एनपीएल-२ का सर्वोत्कृष्ट नेपाली खेलाडी रोहितलाई ६१ लाखको ‘जेइको जे-फाइभ’, गाडीमा के छ खास ?
मंसिर २७, २०८२ २०:१९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन् । उपाधि जितेसँगै उनले ६१ लाख रुपैयाँ बराबरको ‘जेइको जे-फाइभ’ (JAECOO J5) प्रिमियम इलेक्ट्रिक एसयूभी पुरस्कार स्वरूप प्राप्त गरेका छन् ।
लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका कप्तान रोहितले प्रतियोगिताभर उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे । उनले ब्याटिङतर्फ कुल २७६ रन बनाउनुका साथै बलिङमा १० विकेट लिएर प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडीको उपाधि हात पारेका हुन् ।
रोहितले पुरस्कार पाएको पूर्ण विद्युतीय प्रिमियम एसयूभी ‘जेइको जे-फाइभ’ को नेपाली बजार मूल्य ६० लाख ९९ हजार रुपैयाँ रहेको छ ।
स्मरण रहोस्, एनपीएलको अघिल्लो संस्करणमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वोत्कृष्ट खेलाडी बन्दै ओमोडा इ-फाइभ कार प्राप्त गरेका थिए । त्यसबेला ओमोडाले टीडीएससमेत आफैं तिर्दै ऐरीलाई आफ्नो ब्राण्ड एम्बास्डर नियुक्त गरेको थियो ।
कस्तो छ रोहितले जितेको ‘जेइको जे-फाइभ’ कार ?
‘रेन्ज रोभर’सँग तुलना गरिएको सार्प-एन्गुलर डिजाइन सहितको जे-फाइभलाई कम्पनीले सहरी यात्रा र हल्का अफ-रोड दुवैका लागि उपयुक्त हुने गरी निर्माण गरेको जनाएको छ ।
यो एसयूभीमा १५५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्री प्याक जडान गरिएको छ । यसले एक पटकको पूर्ण चार्जमा ४०० किलोमिटर (डब्लूएलटीपी) सम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । ४३८० एमएम लम्बाइ, १८६० एमएम चौडाइ र १६५० एमएम उचाइ रहेको गाडीमा १८ इन्चको एलोय ह्विल्स प्रयोग गरिएको छ ।
गाडीमा लेभल टु एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता प्रिमियम विशेषता छन् । यसको भित्री भागमा भेन्टिलेटेड सिट, पूर्ण डिजिटल इन्सट्रुमेन्ट क्लस्टर, २५६-कलर एम्बिएन्ट लाइटिङ उपलब्ध छ । साथै, ४८० लिटरको बुट स्पेस र ३६ ओटा स्टोरेज कम्पार्टमेन्टहरूले यसलाई फराकिलो बनाएको छ ।
सुरक्षालाई प्राथमिकतामा राखेर निर्माण गरिएको जे-फाइभमा १९ भन्दा बढी सेक्युरिटी फिचरहरू समावेश छन् । यसमा फरवार्ड कोलिजन वार्निङ, ब्लाइन्ड स्पट मनिटरिङ, इन्टिग्रेटेड क्रुज कन्ट्रोल र स्वचालित इमर्जेन्सी ब्रेकिङ जस्ता सुरक्षा प्रणाली जडान गरिएको छ ।
कम्पनीले यस एसयूभीमा पर्फमेन्स, प्रविधि र लक्जरीको सन्तुलन रहेको भन्दै नेपाली बजारमा विद्युतीय सवारीको एक उत्कृष्ट विकल्प भएको दाबी गरेको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २७, २०८२ २०:३०
