close

किन्ने भन्दै स्क्रिन शेयर गर्न लगाएर ह्याक हुँदैछन् फेसबुक पेज, इन्स्टाग्राम र टिकटक अकाउन्ट

राजेन्द्र अर्याल

चैत ३०, २०८० २०:५६

किन्ने भन्दै स्क्रिन शेयर गर्न लगाएर ह्याक हुँदैछन् फेसबुक पेज, इन्स्टाग्राम र टिकटक अकाउन्ट

एक जना राम्रो फलोअर भएका टिकटकर हुनुहुन्छ । उहाँलाई म्युजिक क्षेत्रमा लागेका अधिकांशले चिन्छन् । खासमा उहाँसँग यस्तो टिकटक अकाउन्ट छ, जसले कलाकारको म्युजिक भिडिओ हिट गराउन मद्दत गर्छ । 

लाखौं फलोअर रहेको उहाँको अकाउन्टमा अधिकांश फलोअर म्युजिक मन पराउनेहरू छन् । त्यसैले सो अकाउन्टमा जोडिएकाहरूलाई उक्त अकाउन्टबाट नयाँनयाँ गीतहरू सुन्न पाइन्छ भन्ने अपेक्षा हुन्छ । टिकटकमा छोटा क्लिप राखिएको हुनाले त्यसको पूरा भिडिओ हेर्न अडियन्स युट्युबमा जान्छन् । यसरी टिकटकमा राखेको म्युजिकबाट पनि कलाकारलाई रोयल्टी आउँछ । त्यस्तै अडियन्स युट्युबमा पुगेर उक्त म्युजिक भिडिओ हेर्दा राम्रै आम्दानी पनि हुन्छ । यसरी फाइदा हुने भएपछि कलाकारहरू उक्त टिकटक अकाउन्टका सञ्चालकलाई भिडियो बन्ने बित्तिकै पोस्ट गरिदिन अनुरोध गर्थे । 

केही समयअघि उहाँको टिकटक अकाउन्टमा एक व्यक्तिबाट मेसेज आयो । उक्त मेसेजमा सो व्यक्तिले आफू अस्ट्रेलियामा बस्ने र टिकटक मोनिटाइज गरेर आम्दानी गर्ने भन्दै टिकटक खरिद गर्ने प्रश्ताव थियो । अस्ट्रेलियामा बस्ने नेपाली भनेपछि सो अकाउन्ट सञ्चालन गर्ने व्यक्तिलाई पनि उनको कुरा जायज लाग्यो । उताबाट टिकटक किन्ने भनेको व्यक्तिले अकाउन्ट कुन नम्बर र ईमेलमा छ भनेर सोध्यो । अकाउन्टमा परिवर्तन गर्न मिल्ने वा नमिल्ने के रहेछ हेरौं, मिल्ने रहेछ भने राम्रो पैसा पठाउँछु भनेपछि त्यो व्यक्तिले कल गरेर स्क्रिन शेयर गर्न अनुरोध गर्‍यो । उक्त व्यक्तिलाई विश्वास गरेर उहाँले मेसेन्जर कलमार्फत स्क्रिनशेयर गर्नुभयो ।

स्क्रिन शेयर गर्दै जाँदा मोबाइलमा अचानक कोड आयो । स्क्रिन शेयर भइरहेकाले उहाँले ओटीपी नदिए पनि उक्त व्यक्तिले देखिहाल्यो । त्यसको केही समयमै लगइन क्रेडेन्सियल परिवर्तन गरेपछि ब्लक गरिदियो । उहाँको अकाउन्ट गुमेपछि टिकटक सपोर्टको मद्दतले अहिले अपरिचित ठग व्यक्तिको हातमा पुगेको अकाउन्ट फिर्चा ल्याउने प्रयास भइरहेको छ । तर हालसम्म सो प्रयास सफल हुन भने सकेको छैन ।

त्यस्तै अर्का एक व्यक्तिको फेसबुक पेज पनि ह्याकरले त्यसरी नै कब्जामा लिएको छ । उहाँको करिब दुई लाख लाइक भएको फेसबुक पेजको पेज क्वालिटी ठिक भए पाँच लाख रुपैयाँ दिएर खरिद गर्ने भनिएको रहेछ । पछि  क्वालिटी हेर्ने भन्दै स्क्रिन शेयर गर्न लगाएर त्यसैगरी ओटीपी कोड लिई मुख्य अकाउन्ट नै आफ्नो कब्जामा लियो । अनि उक्त अकाउन्टमा भएको बिजनेस अकाउन्टलाई आफ्नोमा सारेर पुरानो अकाउन्ट नै डिलिट गर्न लगाइदियो । ईमेल एड्रेस सबै अपडेट भएकाले प्रोफाइल रिकभर गर्न त सकियो । तर त्यति बेलासम्म सो प्रोफाइलमा रहेका पेज भने जाली फटाहाको हातमा पुगिसकेका थिए । 

