close

५ महिनापछि ओपनएआईको बोर्डमा फर्किए साम अल्टम्यान

टेकपाना टेकपाना

फागुन २६, २०८० १४:७

५ महिनापछि ओपनएआईको बोर्डमा फर्किए साम अल्टम्यान

काठमाडौं । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यान पाँच महिनापछि ​ओपनएआईको बोर्ड अफ डिरेक्टरमा पुन: जोडिएका छन् । गत सेप्टेम्बरमा भएको एक घटनामाथि अमेरिकी कानूनी संस्था विल्मरहेलले आन्तरिक अनुसन्धान सकेसँगै बोर्डमा अल्टम्यान फिर्ता भएका हुन् ।

त्यसबेला ओपनएआई चलाउनसक्ने थप क्षमता नभएको तथा बोर्डसँग इमान्दार नभएको कारण देखाउँदै कम्पनीको तत्कालीन बोर्ड बैठकले सीईओबाट उनलाई बर्खास्त गरेको थियो । याे घटनाले एआई क्षेत्रमा एक प्रकारको तरङ्ग उत्पन्न गरेको थियो । साथै त्यसपछिका केही दिन ओपनएआई अस्तव्यस्त समेत भएको थियो ।

अल्टम्यान बर्खास्तीमा परेपछि ओपनएआईकै प्रमुख प्रविधि अधिकृत (सीटीओ) मिरा मुराती कार्यवाहक सीईओमा नियुक्त भएका थिए । त्यहीबीच ओपनएआईको बोर्डले अमेजनको स्वामित्वमा रहेको भिडिओ स्ट्रिमिङ साइट ट्विचका सह-संस्थापक एमेट शियर सीईओमा नियुक्त गर्‍याे । 

तर कम्पनीका अधिकांश कर्मचारी अल्टम्यानको पक्षमा थिए । उनीहरूले अल्टम्यानलाई सीईओको रुपमा फिर्ता नल्याए सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए । बर्खास्तीमा परेको १२ दिनपछि अल्टम्यान पुन: सीईओका रूपमा पुनर्बहाली भए ।

शुक्रबार बसेको ओपनएआईको बोर्ड बैठकले अल्टम्यानलाई बोर्डमा फिर्ता ल्याउनुका साथै थप तीन जना सदस्य थप्ने निर्णय गरेकाे छ । जसमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका पूर्वसीईओ सु डेसमन्ड हेलम्यान, सोनी इन्टरटेनमेन्टका पूर्वअध्यक्ष निकोल सेलिगम्यान र इन्स्टाकार्टका सीईओ फिड्जी सिमो रहेका छन् । यससँगै ओपनएआईको बोर्ड सदस्य आठ पुगेको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन २६, २०८० १४:२३