close

एचबीओले किन्यो युरोपेली १५ देशका लागि नेपाली फिल्म ‘द रेड सुटकेस’को ओटीटी राइट्स

टेकपाना टेकपाना

चैत २९, २०८० २०:५८

एचबीओले किन्यो युरोपेली १५ देशका लागि नेपाली फिल्म ‘द रेड सुटकेस’को ओटीटी राइट्स

 

काठमाडौं । युरोपमा ओटीटी मार्फत नेपाली चलचित्र ‘द रेड सुटकेस’ प्रदर्शन गर्ने अधिकार एचबीओले खरिद गरेको छ । अन्तर्राष्ट्रिय फिल्म वितरक ‘रिजन एट फिल्म्स’का अनुसार उक्त कम्पनीले युरोपका १५ देशमा ओटीटीमार्फत फिल्म प्रदर्शन गर्ने अधिकार खरिद गरेको हो ।

हलिउड म्यागजिन भेराइटीले एक रिपोर्ट सार्वजनिक गर्दै एचबीओले युरोपका लागि ओटीटी र 'सुरया फिलेम'ले मलेसिया तथा ब्रुनाइका हलमा प्रदर्शन गर्ने अधिकार खरिद गरेको जनाएको छ । 

एचबीओले ओटीटी राइट्स अधिग्रहण गरेसँगै फिल्मले आर्थिक परिदृश्यमा राम्रै साथ दिने कुरामा ‘द रेट सुटकेस’ टिम विश्वस्त छ । फिल्मका निर्माता रामकृष्ण पोखरेलले सञ्चार माध्यमसँग कुरा गर्दै भने, “एचबीओले हाम्रो लगानी सुरक्षित गर्दै राम्रो मूल्यमा चलचित्र प्रदर्शन गर्ने अधिकार खरिद गरेको छ ।”

३० चैतदेखि नेपाली हलहरूमा प्रदर्शनमा आउन लागेको यो चलचित्र गत सेप्टेम्बरमा ८० औं भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । त्यस क्रममा यो फिल्मले राम्रै चर्चा बटुलेको थियो । त्यस बाहेक फिल्मले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पनि प्राप्त गरेको छ ।

देशको अध्यागमनमा हुने समस्याको कथावस्तुमा आधारित चलचित्रमा सौगात मल्ल, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ र विपिन कार्कीको मुख्य भूमिका रहेको छ । आइसफल प्रोडक्सनको लागि शोभा थापाले निर्माण गरेको यो फिल्मको छायाङ्कन सुसन प्रजापतिले गरेका हुन् । फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका छन् ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८० २१:२