close

एप्पल भिजन प्रो चलाएपछि जुकरबर्गले भने- योभन्दा फेसबुकको क्वेस्ट थ्री नै राम्रो

टेकपाना टेकपाना

फागुन ३, २०८० १२:८

एप्पल भिजन प्रो चलाएपछि जुकरबर्गले भने- योभन्दा फेसबुकको क्वेस्ट थ्री नै राम्रो

काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले एप्पलको भिजन प्रोभन्दा आफ्नै क्वेस्ट थ्री भीआर हेडसेट उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् । मङ्गलबार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडिओ पोस्ट गर्दै जुकरबर्गले एप्पल भिजन प्रोबारे आफ्नो धारणा राखेका हुन् । उनले इन्स्टाग्राममा राखेको उक्त भिडिओ क्वेस्ट थ्री हेडसेटबाटै खिचेको दाबी समेत गरेका छन् ।

“मैले हालै एप्पल भिजन प्रो प्रयोग गरेर हेरें,” उनले उक्त भिडिओमा भनेका छन्, “प्रयोग गर्नुअघि एप्पल भिजन प्रोको तुलनामा क्वेस्ट थ्री मूल्यका हिसाबले सस्तो छ भन्ने मेरो अपेक्षा थियो । तर, प्रयोग गरिसकेपछि क्वेस्ट थ्री मूल्य  मात्र नभई अन्य विशेषतामा पनि उत्कृष्ट छ भन्ने लागेको छ ।” 

हाल अमेरिकामा मात्र उपलब्ध भिजन प्रोको मूल्य तीन हजार ४९९ डलर (करिब चार लाख ६३ हजार रुपैयाँ) रहेको छ । तर क्वेस्ट थ्रीको मूल्य भने ४९९.९९ डलर (करिब ६६ हजार रुपैयाँ) मात्र छ । 

कम्पनीहरूले आफ्नै डिजाइन र विशेषता भएका मिक्स्ड रियालिटी हेडसेट बनाउने गरेका छन् । जुन प्रयोजनका लागि हेडसेट प्रयोग गरिन्छ, त्यसमा क्वेस्ट थ्री उत्कृष्ट रहेको उनको भनाइ छ । क्वेस्ट थ्रीको तौल ५१५ ग्राम छ भने भिजन प्रोको तौल ६०० देखि ६५० ग्रामसम्मको रहेको छ । 

टाउकोमा लामो समयसम्म सहजता पूर्वक प्रयोग गर्न तौल कम हुनुपर्ने जुकरबर्गको तर्क छ । त्यसैले भिजन प्रोको तुलानामा क्वेस्ट थ्रीको तौल झन्डै १२० ग्राम कम भएको उनले उल्लेख गरेका छन् । 

एप्पल भिजन प्रोको ब्याट्रीलाई हेडसेटमा तारमार्फत जोडिएको छ, त्यसले गर्दा प्रयोगकर्ताको अनुभव खल्लो हुने जुकरबर्गले उल्लेख गरेका छन् । 

त्यसैगरी क्वेस्टमा भएको ह्यान्ड कन्ट्रोलर (हातको सहायताले नियन्त्रण गर्न सकिने) र ह्यान्ड ट्रयाकिङ इनपुटको विकल्प पनि स्तरीय रहेको उनको दाबी छ । तर, भिजन प्रोमा भौतिक रूपमा बटनबाट कन्ट्रोल गर्ने भने सुविधा छैन । 

आफू भिजन प्रोको आई ट्रयाकिङ फिचर (आँखाको चालबाट डिभाइस कन्ट्रोल गर्न सकिने विशेषता) को प्रशंसक भएको भन्दै अब आउने क्वेस्ट प्रोमा पनि सो फिचर समावेश हुने उनको भनाइ छ । त्यस्तै कन्टेन्ट लाइब्रेरीको सन्दर्भमा पनि क्वेस्ट थ्री एप्पल भिजन प्रोभन्दा अगाडि भएको उनको दाबी छ । 

भिजन प्रोलाई जुकरबर्गले आकर्षक मनोरञ्जनात्मक उपकरणका रूपमा परिभाषित गरेका छन् । भिडिओको अन्तिममा जुकरबर्गले लामो समयदेखि भीआर हेडसेटमा काम गरिरहेको आफ्नो टिमलाई धन्यवाद दिएका छन् । 

एप्पलले भिजन प्रो हेडसेट सार्वजनिक रूपमा उपलब्ध गराउन थालेपछि त्यसमा रहेका विशेषताहरूको निकै चर्चा भइरहेको छ । त्यसैबीच उक्त हेडसेट लगाएर केहीले स्वचालित गाडी प्रयोग गरिरहेको र केही प्रयोगकर्ता बाटोमा प्रयोग गर्दै हिँडिरहेका भिडिओहरू इन्टरनेटमा आएका छन् ।

एआर तथा भीआर हेडसेटको जुन स्तरमा चर्चा भइरहेको छ, त्यसबाट मेटा र एप्पलबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । विशेषगरी हार्ववेयर, सफ्टवेयर तथा युजर एक्सपिरियन्समा जुन कम्पनीले अगाडि विकास गर्छ, भीआर हेडसेटको बजार त्यही कम्पनीले कब्जा गर्ने विश्लेषकहरूको अपेक्षा छ । 

मेटाले क्वेस्ट थ्रीलाई कम्प्युटिङ डिभाइसभन्दा पनि हेडसेटका रूपमा बढी चर्चा गरेको छ । विशेषगरी त्यसैबाट गेम खेल्न सकिने, भर्चुअल रियालिटीको अनुभव लिन सकिने कम्पनीको भनाइ छ । तर, एप्पल भने भिजन प्रोलाई हेडसेटका रूपमा नभई विशेष प्रकारको कम्प्युटरको रूपमा परिभाषित गरेको छ । 

यसमा पछिल्लो समय एप्पलले बजारमा ल्याएको शक्तिशाली एम टु चिपसेट प्रयोग गरिएको छ । त्यस्तै १२ मिलिसेकेन्ड फोटोन टु फोटोन लेटेन्सी र प्रति सेकेन्ड २५६ जीबी मेमोरी ब्यान्डविथ भएको आर वान चिप समावेश छ । त्यस्तै यसमा हाई-रेजोलुसन भएका दुई ओटा मुख्य क्यामेरा छन् ।

साथै वर्ल्ड फेसिङ ट्रयाकिङ क्यामेरा, चार ओटा आई ट्रयाकिङ क्यामेरा, ट्रु डेफ्थ क्यामेरा, लिडार सेन्सर, चार ओटा इनर्सियल मिजरमेन्ट युनिट, फ्लिकर सेन्सर र एम्बियन्ट लाइट सेन्सर पनि यसमा जडान गरिएका छन् ।

आँखाको रेटिना ट्रयाक गरेर लक अनलक हुने आइरिसमा आधारित बायोमेट्रिक अथेन्टिकेसन, अप्टिक आईडी जस्ता सुविधा यसमा दिइएका छन् । यसलाई हातको सङ्केत, आँखा र आवाजबाट कन्ट्रोल गर्न सकिन्छ । त्यस्तै यसमा किबोर्ड, ट्रयाकप्याड र गेम कन्ट्रोलरहरू पनि कनेक्ट गर्न सकिन्छ । 

२५ ओटाभन्दा बढी बिल्टइन एप रहेको एप्पल भिजन प्रोलाई सपोर्ट गर्ने अन्य कतिपय कम्पनीले समेत विकास गर्ने काम अगाडि बढाएका छन् ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०८० १३:२२