close

डोल्पा पुग्यो टेलिकमको फाइबर इन्टरनेट सेवा

टेकपाना टेकपाना

बैशाख ३, २०८१ ९:१९

डोल्पा पुग्यो टेलिकमको फाइबर इन्टरनेट सेवा

काठमाडौं । नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित उच्च गतिको इन्टरनेट सेवा फाइबर टु द होम (एफटीटीएच) सेवा डोल्पामा विस्तार गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतवार डोल्पामा एफटिटिएच नेटवर्क सेवाको भर्चुअलका माध्यमबाट आरम्भ गरेसँगै डोल्पा यो सेवा प्राप्त गर्ने ७५ औं जिल्ला बनेको छ । यसअघि ७४ औं जिल्लाको रूपमा यो रुकुमपूर्वमा इन्टरनेट सेवा विस्तार गरिएको थियो ।

मुगुमा हाल जडान भइरहेको छ भने हुम्लामा आगामी वर्षमा जोड्ने योजना रहेको नेपाल टेलिकमले जनाएको छ । अब दुई जिल्लामा सेवा विस्तार गरेसँगै टेलिकमले ७७ वटै जिल्लामा फाइबर इन्टरनेट सेवा विस्तार गरिसक्ने छ ।

सेवा उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले इन्टरनेट डिजिटल नेपाल निर्माणको महत्त्वपूर्ण पूर्वाधार भएकाले सरकारले देशैभरि उच्च गतिको इन्टरनेट विस्तारको कामलाई अभियानकै रुपमा अघि बढाएको बताइन् ।

“डोल्पामा सेवा पुगेको छ भने मुगुमा जडानको काम भइरहेको छ” उनले भनिन्, “हुम्लामा अर्को वर्ष जडानको काम अघि बढ्ने छ । वर्षौदेखि पछाडि पारिएका यी जिल्लामा उच्च गतिको इन्टरनेट पुर्याएर सरकार दुर्गम र सुगमको दूरी मेट्न खोजिरहेको छ । सरकारले मुलुकभर इन्टरनेट सेवा पुर्याउने नीतिलाई प्राथमिकता दिएको छ ।”

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८१ ९:१९