close

एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति

टेकपाना टेकपाना

फागुन २२, २०८० १५:४६

एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति

काठमाडौं । एलन मस्कले नौ महिनापछि विश्वको सबैभन्दा धनाढ्य व्यक्तिको ताज गुमाएका छन् । सोमबार टेस्लाको शेयरमा भारी गिरावट आएर मस्कको सम्पत्ति घट्दा उनलाई पछि पारेर जेफ बेजोस धनाढ्य व्यक्ति बनेका हुन् ।

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार सोमबार टेस्ला इन्कको शेयर ७.२ प्रतिशतले झरेको थियो । टेस्लाको शेयर घट्दा मस्कको सम्पत्ति एकैदिन १७.६ अर्ब डलरले घटी १९८ अर्ब डलर पुगेको छ । जबकि अमेजनका संस्थापक बेजोसको सम्पत्ति २०० अर्ब डलर रहेको छ ।

यसअघि सन् २०२१ मा बेजोस संसारको सबैभन्दा धनाढ्य व्यक्ति बनेका थिए । कुनै समय मस्कको सम्पत्ति बेजोसको भन्दा १४२ अर्बले बढी थियो । पछिल्लो समय अमेजनको शेयर बढ्दै गइरहेकाे छ भने टेस्लाको शेयर घटिरहेकाे छ ।

कोभिड महामारी फैलिएदेखि अनलाइन शपिङको अवधारणा बढ्दै गएपछि अमेजनको शेयर तीव्र गतिमा बढेको थियो । 

मस्कलाई विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिका रूपमा स्थापित गर्न कम्पनीको बोर्डले सन् २०२१ मा उनलाई दिएको ५५ अर्ब तलब सुविधाको भूमिका महत्त्वपूर्ण थियो । मस्कलाई उक्त तलब सुविधा दिनु अस्वाभाविक भएको भन्दै कम्पनीका एक सदस्यले केही समयअघि मुद्दा दायर गरेका थिए । 

ब्लुमबर्गले भने मस्कका यी सबै सम्पत्तिलाई आधार बनाएको छ । यता जेफ बेजोससँग अमेजनको नौ प्रतिशत स्टक छ । बेजोस उक्त प्लेटफर्मका सबैभन्दा ठूला शेयरहोल्डर हुन् । उनीसँग ८.५ अर्ब बराबरको पाँच करोड शेयर रहेको छ ।

त्यसअघि सन् २०१७ मा माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै जेफ बेजोस संसारको सबैभन्दा धनी व्यक्ति बनेका थिए । 

ब्लुमबर्गका अनुसार लुइ भितनका अध्यक्ष बर्नार्ड अर्नल्ट भने १९७.५ अर्ब डलर सम्पत्तिका साथ धनाढ्यको शीर्ष तेस्रो स्थानमा छन् ।

पछिल्लो अध्यावधिक: फागुन २२, २०८० १८:५३