फ्याक्टचेकः काठमाडौँ महानगरको चरम ढिलासुस्तीले फैलियो १ वर्षअघि नै सरेको चाँदबाग स्कुलबारे भ्रामक समाचार
चैत ११, २०८२ ९:५८
काठमाडौँ । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा सीजी ग्रुपको स्वामित्वमा रहेको ‘द चाँदबाग स्कुल’ काठमाडौँ महानगरपालिका वडा नं. ३, बाँसबारीबाट गोकर्णेश्वर नगरपालिका वडा नं. ६, जोरपाटी सर्न लागेको र त्यसको कारण बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्न लागेकाले हो भन्ने दाबीसहितका पोस्ट भाइरल भइरहेका छन् ।
टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी भ्रामक रहेको पाइएको छ । वास्तवमा उक्त विद्यालय करिब एक वर्षअघि अर्थात् ५ चैत २०८१ मै भौतिक र कानुनी रूपमा काठमाडौँ महानगरबाट जोरपाटी स्थानान्तरण भई सञ्चालनमा छ ।
खासमा काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले समयमै बैठक बस्न नसक्दा विद्यालय स्थानान्तरणसम्बन्धी एक वर्ष पुरानो सूचना ८ चैत २०८२ मा मात्र ‘गोरखापत्र’मा प्रकाशित गरेको थियो । महानगरको शिक्षा विभागको यही ढिलासुस्तीका कारण ढिलो गरी आएको सूचनालाई आधार मानेर केही फेसबुक पेजले ‘विद्यालय भर्खरै सर्न लागेको’ र यसको कारण ‘बालेन प्रधानमन्त्री बन्न लागेको’ भन्दै अनुमानको भरमा भ्रामक समाचार तथा सूचना फैलाएको पुष्टि हुन्छ ।
दाबी
सोमबार, २३ मार्च २०२६ दिउसो १ः५४ बजे ‘Janaboli’ नामक फेसबुक पेजले एक पोस्ट राख्यो । पोस्टमा राखिएको फोटोको तलपट्टि लेखिएको छ, “बालेनको इन्ट्रि नजिकिदै गर्दा ५०औं बर्षअघि राज्य लुट्नेहरुकोपनि भागाभाग, बाँसबारी जुत्ताको जग्गाबाट चौधरी ग्रुप आफैं भाग्ने” । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “बालेनको इन्ट्रि नजिकिदै गर्दा ५०औं बर्षअघि राज्य लुट्नेहरुकोपनि भागाभाग, बाँसबारी जुत्ताको जग्गाबाट चौधरी ग्रुप आफैं भाग्ने
चौधरी ग्रुपले काठमाडौंको बाँसबारीस्थित तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा कौडिको भाउमा हडपेर सञ्चालन गर्दै आएको चाँदबाग विद्यालय सार्ने भएको छ । सरकारको नाममा आइसकेको जग्गामा विद्यालय सञ्चालन भइरहेपछि महानगर र सरकारी निकायको दबाबलाई समेत सामान्य लिँदै आएको चौधरी ग्रुपले तत्कालिन मेयर बालेन शाह नै प्रधानमन्त्री बनेर आउने भएपछि विद्यालय गोकर्णेश्वर नगरपालिका–६ तिर लान थालेको छ ।
बाँसबारीको करिब १० रोपनी सरकारी जग्गा चौधरी समूहसँग सम्बन्धित कम्पनीको नाममा पुगेको विषयमा केही वर्षयता अनुसन्धान हुँदै आएको थियो । सोही प्रकरणमा उद्योगपति विनोद चौधरी तथा उनका भाइ अरुण चौधरी लगायतसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बयान लिएको थियो भने अरुण चौधरी केही समय थुनामासमेत बसेका थिए । अनुसन्धानपछि उक्त जग्गा पुनः सरकारकै नाममा कायम गरिएको थियो । विवादकै बीचमा त्यही परिसरमा सञ्चालन हुँदै आएको चाँदबाग विद्यालयलाई काठमाडौं महानगरपालिकाले पनि सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै खाली गर्न निर्देशन दिएको थियो । तर उनीहरुले अटेर गरेका थिए । अबको यो परीक्षा सकिए लगत्तै चैत्र अन्तिमदेखि नयाँ शैक्षिक शत्र नै नयाँ ठाउँबाट हुने सूचना स्कुलले निकालिसकेको छ । जग्गा सरकारीकरण र महानगरको दबाबपछि चौधरी ग्रुपले बाँसबारीबाट गोकर्णेश्वरमा विद्यालय सार्ने तयारी गरेको हो । चाँदबागले यसै शैक्षिक सत्रदेखि स्थानान्तरणका लागि काठमाडौं महानगरपालिकासँग अनुमति मागेकोमा महानगरले अनुमति प्रयोजनका लागि दाबी–विरोधको सूचनासमेत निकालिसकेको छ ।”
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ७९०० बढि रियाक्सन, ५३१ कमेन्ट र ३४१ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान
तथ्यजाँचका लागि टेकपानाको फ्याक्टचेक डेस्कले ‘चाँदबाग स्कुल’ किवर्ड सर्च गर्दा फेसबुकमा ‘Truth of Nepal’ नामक फेसबुक पेजले २२ मार्च २०२६ दिउसो १ः४५ बजे ‘बाँसबारीमा हडपेको जग्गाबाट चौधरीको चाँदबाग सार्ने तयारी’ टेक्स्ट लेखिएको पोस्टर राखेको पाइयो । उक्त पोस्टको क्याप्सनमा पनि जनबोलीले शेयर गरेको क्याप्सनको हुबहु पोस्ट गरेको देखियो । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १६०० बढी रियाक्सन, ३९६ कमेन्ट आएका छन् भने १४३ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै ‘ए वन टेलिभिजन’ नामक फेसबुक पेजले पनि ‘चौधरी ग्रुप दबाबमा, चाँदबाग विद्यालय सारिने’ क्याप्सनको भिडिओ पोस्ट गरेको छ । उक्त भिडिओमा देखिएकी प्रस्तोताले ‘जनबोली’को क्याप्सन पढेकी छिन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

