close

यी सामसङ फोनमा भोलिदेखि आउँदै छ ग्यालेक्सी एआई फिचर

टेकपाना टेकपाना

चैत १४, २०८० १५:४९

यी सामसङ फोनमा भोलिदेखि आउँदै छ ग्यालेक्सी एआई फिचर

काठमाडौं । सामसङले भोलि अर्थात् २८ मार्चदेखि ग्यालेक्सी एआई फिचर अन्य फोनमा समेत उपलब्ध गराउने भएको छ । ग्यालेक्सी एस २४ सिरिजमा पहिलो पटक सार्वजनिक भएको यस फिचरलाई सामसङले अन्य फोनमा समेत उपलब्ध गराउन लागेको हो । 

सामसङले यस कदमबारे गत फेब्रुअरीमै घोषणा गरेको थियो । जसअनुसार वन यूआई ६.१ अपडेट उपलब्ध गराएर सामसङले ग्यालेक्सी एआई फिचर दिनेछ ।

ग्यालेक्सी एआई भनेको सामसङको नयाँ एआई सिस्टम हो । कम्पनीले सन् २०२४ भित्र १० करोड बढी ग्यालेक्सी प्रयोगकर्तालाई यसको अनुभव दिलाउने याेजना ल्याएकाे छ ।

के छन् नयाँ फिचरहरू ? 

सामसङले ग्यालेक्सी एआई अन्तर्गत विभिन्न फिचरहरू ल्याएको छ । त्यसमा केके फिचर छन् भन्ने विषयमा तल चर्चा गरिएको छ: 

-फोटोग्राफी र भिडिओ 

कम्पनीका अनुसार ग्यालेक्सी एआईले फोनबाट खिचेको फोटो र भिडिओलाई थप स्तरीय बनाउनेछ । विशेषगरी फोनमा समावेश गरिएको प्रो भिजुअल इन्जिनले एआईसँग सहकार्य गरेर फोटो खिच्दा वा खिचिसकेका फोटो एडिट गर्दा क्वालिटी बढाउन सहयोग गर्नेछ ।

ग्यालेक्सी एआईले नै लो लाइटमा खिचेका भिडिओ र फोटोलाई पनि उपयुक्त लाइट राखेर आकर्षक बनाइदिन्छ । डिजिटल जुम गर्दा फोटोमा न्वाइज बढी आउन सक्छ । त्यसमा पनि एआईले न्वाइज घटाइदिन्छ ।

त्यस्तै एआईले स्लो मोसन बनाउन भिडिओमा आवश्यक फ्रेम आफैं थपिदिनेछ । अर्थात् तपाईंले १२० फ्रेम प्रति सेकेन्ड खिचेको भिडिओलाई पनि एआईले २४०, ४८० वा ९६० फ्रेम प्रति सेकेन्डको बनाउन सक्छ । यसले गर्दा स्लो मोसन भिडिओ थप स्तरीय देखिन्छ ।

कम्पनीका अनुसार ग्यालरी एपले स्वतः जेनेरेटिभ एडिट प्रयोग गरी वाटरमार्क राखिदिनेछ । 

- ल्याङ्ग्वेज, भ्वाइस र अन्य फिचरहरू 

ग्यालेक्सी एआईमा भाषामा आधारित थुप्रै फिचरहरू दिइएको छ । त्यसमध्ये विशेष फिचरहरूको चर्चा तल गरिएको छ: 

-लाइभ ट्रान्सलेट 

सामसङको बिल्ट-इन्ट डायलर एपले वास्तविक समयमै फोन कललाई प्रयोगकर्ताले चाहेको भाषामा अनुवाद गरिदिन्छ । यो फिचरले एआई प्रयोग गरी आवाजलाई टेक्स्टमा उतारेर त्यसलाई पढेर सुनाउँछ । 

- इन्टरप्रेटर 

हुन त अहिले इन्टरप्रेटरको सुविधा दिने केही एप बजारमा आइसकेका छन् । इन्टरप्रेटर भनेको अर्को व्यक्तिले बोलेको कुरा तपाईंले बुझ्ने भाषामा बुझाइदिने र तपाईंले बोलेको भाषा अर्को व्यक्तिलाई बुझाइदिने भन्ने बुझिन्छ ।

