close

एन्फाले साथ नदिएपछि उपचार खर्च जुटाउन सावित्रा भण्डारीले मागिन् क्यूआरमार्फत आर्थिक सहयोग

टेकपाना टेकपाना

फागुन ११, २०८२ १६:४

एन्फाले साथ नदिएपछि उपचार खर्च जुटाउन सावित्रा भण्डारीले मागिन् क्यूआरमार्फत आर्थिक सहयोग

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारी (साम्बा) ले आफ्नो घुँडाको उपचारका लागि शुभेच्छुकहरूसँग आर्थिक सहयोगको याचना गरेकी छन् । अस्ट्रेलियाको महिला फुटबल लिग (ए लिग वुमन) खेल्ने क्रममा सात हप्ताअघि घाइते भएकी साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्था र उपचारमा देखिएको कठिनाइबारे जानकारी दिँदै सहयोगको अपिल गरेकी हुन् ।

सावित्राले आफ्नो दायाँ घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसील) मा गम्भीर चोट बोकेकी छन् । यसअघि शल्यक्रिया गरिएको सोही घुँडाको ग्राफ्ट र एमसीएल दुवैमा चोट लागेकाले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको उनले बताएकी छन् ।

सावित्राले यसपटक अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो उपचारमा अपेक्षित सहयोग नगरेको र वाचाबाट पछि हटेको आरोप लगाएकी छन् । विगतमा एन्फाकै सहयोगमा कतारको अस्पेटारमा उपचार गरी मैदान फर्कन सफल भएकी साम्बाले यसपटक प्रशासनिक र आर्थिक सहयोग नपाउँदा शल्यक्रिया ढिलाइ भएको गुनासो गरिन् ।

उनले पोस्टमा लेखेकी छन्, “एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद पाँच लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ ।”

क्लबले न्युजिल्यान्डमा उपचार गराउन खोजे पनि साम्बाले उच्च स्तरको सेवाका लागि पुनः कतारकै अस्पेटारमा शल्यक्रिया गराउने इच्छा राखेकी छन् । शल्यक्रिया र त्यसपछिको ७-८ महिनाको पुनर्स्थापनाका लागि करिब ८० हजार अमेरिकी डलर (करिब एक करोड १५ लाख नेपाली रुपैयाँ) खर्च हुने अनुमान छ । क्लबको बीमाबाट प्राप्त हुने रकम उपचारका लागि अपर्याप्त हुने भएपछि उनले सार्वजनिक सहयोग मागेकी हुन् ।

नेपाल सरकारमार्फत उपचारका लागि पहल भए पनि सरकारी प्रक्रिया सुस्त हुँदा आफू अन्योलमा परेको उनले उल्लेख गरेकी छन् ।

“आर्थिक रुपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ । त्यसैले नै म आज यहाँहरुमाझ सहयोगको याचना गरिरहेको छु,” उनले भावुक हुँदै लेखेकी छन्, “आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाडैं जम्मा हुनेछ । र म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेको छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस अरूको अवस्था के होला ? मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएको छु, तर नियतिले पुन: एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ ।”

उनले नेपालमा रहेकाहरूलाई कृषि विकास बैंकको खाता (०२१०६०५४१२३०७०१३) वा क्यूआर कोडमार्फत र विदेशमा रहेकाहरूलाई ‘गिभ अलिटल’ (Givealittle) लिङ्क सहयोग गर्न अनुरोध गरेकी छन् ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०८२ १६:२४