काठमाडौं । हालै सकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीलाई लक्षित गर्दै ओपन लर्निङ फाउन्डेसनले नयाँ ईलर्निङ प्लेटफर्म सञ्चालनमा ल्याएको छ । परीक्षापछि घरमा बसेर ब्रिज कोर्सको तयारीमा लाग्ने विद्यार्थीका लागि ‘नेपाल एडु’ (nepaledu) नामक प्लेटफर्म सञ्चालनमा ल्याइएको हो ।
नेपालमा शिक्षाको पहुँच बढाउने उद्देश्यले ई-लर्निङ क्षेत्रमा कार्यरत ओपन लर्निङ फाउन्डेसनले सञ्चालनमा ल्याएको प्लेटफर्ममा विभिन्न संकायका विषयका कोर्स छन्, जुन सबै विद्यार्थीका लागि निःशुल्क छ ।
विद्यालय तहको १ कक्षादेखि लोकसेवा तयारीसम्मका विषयहरू अध्ययन गर्न सकिने यो एपमा ब्रिज कोर्सका विषयहरू भने हालसालै उपलब्ध गराइएको हो ।
ओपन लर्निङ फाउन्डेसनका सञ्चालक बिन्दुराज तिमिल्सिनाका अनुसार एपमा सात संकायका ३७ ओटा कोर्स राखिएका छन् । विज्ञान र व्यवस्थापन बाहेक यसमा हेल्थ असिस्टेन्ट, फार्मेसी, इन्जिनियरिङ, डेन्टल साइन्स, पीसीएल नर्सिङ आदि संकायका विषयहरूका ब्रिज कोर्स यसमा उपलब्ध गराइएको छ ।
यी सबै कोर्स रेकर्डेड कक्षाहरू हुन् । यद्यपि ब्रिज कोर्सका कक्षा सञ्चालनमा नरहेका ठाउँका विद्यार्थीहरूलाई सहज हुने विश्वास गरिएको छ ।
एपको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् । त्यस्तै एन्ड्रोइडमा एप डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।