close

टेकपाना एक्सप्लेनरः एमडीएमएस सम्बन्धी सम्पूर्ण प्रश्न र जिज्ञासाको जवाफ

टेकपाना टेकपाना

कात्तिक २२, २०८० १४:३३

टेकपाना एक्सप्लेनरः एमडीएमएस सम्बन्धी सम्पूर्ण प्रश्न र जिज्ञासाको जवाफ

काठमाडौं । नेपाल सरकारको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सोमवारदेखि पूर्ण रूपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याइसकेको छ । यससँगै उक्त प्रणालीमा दर्ता नभएका फोनहरू नेपाल भित्र नचल्ने गरी ब्लक गर्न समेत सुरु भइसकेको छ । 

यस्तो अवस्थामा एमडीएमएस के हो, यसले कसरी काम गर्छ, कस्ता फोनहरू ब्लक हुन्छन्, फोन ब्लक हुन नदिन के गर्ने, फोन खरिद गर्दा वा विदेशबाट साथमा फोन ल्याएर आउँदा केके कुरामा ध्यान दिने आदि जस्ता विषयमा अनेकौं जिज्ञासा र प्रश्नहरू उठ्न थालेका छन् । एमडीएमएससँग सम्बन्धित त्यस किसिमका सम्पूर्ण प्रश्न र जिज्ञासाको समाधान र सहजताका लागि टेकपानाले यो एक्सप्लेनर तयार पारेको हो । 

यस क्रममा प्राधिकरणका विज्ञ तथा अधिकारी, नेपालको भन्सार प्रणाली, बजेट तथा आर्थिक ऐन र एमडीएमएससँग सम्बन्धी कागजात तथा प्रतिवेदन आदिलाई आधार बनाएर बनाइएको छ ।  

एमडीएमएस भनेको के हो ?

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (मोबाइल उपकरण व्यवस्थापन प्रणाली) को छोटकरी रूप नै एमडीएमएस हो । नेपालमा मोबाइल फोनको कालोबजारी तथा अवैध रूपमा फोन भित्रिने अवस्था अन्त्य गर्ने, सरकारको राजस्व चुहावट नियन्त्रण गर्ने, सुरक्षित रूपमा मोबाइल उपयोग गर्ने वातावरण बनाउने, हराएको खण्डमा फेला पार्ने, चोरी हुने क्रम नियन्त्रण गर्ने र अपराध अनुसन्धानलाई सहज बनाउनु यसको उद्देश्य हो । 

यसले कम गुणस्तरका फोनको आयात नियन्त्रण गरी नागरिकको हित रक्षा गर्ने, अत्यधिक विकिरण उत्सर्जन गर्ने फोन प्रयोगमा रोक लगाउने र ब्याट्री पड्किने खालका फोनहरू प्रयोगमा आउन नदिने काम पनि गर्छ । 

नेपालका आयातकर्ताहरूले जीएसएमए डेटाबेसमा रहेका फोन मात्र फोन ल्याउन पाउने आधार यसले तय गर्छ । बाहिरका एसेम्बल गरिएका, बढी रेडियसन हुने, नेपाल अथवा आईटियूले तथा जीएसएमएले प्रमाणित नगरेका फोनमाथि रोक लगाउन समेत यसले सघाउँछ । 

एमडीएमएसले कस्ता फोन ब्लक गर्छ ?

यसले गैरकानूनी तवरबाट नेपाल भित्रिएका सबै फोनहरू बन्द गर्ने बताइएको छ । तर ठूलो सङ्ख्यामा ‘ग्रे लिस्ट’का फोन बजारमा  भएकाले तत्काल ‘हाई-इन्ड’ अथवा पछिल्लो समय आएका फोन बन्द गर्न थालिएको छ । उक्त कार्य २० कात्तिक २०८० देखि सुरु भइसकेको छ । अब भित्रिने सम्पूर्ण फोनहरूको सवालमा प्राधिकरणले १५ दिनभित्र एमडीएमएसमा दर्ता हुन एसएमएस पठाउने र निर्धारित अवधिमा दर्ता नभए ब्लक गर्ने नीति अपनाउने स्पष्ट पारेको छ ।  

 

ह्वाइट, ग्रे र ब्ल्याक लिस्ट भनेको के हो ?

