close

साझाले सञ्चालनमा ल्यायो एकै पटक २२ ओटा बस चार्ज गर्न सकिने चार्जिङ स्टेसन

टेकपाना टेकपाना

चैत २७, २०८० १६:१२

साझाले सञ्चालनमा ल्यायो एकै पटक २२ ओटा बस चार्ज गर्न सकिने चार्जिङ स्टेसन

काठमाडौं । साझा यातायातले १.१ मेगावाट (११०० किलोवाट) क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । मङ्गलवार ललितपुरमा एक कार्यक्रम गर्दै साझा यातायातले पुल्चोकमा रहेको नेपालकै सबैभन्दा बढी क्षमताको चार्जिङ स्टेसन उद्घाटन गरेको हो ।

सन् २०२५ सम्म डिजेल गाडी विस्थापित गरी बिजुली गाडी प्रयोग गर्ने लक्ष्य स्वरूप साझाले गत कात्तिकमा एकैपटक चीनबाट ४० ओटा बिजुली बस नेपाल ल्याएको थियो । तर पर्याप्त चार्जिङ स्टेसनको अभाव हुँदा ती सम्पूर्ण बस सञ्चालनमा आउन सकेका थिएनन् । सो चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै उपत्यकामा साझाका ४० ओटा बिजुली बस पूर्ण रूपमा सञ्चालनमा आउने बताइएको छ । 

ती बस उपत्यकाका विभिन्न रुटमा सञ्चालन हुने छन् । बस ८.५ मिटर लम्बाइ, फ्रन्ट र ब्याक एयर सस्पेन्सन लिथियम आइरन फस्फेट ब्याट्री (१६१ किलोवाट आवर), भार बोक्ने क्षमता ४७०० किलोग्राम, २४ सिट र उठ्ने बस्ने गरी ५० यात्रु क्षमता, लो फ्लोर, अपाङ्गमैत्री छन् ।

सो चार्जिङ स्टेसन साझा यातायातको आफ्नै कार्यालयको प्राङ्गणमा निर्माण गरिएको हो । साझाका अनुसार उक्त डिपोमा ११ ओटा चार्जिङ स्टेसन र २२ ओटा पोर्ट छन् । ति पोर्टबाट एकैपटक २२ ओटा बस चार्ज गर्न सकिने छ । 

यसका साथै वित्तीय संस्थासँगको सहकार्यमा 'यात्रा कार्ड' पुन प्रयोगमा ल्याउने पनि साझाले जनाएको छ । त्यस्तै १२ मिटरका थप बिजुली बस पनि अन्तर्राष्ट्रिय बोलपत्रद्वारा खरिद गर्ने प्रक्रिया पनि अघि बढाएको छ ।

पछिल्लो अध्यावधिक: चैत २७, २०८० १८:३१