एआईद्वारा सञ्चालित इन्टरप्रेटरले प्रयोगकर्तालाई भाषा अनुवादकको काम गरिदिनेछ । यसका लागि भने नेटवर्क नभए पनि हुने भनिएको छ ।

-च्याट असिस्ट 

ग्यालेक्सी एआई समावेश भएको सामसङको किबोर्डले च्याट असिस्टको काम गर्नेछ । यसले वास्तविक समयमा टेक्स्ट अनुवाद गरिदिनुका साथै प्रयोगकर्ताको कुरा गर्ने शैलीलाई विश्लेषण गरेर त्यही अनुसारको जवाफ सुझाव दिन्छ ।

तपाईंले यो फिचर प्रयोग गरी व्यवसायिक, क्याजुअल, नम्र वा रोमाञ्चक शैलीले कुरा गर्न सक्नुहुन्छ । 

-नोट असिस्ट 

ग्यालेक्सी एआईले वेबसाइट र डकुमेन्टको सारांश दिनेछ । नोट असिस्ट फिचरले प्रयोगकर्ताले नोटमा राखेका कुरालाई आकर्षक डिजाइमनमा मिलाउन सघाउँछ । 

-ट्रान्सक्रिप्ट असिस्ट 

ग्यालेक्सी एआईकाे सहायताले सामसङ रेकर्डर एपमा ट्रान्सक्रिप्ट असिस्ट फिचर समावेश गरिएको छ । यसको सहायताले एपमा रेकर्ड गरिएका कुरालाई टेक्स्टमा उतार्न सकिन्छ ।

त्यति मात्र नभइ वास्तविक समयमा कुन व्यक्तिले के कुरा गरेको छ, र बैठकमा के निष्कर्ष निस्कियो भन्ने कुराको जानकारी दिनेछ । 

-एन्ड्रोइड अटो 

ग्यालेक्सी एआईको प्रयोग भएको अर्को फिचर हो, एन्ड्रोइड अटो । यसको सहायताले कारमा फोन कनेक्ट गरेको अवस्थामा ग्रुप मेसेजको सारांश इन्फोटेन्मेन्ट डिस्प्लेमा देखिनेछ ।

त्यस्तै यसमा अटो मेसेज रिप्लाई, अटो नेभिगेसन जस्ता सुविधा पनि दिइएको छ । 

-सर्कल टु सर्च 

ग्यालेक्सी एआईमा उपलब्ध भएको अर्को फिचर हो, सर्कल टु सर्च । यसका लागि सामसङले गुगलसँग सहकार्य गरेको छ ।

यससँगै सामसङ प्रयोगकर्ताले फोटोमा गोलो घेरा लगाए त्यही गुगल लेन्स खुल्छ र सम्पूर्ण जानकारी फिडमा देखिन्छ ।

कुन फोनले पाउनेछन् नयाँ अपडेट ?

यसअघि सामसङले ग्यालेक्सी एस२३ सिरिज, एस२३ एफई, जेड फोल्ड फाइभ र जेड फ्लिप फाइभ सिरिजहरूमा ग्यालेक्सी एआई उपलब्ध गराउने बताएको थियो ।

अहिले यो सूचीमा ट्याब्लेट सहित केही नयाँ मोडल थपिएका छन् । अपडेट आएपछि त्यसको सूचना प्रयोगकर्ताले फोनमै पाउने बताइएकाे छ ।

सामसङका अनुसार यी फोनले ग्यालेक्सी एआई फिचर पाउनेछन्: 

-ग्यालेक्सी एस २३ 

-ग्यालेक्सी एस २३ प्लस

-ग्यालेक्सी एस २३ अल्ट्रा

-ग्यालेक्सी एस २३ एफई

-ग्यालेक्सी जेड फोल्ड फाइभ

-ग्यालेक्सी जेड फ्लिप फाइभ

-ग्यालेक्सी ट्याब एस नाइन

-ग्यालेक्सी ट्याब एस नाइन प्लस

-ग्यालेक्सी ट्याब एस नाइन अल्ट्रा​

पछिल्लो अध्यावधिक: चैत १४, २०८० १६:७