नेपाली आयाताकर्ताले आयात गरेका, भन्सार प्रक्रिया पूरा गरी आएका तथा भ्याटबिल भएको फोन ‘ह्वाइट लिस्ट’ मा समावेश हुन्छन् । श्रम स्वीकृति लिएका अथवा पर्यटकका रूपमा गएका नेपाली नागरिकहरूले साथमा ल्याएर स्ट्याम्प लगाएर, भन्सार तिरेका फोन पनि ह्वाइट लिस्टमा पर्छन् । 

यी बाहेक उपहारका रूपमा आएका अथवा बोर्डर तथा अन्य माध्यमबाट आएका, तर एमडीएमएसमा दर्ता नभएका फोनलाई ‘ग्रे लिस्ट’ मा भएका फोन भन्ने गरिन्छ । जुन हाल ४०/५० लाखको सङ्ख्यामा रहेको बताइन्छ । अहिले ब्लक गर्न सुरु गरिएका फोन त्यही ‘ग्रे लिस्ट’ मध्येकै हुन् । पहिलो चरणमा एमडीएमएसमा दर्ता नभएका ८०४ ओटा आईफोन बन्द भएका छन् । यसरी नेपालभित्र नचल्ने गरी बन्द गरिएका फोनहरूलाई ‘ब्ल्याक लिस्ट’ मा राखिन्छ ।  

 

के ‘ग्रे लिस्ट’मा रहेका सबै  फोन बन्द हुन्छन् ?

नेपाल सरकार तथा मन्त्रिपरिषद्‌ स्तरबाट नीतिगत निर्णय नभइकन ती सबै (४०/५० लाखको सङ्ख्यामा रहेका) फोन ब्लक नहुने नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । त्यसैले हाल ‘हाई-इन्ड’का फोनबाट एमडीएमएस लागु गर्न थालिएको हो । 

 

नेपालमा दर्ता नभएका फोन चल्न नदिन कस्तो प्रविधि प्रयोग भइरहेको छ ?

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमले टेलिकम कम्पनीहरूको नेटवर्कमा ‘ल्याच’ (सिम राखेर सञ्चार सेवा प्रयोग गरेको) भएको आधारमा मोबाइलको आईएमईआई नम्बर, कुन कम्पनीको तथा कुन मोडेलको मोबाइल हो भन्ने कुरा पहिचान गर्न सक्छ । यस आधारमा बजारमा कति मोबाइल छन्, कुन मोबाइल आइरहेका छन् भन्ने सूचना यो प्रणालीमा राखिएको हुन्छ । अहिले प्राधिकरणले मोबाइलको मोडेल अर्थात् सिरिज छुट्याएर ब्लक गर्ने काम सुरु गरेको छ । प्राविधिक रूपमा भन्दा आईएमईआई नम्बरका आधारमा फोन पहिचान गरी ब्लक गर्ने कार्य भइरहेको छ । 

 

‘ग्रे लिस्ट’का अन्य फोनहरूको सवालमा के हुन्छ ? 

चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटले जेठ १५ भन्दा अगाडि प्रयोगमा आएका फोनहरूलाई निश्चित शुल्क तिरेर एमडीएमएसमा दर्ता गर्न असार मसान्तसम्मको म्याद तोकेको थियो । त्यसमा ५० लाख भन्दा बढी फोन रहेको अनुमान छ । 

त्यस्ता फोनहरूको सवालमा भने प्राधिकरण मौन छ । अर्थात् १५ जेठअघि नेपालभित्र प्रयोगमा आएका तर एमडीएमएसमा दर्ता नभएर ‘ग्रे लिस्ट’मा रहेका फोन ब्लक गर्ने पक्षमा प्राधिकरण छैन । 

किन भने त्यस्ता फोन यति धेरै छन् कि सबैलाई ब्लक गर्दा नेपालको सारा सञ्चार प्रणाली नै अस्तव्यस्त हुन सक्छ । यसबाट ठूलो सङ्ख्यामा सर्वसाधारणलाई असर पर्ने देखिन्छ । अहिले प्राकृतिक प्रकोप पनि आइरहेको छ । यस्तोमा पीडितहरूलाई झन् पीडा थप्ने र राहत तथा उद्धार कार्यमा व्यवधान सिर्जना हुन सक्छ ।

 

किन महँगा फोन ब्लक गर्दैछ प्राधिकरण ?

यस्ता फोनहरू मध्यम र सो भन्दा माथिल्लो आयस्तर भएका व्यक्तिहरूले प्रयोग गर्छन् । उनीहरू दूरदराजका पनि हुँदैनन् र उनीहरू कानून पालना गराउने तहमा पनि हुन्छन् । त्यसैले उपल्लो तहका मान्छेहरूबाट एमडीएमएस सुरु गर्दा तलका मान्छेलाई ठाउँ दिने वातावरण पनि तयार हुन्छ ।

 

पछिल्लो समय नेपाल भित्रिएका, तर एमडीएमएसमा दर्ता गर्न आवश्यक कागजात नभएका फोनको हकमा के हुन्छ ?