राम्रै फलोअर भएका उहाँका तीन चार ओटा पेज नै ह्याकरको हातमा पुगेका छन् । फेसबुकलाई यस सम्बन्धी जानकारी गराइएको छ । सम्भवतः अकाउन्ट छिट्टै फिर्ता हुन सक्छ । यी दुई ओटा प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय मसँग यस्तै समस्या लिएर आउनेहरू बढेका छन्  । यसरी नै लाखौं फलोअर भएका अकाउन्टलाई ह्याकरले आफ्नो कब्जामा लिने र नाम तथा युजरनेम परिवर्तन गरी बिक्रीमा राख्ने गरेको देखिन्छ । 

माथि उल्लेख गरिएको तरिका ह्याकरले अपनाउने सयौं तरिकामध्ये एउटा नयाँ तरिका हो । उनीहरू अनेकन् नयाँ विधि र ट्रिक अपनाइरहेका हुन्छन् । त्यसबाट बच्ने आवश्यक सावधानी अपनाउनु होस् र आफैंलाई नपरेसम्म नचेत्ने बानी हटाउनुहोस् । पेज ह्याक गर्न ह्याकरले अपनाउने नयाँनयाँ तरिकाबारे सजग हुनुहोस् । तपाईंले चलाइरहेको फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता सामाजिक सञ्जाल अहिले भर्खरै ह्याक भयो भने के होला भनेर कल्पना गर्नुहोस् । 

तपाईंको आम्दानी गर्ने, तपाईंलाई धेरै मानिसहरू माझ चिनाउने, तपाईंलाई रचनात्मक बनाउन प्रेरित गर्ने अकाउन्ट नै गुम्न सक्छन् । त्यसपछि फेरि शून्यदेखि सुरु गर्ने जोश र जाँगर नहुन सक्छ । त्यसैले आफूलाई पर्न सक्ने आपत कल्पना गरेर आफ्ना सामाजिक सञ्जालमा रहेका ईमेलमा आफूले चलाइरहेका मोबाइल नम्बर राखेर अपडेट गर्नुहोस् । त्यस्तै टु फ्याक्टर अथेन्टिकेसनको सुविधा भएको प्लेटफर्ममा उक्त फिचर अन गर्नुहोस् । अधिकांश प्लेटफर्ममा यस्तो सुविधा हुने भएकाले तपाईंले आफूलाई उपयुक्त हुने माध्यम छानेर मल्टी फ्याक्टर अथेन्टिकेसन सक्रिय पार्नुहोस् । 

फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा आफ्नै ईमेल र आफूले हाल प्रयोग गरिरहेकै मोबाइल नम्बर रहेको छ कि छैन चेकजाँच गरिहाल्नु होस् । छैन भने अपडेट गर्न अबेर नगर्नु होस् । 

सबै सामाजिक सञ्जालमा टु फ्याक्टर अथेन्टिकेसन अन गर्नुहोस् । ह्याक भएपछि रिकभर गर्ने मुख्य आधार तपाईंको ईमेल एड्रेस र मोबाइल नम्बर नै हो । यी सबै पूर्णतः आफ्नो नियन्त्रणमा रहेका र आफूसँग भएका मात्रै राख्नुहोस् । 

कतिपय अवस्थामा तपाईंका आफन्त कसैको अकाउन्ट ह्याक भएको हुनसक्छ । त्यस्तोमा पनि कल गरेर स्क्रिन शेयर गर्न लगाई तपाईंको अकाउन्ट नै कब्जामा लिने सम्भावना पनि उत्तिकै रहन्छ । त्यसैले तपाईंले कसलाई अनि किन स्क्रिन शेयर गर्दै हुनुहुन्छ भन्ने ख्याल गर्नुहोस् । कोही अपरिचित व्यक्तिले लाखौं रकम दिने आश्वासन दियो भने उसको स्वार्थ चिन्नुहोस् र त्यसलाई बेवास्ता गर्नुहोस् । यसरी तपाईं सचेत हुनु भयो भने मात्रै तपाईंको अकाउन्ट पनि सुरक्षित हुन्छ ।

(लेखक अर्याल नेपालमा चर्चित कलाकारका सामाजिक सञ्जाल व्यवस्थापन गर्दै आएका एक प्राविधिक हुन् ।)

पछिल्लो अध्यावधिक: चैत ३०, २०८० २१:१०