close

पार्टीमा सर्पको विष प्रयोग गरेको आरोपमा बिगबोस ओटीटी बिजेता युट्युबर एल्विश यादव पक्राउ

टेकपाना टेकपाना

चैत ५, २०८० १५:४५

पार्टीमा सर्पको विष प्रयोग गरेको आरोपमा बिगबोस ओटीटी बिजेता युट्युबर एल्विश यादव पक्राउ

काठमाडौं । विभिन्न सामाजिक सञ्जालमा करौडौं फलोअर भएका भारतीय युट्युबर तथा बिगबोस ओटीटी विजेता एल्विश यादवलाई प्रहरीले आइतर पक्राउ गरेको छ । गत वर्ष रेभ पार्टीहरूमा सर्पको विष प्रयोग गरेको मुद्दामा नोएडा प्रहरीले यादवलाई पक्राउ गरेको हो । 

यादवलाई अहिले १४ दिनको न्यायिक हिरासतमा राखिएको छ । नोएडा प्रहरीले वन्यजन्तु ऐन १९७२ अन्तर्गत मुद्दा दर्ता गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसबाहेक भिडियोका लागि सर्प प्रयोग गरेको आरोप समेत उनीमाथि लागेको छ । यादवको युट्युब च्यानलमा सर्पसम्बन्धी केही भिडिओ समेत भेटिन्छन् ।

यादवका तिनै भिडियो हेरेपछि बीजेपी नेता मेनका गान्धीको नेतृत्वमा रहेको पशु अधिकार समूह - पीएफए ​​(पिपुल फर एनिमल्स) ले आफ्नो परिचय लुकाएर गत वर्ष उनलाई सर्प र तिनको विष उपलब्ध गराउन आग्रह गरेको थियो । २६ वर्षीय उनले पीएफएका अधिकारीहरूलाई सेक्टर ५१ नामक बैंक्वेट आउन आग्रह गरेर राहुल भन्ने युवकको फोन नम्बर दिए । 

पीएफए ​​टोली त्यहाँ पुग्दा सर्प राख्ने चार जना व्यक्ति, पाँच ओटा कोब्रा, तिनको २० मिलिलिटर विष र थप अन्य नौ ओटा सर्प फेला पारे । त्यसपछि पीएफएले तत्कालै नोएडा प्रहरी र वन विभागको टोलीलाई बोलायो । यसरी गत ३ नोभेम्बरमा यादवसँग सम्बन्धित अन्य व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

उक्त घटनापछि प्रहरीले सोधपुछ गर्दा यादवले आफ्नो संलग्नता नरहेको बताउँदै आएका थिए । मेनका गान्धीले भने यादवले अवैध रूपमा सर्पको विष बेचेको आरोप लगाउँदै उनलाई तत्काल पक्राउ गर्न माग राख्दै आएकी थिइन् ।

यसैबिच आइतबार दिउँसो सोधपुछका लागि यादवलाई प्रहरीले बोलाएको थियो । सोधपुछका क्रममा सूचना लुकाएको पाएपछि थप अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो । 

सिद्धार्थ यादवको नामले समेत चिनिने एल्विश सन् २०१७ देखि कमेडी, रोस्टिङ, भ्लग, गेमिङ लगायतका युट्युब भिडिओ बनाउँदै आएका छन् । उनी गत वर्ष मात्रै बिग बोस ओटीटीको विजेता भएका हुन् ।

 

पछिल्लो अध्यावधिक: चैत ५, २०८० १५:४५