close

आविष्कार केन्द्रका लागि ल्याउन ठिक्क पारिएको विमान अमेरिकाबाट यसरी भयो चोरी

सञ्जीवन राई सञ्जीवन राई

माघ ७, २०८० १६:३२

आविष्कार केन्द्रका लागि ल्याउन ठिक्क पारिएको विमान अमेरिकाबाट यसरी भयो चोरी

काठमाडौं । “त्यो विमान तयार पार्न मैले वर्षौं बिताएको थिएँ । थुप्रै मेहनत गरेको थिएँ । तर चोरी भयो । केही मिनेटभित्रै वर्षौंको मेहेनत खेर गयो,” नेपाल ल्याउन ठिक्क पारिएको विमान अमेरिकामा चोरी भएपछि उक्त विमानका मालिक एवं प्रशिक्षक अनिश प्रधानले भनेको कुरा हो यो ।

आउँदो मार्चमा नेपाल ल्याउन ठिक्क पारिएको विमान चोरी भएपछि अमेरिकी पत्रकारहरूसँग कुरा गर्दै उनले यसो भनेका थिए । यो विमान नेपाल ल्याउनुको उद्देश्य पाइलट बन्न इच्छुकलाई तालिम दिनु थियो । यसका लागि महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई विमान उपहार दिने घोषणासमेत उनले गरेका थिए ।

तर नेपाल पठाउन कन्टेनरमा राखिसकेको विमान गत ३ जनवरीको साँझ चोरी भयो । अहिले चोरी भएको उक्त विमान जलेको अवस्थामा फेला परेको छ । 

कसरी भयो घटना ?

अमेरिका बस्दै आएका उडान प्रशिक्षक अनिश प्रधानले लस एन्जलसमा आफ्नो ‘प्रधान एयरक्राफ्ट वर्क्स’ चलाइरहेका छन् । प्रधानसँग यस क्षेत्रमा काम गरेको दुई दशकको अनुभव छ । उनै प्रधानले नेपालमा विमान बनाउने र विमान उडाउन सिकाउने विद्यालय स्थापना गर्न वर्षौंदेखि काम गर्दै आइरहेका थिए । 

चोरी भएको पाइपर पीए १५                     स्रोत: अनिश प्रधान

त्यसका लागि उनले ‘पाइपर पीए १५’ (piper PA 15) नामक विमान तयार गरेका थिए । जसलाई उनले लस एन्जलसको टोरेन्समा भएको आफ्नो भाइको गोदाममा राखेका थिए । दुई जना बसेर उडाउन मिल्ने १९४० ताकाको पुरानो विमानलाई उनी आफैंले मर्मत गरेका थिए । 

युट्युबर सुभास कार्कीसँगको कुराकानीमा उनले यो विमान पुरानो भए पनि काम गर्न योग्य भएको बताएका छन् । नेपालको डाँडाकाँडामा उडाउन योग्य रहेको र प्रशिक्षण गर्न सजिलो हुने उनले उल्लेख गरेका छन् ।

विमान चोरी हुनुअघि उक्त गोदाम रहेको क्षेत्रमा क्रिसमस तथा नयाँ वर्षको बिदाको समय थियो । गोदामका धेरैजसो कर्मचारीहरू छुट्टीमा बसेका थिए । चोरी गर्ने समूहले त्यसैको फाइदा उठाउँदै ३ जनवरीको राति ८ः१५ बजेतिर विमान लगेको प्रधानको भनाइ छ ।

उपलब्ध सीसीटीभी फुटेज हेर्दा सेतो रङको पिकअप भ्यानमा आएर कन्टेनर लगिएको देख्न सकिन्छ । तर गाडीको नम्बर प्लेट र व्यक्तिहरू भने अस्पष्ट देखिन्छ ।

“म ६ तारिखका दिन मात्र गोदाम आएको थिएँ । कन्टेनर नदेखेपछि सर्भेलियन्स क्यामेरा फुटेज हेरेँ । त्यसपछि मात्र विमान चोरी भएको थाहा भयो,” मिडियाहरूसँगको कुराकानीमा उनले भनेका छन्, “अनि सोही दिन मैले स्थानीय प्रहरीलाई उजुरी दिएका थिएँ ।”

