close

घरमा धेरै पाहुना आउँदा मोबाइलबाटै वर्ल्डलिङ्कको इन्टरनेट स्पिड दोब्बर पार्न मिल्ने

टेकपाना टेकपाना

चैत २६, २०८० १३:४२

घरमा धेरै पाहुना आउँदा मोबाइलबाटै वर्ल्डलिङ्कको इन्टरनेट स्पिड दोब्बर पार्न मिल्ने

काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले मेगा बुस्ट नामक नयाँ फिचर सार्वजनिक गरेको छ । घरमा प्रयोगकर्ता बढी हुँदा इन्टरनेट स्लो हुने समस्या समाधान गर्न कम्पनीले यस्तो फिचर ल्याएको हो ।

कम्पनीका अनुसार १२० एमबीपीएस सम्मका प्याकेजहरूमा यो सुविधा उपलब्ध रहेको छ । स्पिड डबल पार्नका लागि ५० रुपैयाँदेखि माथिका प्याकेजहरू उपलब्ध गराइएको छ ।

यसका लागि माई वर्ल्डलिङ्क एपमा गएर र त्यहाँ रहेको मेगा बुस्ट फिचरबाट आफ्नो घरमा रहेको इन्टरनेट प्याकेजको स्पिड बढाउन सकिने जनाइएको छ । कम्पनीका अनुसार मेगा बुस्टबाट २० वा २५ एमबीपीएस गतिको इन्टरनेटमा १०० एमबीपीएस, ६० वा ८० एमबीपीएस गतिको प्याकेजमा १५० एमबीपीएस र १०० वा १२० एमबीपीएसको प्याकेजमा २०० एमबीपीएसको इन्टरनेट स्पिड पाउन सकिनेछ ।

वर्ल्डलिङ्कको एपबाट नै लिन सकिने यो सुविधाको भुक्तानी पनि सोही एपबाट गर्न सकिन्छ । ५० रुपैयाँमा तीन दिन, ८० रुपैयाँमा पाँच दिन र १५० रुपैयाँसम्म १० दिनका लागि इन्टरनेट स्पिड दोब्बर बनाउन मिल्ने कम्पनीले जनाएको छ ।

हालका लागि १२० एमबीपीएस भन्दा माथिका प्याकेजमा भने यो सुविधा उपलब्ध छैन । त्यस्तै उपलब्ध भएका प्याकेजहरूमा पनि १० दिनभन्दा बढी समयका लागि भने इन्टरनेट स्पिड दोब्बर पार्न नमिल्ने बताइएको छ । 

 

पछिल्लो अध्यावधिक: चैत २६, २०८० १३:४२