‘Janajibro Group’ नामक फेसबुक पेजले पनि १ मिनेट ३० सेकेन्डको भिडिओ राख्दै द चाँदबाग स्कुल बाँसबारीबाट सर्न लागेको दाबी गरेको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।

इन्स्टाग्राममा ‘bharat_bist24’ युजरनेमका प्रयोगकर्ताले पनि ‘बाँसबारीमा हडपेको जग्गाबाट चौधरीको चाँदबाग सार्ने तयारी’ क्याप्सन राखिएको पोस्टर शेयर भएको पाइयो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

यस विषयमा तथ्यजाँच गर्न टेकपाना फ्याक्टचेक डेस्कले सबैभन्दा पहिले द चाँदबाग विद्यालय हाल कुन ठाउँमा छ भन्ने खोतल्यो । गुगल म्याप्सनमा खोज्ने क्रममा यो विद्यालय हाल गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको देखियो । हेर्नुहोस् गुगल म्याप्स ।

द चाँदबाग स्कुलको फेसबुकमा खोज्ने क्रममा २८ मार्च २०२५ मै नयाँ लोकेसनको भिडिओ बनाएर जानकारी दिएको पाइयो । हेर्नुहोस् भिडिओ ।
त्यसपछि डेस्कले बाँसबारी, जोरपाटी र द चाँदबाग स्कुलको कनेक्सन खोतल्यो । त्यस क्रममा नयाँपत्रिका दैनिकमा १९ असार २०८२ मा ‘३९ वर्षपछि फिर्ता भयो बाँसबारी छालाजुत्ता कारखानाको जग्गा’ शीर्षकको समाचार फेला पर्यो । अनलाइन खबरमा २८ साउन २०८१ मा प्रकाशित ‘अतिक्रमित जग्गा खाली गर्न चाँदबाग स्कुललाई २ दिनको अल्टिमेटम’ शीर्षकको समाचार, उकालोमा ५ कात्तिक २०७९ मा प्रकाशित ‘बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रुपले यसरी गर्यो कब्जा’ शीर्षकको समाचार फेला पर्यो ।
त्यस्तै उकालोडटकममा २५ फागुन २०८२ मा ‘बाँसबारीको जग्गा: चौधरी ग्रुपबाट फिर्ता ल्याइयो, गंगालाल अस्पताललाई दिन वडाध्यक्षको व्यवधान’ शीर्षकको समाचार प्रकाशित भएको पाइयो । यी विभिन्न सञ्चार माध्यमका समाचारबाट द चाँदबाग स्कुलको बाँसबारी र जोरपाटीसँगको सम्बन्ध यसको पुरानो र नयाँ स्थानसँग जोडिएको पाइयो ।
सन् १९९६ मा चौधरी ग्रुपद्वारा स्थापना भएको यो स्कुल सुरुमा बाँसबारीमा सञ्चालित थियो । बाँसबारीमा हुँदा चौधरी ग्रुपले च्याम्पियन फुटवेयरको नाममा बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा ‘अतिक्रमण’ गरी त्यहाँ यो स्कुल चलाएको थियो, जसलाई खाली गर्न काठमाडौं महानगरपालिकाले निर्देशन समेत दिएको थियो । पछि यो स्कुल बाँसबारीबाट गोकर्णेश्वर-६, जोरपाटीमा स्थानान्तरण भयो । हाल यो स्कुल जोरपाटीमै सञ्चालित रहेको खुल्यो ।
यति भएपछि हामीले थप प्रमाणीकरण र यो विद्यालय स्थानान्तरण हुनका लागि केकस्ता कानुनी प्रक्रिया अपनायो भन्ने बुझ्न विद्यालयलाई सम्पर्क गरी स्थानान्तरणसँग सम्बन्धित विभिन्न कागजात उपलब्ध गराउन आग्रह गर्यौँ । त्यस क्रममा विद्यालयले काठमाडौँ महानगरपालिका वडा नम्बर ३ ले दिएको स्थानान्तरणको सिफारिसको कागजात उपलब्ध गरायो । ६ चैत २०८१ मा ३ नम्बर वडा कार्यालयले उपलब्ध गराएको सिफारिस पत्रमा लेखिएको छ, “प्रस्तुत विषयमा का.म.पा.३ नं. वडा कार्यालयमा रहेको व्यवसाय दर्ता नं. ४५००/भ मिति २०८०/०३/३१ को द चाँदवाग स्कुल प्रा.लि. नामक व्यवसाय का.म.पा.-०३, बाँसवारीमा रहेको व्यवसाय मिति २०८१/१२/०५ गतेदेखि गोकर्णेश्वर नगरपालिका वडा नं. ६ मा व्यवसाय ठाउँ सारी भई गएको व्यहोरा सिफारिस गरी पाँउ भनी यस वडा कार्यालयमा स्कुलका प्रशासन प्रमुख केदार प्रसाद तिवारीको निवेदन पर्न आएकोमा बुझ्दा उक्त व्यवसाय सोही मितिदेखि गोकर्णेश्वर नगरपालिका वडा नं. ६ मा स्थानान्तरण भई गएको व्यहोरा सिफारिस साथ अनुरोध गरिन्छ ।”