चोरी गरिएकाे कन्टेनर र सेतो रङ्गको कार,   स्रोत: अनिश प्रधान

प्रधानका अनुसार कन्टेनरभित्र पङ्खा झिकेर एउटा विमान, चार ओटा इन्जिन र आवश्यक सामग्री थिए । जसको बजार मूल्य साढे दुई लाख अमेरिकी डलर बराबर थियो । ३४ फुट लम्बाइ भएको कन्टेनरको मूल्य २५-३० हजार डलरको भएकाले चोरी भएको प्रधानले लख काटेका छन् । 

चोरीपछि के भयो ?

विमान चोरीबारे प्रधानले प्रहरीमा जाहेरी दिएपछि सीएनबीसी, केटीएलए, फक्स ११, द इन्डिपेन्डेन्ट लगायतका अमेरिकी मिडियाले राम्रैसँग कभरेज गरे । यता प्रधान र उनको समूहले पनि विभिन्न स्थानहरूमा गएर कन्टेनरको खोजी गरिरहे ।

जमिन र आकाश दुवैबाट कन्टेनरको खोजी गरेको प्रधानले मिडियालाई बताएका छन् । तर प्रहरीबाट भने सक्रिय रूपमा खोजी कार्य नभएको गुनासो उनले गरेका छन् ।

अनिश प्रधान                 
 

चोरी भएको हप्ता दिनसम्म पनि विमानबारे केही पत्ता लागेको थिएन । अझ कसले चोरी गरेको छ भन्ने कुरा पनि अज्ञात नै थियो । त्यसकारण विमान चोरी गरेपछि विमान रहेको कन्टेनर ट्र्याक गर्न समस्या थियो ।

खोजी कार्य जारी रहेको अवस्थामा नै एक व्यक्तिले जलिसकेको कन्टेनरको फोटो उनलाई पठाइदिए । तत्कालै उनी त्यस ठाउँमा पुगे । त्यो कन्टेनर उही थियो, जो नेपाल आउने तयारीमा थियो ।

कन्टेनर क्यालीफोर्नियाको लङ बिचमा थियो । तर विमानसहित सबै भाग जलिसकेको थियो । तर घटना भएको १८ दिन बितिसक्दा पनि चोरी गर्ने व्यक्ति/समूहलाई प्रहरीले पक्रिन सकेको छैन । 

अब के हुन्छ ?

कन्टेनर भेटिए पनि विमान जलेर नष्ट भइसकेको थियो । प्रधानका लागि कन्टेनरभन्दा पनि विमान बढी महत्त्वपूर्ण थियो । अब पुन: चलाउनै नमिल्ने गरी भेटिएको विमानलाई चोरी गर्नेले टोरेन्सबाट क्यालिफोर्नियाको लङ बिच पुर्‍याएका थिए । 

चोरीपछि जलाइएको विमान   स्रोत: अनिश प्रधान

एक दशक लागिपरेर बनाएको विमान नष्ट भएपछि प्रधानले आफ्नो मस्तिष्कमा केही नआएको, तर आँखाबाट आँसु आएको मिडियालाई सुनाएका छन् । त्यस्तै केही लोभी व्यक्तिका कारण आफ्नो सपना तुहिँदा दु:ख लागेको जनाएका छन् ।

यद्यपि विमान पुन: बनाउन सकिने आशामा उनले ‘गो फन्ड मी’ (GoFundMe) मा सहयोग अभियान सुरु गरेका छन् । 

यता राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनले भने उपहारमा पाउने विमान चोरी भएको थाहा पाएको, तर प्रधानसँग कुराकानी हुन नसकेको बताएका छन् । पहिले कागजपत्र नमिलेर ल्याउन नपाइरहेको समयमा विमान चोरी हुनु दु:खद खबर रहेको उनले सुनाए ।

पछिल्लो अध्यावधिक: माघ ७, २०८० १६:३६