close

महोत्सवमा सविन राईको ब्यान्ड आउने भन्दै सामाजिक सञ्जालमा गलत प्रचार

टेकपाना टेकपाना

माघ २१, २०८० १५:३५

महोत्सवमा सविन राईको ब्यान्ड आउने भन्दै सामाजिक सञ्जालमा गलत प्रचार

काठमाडौं । आफूहरूलाई सोध्दै नसोधी कार्यक्रममा आउनेबारे सामाजिक सञ्जालमा प्रचार भएपछि साङ्गीतिक ब्यान्ड 'सविन राई एन्ड फेरो'ले आपत्ति जनाएको छ ।

फेसबुकमा एक पोस्ट लेख्दै उक्त ब्यान्डले दमक महोत्सव २०८० र चारआली सांस्कृतिक महोत्सव २०८० मा जाने कलाकारहरूको सूचीमा आयोजकले मनलाग्दो तरिकाले आफ्नो नाम राखेको भन्दै आपत्ति जनाएको हो ।

आयोजकहरूले कार्यक्रमको प्रचार गर्न फ्लायर तथा पोस्टरमा सोध्दै नसोधी आफ्नो नाम राखेको ब्यान्डको भनाइ छ । साथै ती कुनै पनि कार्यक्रममा ब्यान्ड जाने कुरा नभएको स्पष्ट पारेको छ । 

"कार्यक्रममा जाने निश्चित भएपछि मात्र कलाकारको नामसहितको प्रचारप्रसार गरिन्छ । तर गलत खबर फैलाउन र दर्शक श्रोतालाई झुक्याउन यी आयोजकले कुराकानी नगरी हाम्रो नाम राखेका छन्,” ब्यान्ड स्रोतले टेकपानासँग भन्यो, “कलाकारको अनुमतिबिना कार्यक्रमको प्रचार गर्दा हामीलाई पनि असर पर्छ । हाम्रो नाम लिएर जसले जे गर्न नि पाउने भए ।” 

आफूहरू सहित धेरै कलाकारको नाम बिकाएर ठगी हुनसक्ने भएकाले समयमै त्यसबारे सचेत गराएको ब्यान्डको भनाइ छ ।

यता दमक महोत्सवको आयोजक दमक उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने एक पटक कुरा भएपनि सविन राई आउने निश्चित नभएको बताए । ब्यान्ड आउने निश्चित नभएपछि प्रसार सामग्रीबाट सविन राईको फोटो हटाएको, तर कसरी त्यो खबर फैलियो भनेर आफूलाई थाहा नभएको उनले जनाए ।

पछिल्लो अध्यावधिक: माघ २१, २०८० १५:४५