close

ओपनएआईको जीपीटी- फोर टर्बो, शब्दकै आधारमा आकर्षक वेबसाइट बनाइदिने

टेकपाना टेकपाना

चैत २८, २०८० १६:३७

ओपनएआईको जीपीटी- फोर टर्बो, शब्दकै आधारमा आकर्षक वेबसाइट बनाइदिने

काठमाडौं । ओपनएआईले आफ्नो जीपीटी मोडेल ४ (जीपीटी- फोर)को सुधारिएको भर्सन सार्वजनिक गरेको छ । कम्पनीले च्याटजीपीटी प्लस सब्सक्राइबरका लागि जीपीटी- फोर टर्बोको एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) उपलब्ध गराएको हो ।

जीपीटी फोर टर्बो ओपनएआईको पछिल्लो जेनेरेटिभ एआई मोडेल हो । यसलाई डिसेम्बर २०२३ सम्मका डेटामा तालिम दिइएको छ । सोहीकारण पहिलेका मोडेलभन्दा यो धेरै शक्तिशाली छ ।

कम्पनीका अनुसार यसले दिइएको चित्र बुझ्न सक्ने र सोका आधारमा अर्थपूर्ण नतिजा दिन सक्ने छ, अर्थात् जेसन (JSON) मोडबाट भिजन प्रोसेसिङ गर्न सक्छ । 

यस मोडेलले प्रम्प्टका आधारमै उत्कृ्ष्ट वेबसाइट तयार पार्नसक्ने ओपनएआईको दाबी छ । साथै खानेकुराको पहिचान गर्न पनि यसको क्षमतामा निकै सुधार गरिएको बताइएको छ । अब जीपीटी- फोर टर्बोको एपीआईमा पहुँच भएका डेभलपरहरूले आफ्नो एप तथा सर्भिसमा त्यसलाई एकीकृत गर्न सक्नेछन् ।

तर यसका लागि च्याटजीपीटी प्लस सब्सक्रिप्सन भने लिएको हुनु पर्छ । जसको शुल्क मासिक २० डलर रहेको छ । त्यस्तै प्रयोगकर्ताले जीपीटी-फोर टर्बो माइक्रोसफ्टको कोपाइलटमा क्रियटिभ अथवा प्रिसाइज मोड अन गरेर समेत चलाउन सक्नेछन् । 

यसका साथै ओपनएआईले च्याटजीपीटीको फ्रि भर्सनको पहुँच पनि सहज बनाएको छ । अब इन्टरनेट जोडिएको अवस्थामा च्याटजीपीटीको फ्रि भर्सन अकाउन्ट नखोलिकनै चलाउन सकिने छ । यद्यपि त्यस मोडेल जीपीटी- ३.५ मोडेलमा आधारित छ ।

पछिल्लो अध्यावधिक: चैत २८, २०८० १७:४५