close

कोशी र मधेसमा राइड शेयरिङ प्लेटफर्म ‘जाऔं’, पहिलो पटक निःशुल्क यात्रा गर्न पाइने

टेकपाना टेकपाना

बैशाख ३, २०८१ १८:४८

कोशी र मधेसमा राइड शेयरिङ प्लेटफर्म ‘जाऔं’, पहिलो पटक निःशुल्क यात्रा गर्न पाइने

काठमाडौं । डेढ वर्षअघि पहिलो पटक सुनसरीको इटहरीबाट फुड डेलिभरी सुविधा दिनेगरी सञ्चालनमा आएको ‘जाऔं’ मधेस प्रदेशमा पनि विस्तार भएको छ । जाऔं सर्भिस प्रालिले नयाँ वर्षदेखि मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न शहरमा राइड शेयरिङ प्लेटफर्म ‘जाऔं’ सञ्चालनमा ल्याएको हो । 

नयाँ वर्ष २०८१ को अवसरमा पारेर ‘जाऔं’ले पहिलो पटक यो प्लेटफर्म प्रयोग गर्ने सेवाग्राहीलाई शत प्रतिशत क्याशब्याक सुविधा दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  दुर्गेश चौधरीले बताए । शत प्रतिशत क्यास ब्याक अन्तर्गत यात्रुले पहिलो पटक जाऔंको सुविधा लिए बापत तिरेको सम्पूर्ण रकम यात्रुकै वालेटमार्फत क्यास ब्याकका रूपमा फिर्ता हुनेछ । यात्रु गन्तव्यमा पुगेपछि सफलतापूर्वक यात्रा गरेको एसएमएस प्राप्त भएपछि तत्कालै क्यास ब्याक हुने चौधरीले सुनाए ।

दोस्रो पटकदेखि भने १० प्रतिशतसम्म क्यास ब्याक गरिने कम्पनीका सीईओ चौधरीको भनाइ छ । यात्रुले मोबाइलको प्लेस्टोरमा गएर जाऔं एप डाउनलोड गरेर चाहिए अनुसारको सुविधा लिन सक्नेछन् ।

कोशी प्रदेशका धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, इनरुवा, झुम्का लगायतका मुख्य सहरहरूलाई लक्षित गरेर सञ्चालनमा आए पनि मधेस प्रदेशको वीरगन्ज र जनकपुरमा समेत यो राइड सेयरिङको अफर ल्याएको कम्पनीले जनाएको छ ।

जाऔंको एप प्रयोग गरेर राइड सुविधा लिएबापत प्रत्येक यात्रामा कम्पनीले पोइन्ट प्रदान गरी वालेटमा सोही अनुसारको पैसा फिर्ता गरिदिने व्यवस्था समेत मिलाएको छ ।

जाऔंले मुख्य सहरहरूमा एक सयभन्दा बढी राइडरको रजिस्ट्रेसन गरिसकेको जनाएको छ । यात्रुलाई छिटो, छरितो र भरपर्दो सेवा दिनका लागि आफूहरूले सुविधा बिस्तार गर्दै लगेको सीईओ चौधरीले सुनाए । राइड सेयरिङका लागि यात्रुहरूले मोटरसाइकल, अटो र कारमा सुविधा लिन सक्नेछन् ।

एप डाउनलोड गर्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्न सक्नेछन् । 

 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८१ २०:४