि माधव पुरीको एनएमबी बैंकबाट १३ लाखभन्दा बढी पठाइएको थियो । 

यसरी पक्राउ परेका प्रायः सबै एजेन्टहरूलाई माधव पुरीको अकाउन्टबाट रकम ट्रान्सफर गरिएको थियो । जसको हिसाब गर्दा झन्डै ९५ लाख रुपैयाँ हाराहारी हुन जान्छ ।

कार्यालयका अनुसार यसरी एउटै व्यक्तिको अकाउन्टबाट ९५ लाख रुपैयाँभन्दा बढी पठाइएको देखेपछि प्रहरीले सहजै पुरी ठगीमा परेको पत्ता लगायो । उनलाई उद्धार गर्ने र रकम फिर्ता गराउने उद्देश्यले प्रहरीले पुरीलाई कार्यालयमा बोलाएको थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक २, २०८० ११:४७