यो हालसम्म स्पष्ट नभईसकेको विषय हो । प्राधिकरणले भन्सार विभाग तथा अर्थ मन्त्रालयसँग यस विषयमा सम्वाद भएको र मौखिक रुपमा नीतिगत व्यवस्था गरिने र दर्ताको विकल्प दिने भनिएको छ । ब्लक गरेपछि चलाउनका लागि नागरिकले नयाँ फोन किन्नै पर्ने हुन्छ । त्यसबाट देशको थप रकम विदेश जान्छ । सम्बन्धित प्रयोगकर्ताको खर्च पनि बढ्छ । मूलतः कर नतिरेकै कारण ब्लक हुने भएकाले त्यसको विकल्प दिएर प्रयोग गर्न दिने भन्ने विषय यतिखेर छलफलमै छ । यो सरकारको नीतिगत व्यवस्थामा भर पर्ने विषय भएकाले त्यसका लागि अहिलेलाई निर्णय कुर्नुको विकल्प देखिंदैन । 

 

आईफोन १५ सिरिजपछि अब एमडीएमएसले कुनकुन फोनहरू ब्लक गर्दैछ ?

आईफोन १५ बाट दर्ता नभएका फोन ब्लक गर्न थालिएकोमा अब क्रमशः सामसङ, वन प्लस जस्ता कम्पनीका हाई-इन्ड अर्थात् एक लाख रुपैयाँभन्दा माथिका फोनहरू बन्द हुनेछन् । प्राधिकरणले त्यसका लागि अन्य फोनहरूलाई पनि एसएमएस पठाउने प्रक्रिया सुरु गरिसकेको छ । तर एमडीएमएस लागु भएको खबरबाट नआत्तिन प्राधिकरणले सर्वसाधारणमा अनुरोध पनि गरेको छ । प्रयोग गरिरहेको फोन बन्द हुन्छ कि भन्ने भय सिर्जना गर्न नखोजिएको बताइएको छ । साधारण फोन चलाउनु हुन्छ भने उचित समय र तरिका दिएर मात्रै त्यसको अगाडिको प्रक्रिया अगाडि बढ्नेछ । 

 

फोन बन्द हुनु अघि सम्बन्धित प्रयोगकर्तालाई जानकारी दिइन्छ कि दिइँदैन ?

अवश्य पनि दिइन्छ । सुरुमा सूचना पठाएर एमडीएमएसमा दर्ता हुन १५ दिनको समय दिइन्छ  । तर निर्धारित अवधिमा दर्ता नगरेको खण्डमा उक्त फोनमा नेपाली मोबाइल सेवा प्रदायकको सिम चल्दैन । 

 

विदेशमा काम गर्न, अध्ययन गर्न वा घुम्न गएर साथमा फोनहरू ल्याउँदा केके कुरामा ध्यान दिने ?

विदेशबाट फर्किने नेपाली नागरिकले आफूले प्रयोग गरिरहेको एउटा फोन भन्सार महसुल नतिरेरै ल्याउन पाउँछन् । यसरी आफूले प्रयोग गरिरहेको एक थान फोन ल्याउँदा भन्सारमा त्यसको घोषणा गर्नु पनि पर्दैन । उक्त फोन सम्बन्धित व्यक्ति स्वयंले अनलाइनमार्फत एमडीएमएसमा दर्ता गर्न सक्छन् । त्यसका लागि पासपोर्ट, अध्यागमन विभागको छाप वा बोर्डिङ पासको स्क्यान कपी भने चाहिन्छ । श्रम स्वीकृति लिएर विदेशमा काम गर्न गएकाले भने त्यस बाहेक अर्को एक फोन भन्सार महसुल नतिरी ल्याउन पाउने सुविधा छ । तर यसरी ल्याएको थप एक थान फोनको घोषणा भने भन्सार कार्यालयमा गर्नुपर्ने हुन्छ । त्यहाँबाट सोझै एमडीएमएसमा सोको जानकारी पुग्छ र आफैं दर्ता हुन्छ । तर यदि सरकारले जारी गरेको कोटा भन्दा बढी फोन साथमा ल्याएको खण्डमा भन्सार नाकामा तोकिएको भन्सार तिर्नुपर्ने हुन्छ । त्यसो गर्दा पनि फोन सोझै एमडीएमएसमा दर्ता हुन्छ ।​

विदेशबाट फर्किंदा नेपालबाट लिएर गएको बाहेक साथमा अर्को फोन ल्याउँदा भन्सार लाग्छ कि लाग्दैन ?

यदि तपाईंले एमडीएमएसमा दर्ता भइसकेको फोन साथमा लिएर विदेश जानु भयो भने फर्किने क्रममा त्यससँगै अर्को एक फोन ल्याउँदा उक्त फोन भन्सार महसुल नतिरी एमडीएमएसमा दर्ता गर्न सक्नु हुन्छ । 

उपहार तथा पार्सलमा आएको तर अध्यागमनको छाप, पासपोर्ट अथवा बोर्डिङ पास नभएका फोनहरू दर्ता गर्न सकिन्छ कि सकिंदैन ?

नेपालमा जसले ल्याएर आउँछ, उसले आफ्नो कोटाबाट निर्धारित भन्सार प्रक्रिया पूरा गरी दर्ता गर्न सक्छ ।  डीएचएल वा पार्सल गरेर पठाइएका फोनहरूको सवालमा पनि निश्चित भन्सार तिरेर ल्याउनु पर्ने हुन्छ । भन्सार तिरेको प्रमाण भए एमडीएमएसमा फोन दर्ता गर्न मिल्छ । 

 

१५ दिनभन्दा लामो समयका लागि नेपाल भ्रमणमा आउने विदेशी नागरिकहरूको हकमा के हुन्छ ?

विदेशी नागरिकले पनि सुरुको १५ दिन निर्बाध रूपमा नेपालमा आफ्नो फोन प्रयोग गर्न पाउँछन् । यदि त्यसभन्दा लामो समय नेपाल बस्नुपर्ने भएमा  त्यस्ता फोन चल्ने अवधि बढाउन सकिने व्यवस्था मिलाइएको छ । यस्तो अवस्थामा एमडीएमएसमा दर्ता नभएका कारण बन्द हुने एसएमएस आएको खण्डमा भिसाको फोटोसहित आफ्नो अवधि बढाइदिन एमडीएमएसको सिस्टममा अनलाइनबाट अनुरोध पठाउनु पर्ने हुन्छ । त्यस्तो अवस्थामा थप अवधिका लागि उनीहरूले आफ्नो फोन प्रयोग गर्न पाउँछन् । 

 

भारतबाट आउने फोनहरूको कसरी दर्ता गर्ने ?

नेपाल र भारत सीमा क्षेत्रमा विभिन्न भन्सार पोस्टहरू रहेका छन् । भारतबाट नेपाल भित्रिने नागरिकले ती पोस्टमा आफ्नो फोन दर्ता गर्न सक्छन् । निःशुल्क कोटाभित्रको फोन भए भन्सारले त्यसको छाप लगाइदिएको हुनुपर्छ । कोटाभन्दा बाहिर भए भन्सार तिरेको कागजको आधारमा एमडीएमएसमा दर्ता गर्न पाइन्छ । 

 

नेपालभित्रै किनेको फोन एमडीएमएसमा दर्ता नभए के गर्ने ?

प्रयोगकर्ताले यहाँ क्लिक गरेर आफ्नो फोन एमडीएमएसमा दर्ता भए नभएको हेर्न सक्छन् । यदि दर्ता रहेनछ र आफूसँग प्रमाणित भ्याट बिल छैन भने उक्त फोन कालो बजारीले बेचेको मानिन्छ । त्यस्तो अवस्थामा प्रहरीलाई वा प्राधिकरणलाई खबर गर्न सकिन्छ । त्यस आधारमा उक्त व्यापारीमाथि कानूनी कारबाही अगाडि बढ्छ । तर खरिद गर्ने व्यक्तिमाथि भने कुनै कारबाही हुँदैन । 

 

नयाँ मोबाइल खरिद गर्दा केके कुरामा ध्यान दिने ?

नेपाली बजारबाट नयाँ फोन खरिद गर्दै हुनुहुन्छ भने यहाँ क्लिक गरेर एमडीएमएसमा दर्ता भए/नभएको हेर्नुहोस् । ब्यापारीहरूले आधिकारिक रूपमा फोन आयात गर्दा बिक्री गर्नु अगावै एकमुस्ट रूपमा एमडीएमएसमा दर्ता गर्नुपर्ने हुन्छ । त्यसैले नेपाली बजार पसलमा भएका फोनहरू बिक्री अथवा प्रयोग हुनु अगावै एमडीएमएसमा दर्ता भएको हुनु पर्छ । 

फोन किन्दा त्यसको भ्याट बिल समेत माग्न नभुल्नुहोस् । यदि नेपालमै किनेको नयाँ फोन एमडीएमएसमा दर्ता भएको छैन भने प्रहरी वा प्राधिकरणमा उजुरी दिनुहोस् । 

नोटः यस सम्बन्धी थप प्रश्न र जिज्ञासा भएमा त्यसलाई यही सामग्रीमा अपडेट गरिनेछ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८० १५:२९