त्यस्तै २८ चैत २०८१ मा गोकर्णेश्वर नगरपालिकाले काठमाडौँ महानगरपालिका वडा नं ३ बाट स्थानान्तरण भई गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा आउन सहमति प्रदान गरेको थियो ।
त्यसैगरी ५ असार २०८२ मा गोकर्णेश्वर नगरपालिकाले ‘विद्यालय सञ्चालन अनुमति’ दिएको थियो । नगर शिक्षा अधिकारी वीरबहादुर खड्काले हस्ताक्षर गरेको पत्रमा लेखिएको छ, “प्रस्तुत विषयमा काठमाण्डौ महानगरपालिका वडा नं. ३ बाँसबारीमा संचालनमा रहेको त्यस विद्यालयलाई गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नारायणटार, काठमाण्डौमा प्रचलित शिक्षा ऐन, २०२८ (संशोधन सहित), शिक्षा नियामावली, २०५९ (संशोधन सहित), गोकर्णेश्वर नगरपालिकाको शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७९ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम स्थानान्तरण गरी शैक्षिक सत्र २०८२ देखि कम्पनी ऐन अनुसार अनुमति प्राप्त कक्षा संचालन गर्न यस नगरपालिकाको मिति २०८२।०३।०३ गतेको ३८ औं कार्यपालिकाको निर्णय अनुसार अनुमति प्रदान गरिएको छ ।”

बाँसबारीबाट द चाँदबाग स्कुल यतिखेर (चैत २०८२ मा) जोरपाटी सर्न लागेको भन्ने समाचार प्रकाशित गर्ने फेसबुक पोस्टहरूले काठमाडौँ महानगरपालिकाले हालै जारी गरेको सूचनालाई आधार बनाएका छन् । पछिल्लो साता प्रकाशित भएका गोरखापत्रका ईपेपर खोज्ने क्रममा ८ चैत २०८२ मा प्रकाशित वर्ष १२५ अङ्क ३११ को १० औं पृष्ठमा ‘द चाँदबाग स्कुल’सँग सम्बन्धित काठमाडौँ महानगरपालिकाको सूचना फेला पार्यौं । हेर्नुहोस् सूचना ।
उक्त सूचनामा काठमाडौँ महानगरपालिकाका ‘संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन’ भएको जानकारी राखिएको छ । सो सूचनाको दोस्रो खण्ड अर्थात् विद्यालयको स्थान परिवर्तनका लागि अनुमति माग गरेका विद्यालय भन्दै चार ओटा विद्यालयको सूची राखिएको छ । त्यसमध्ये दोस्रोमा ‘द चाँदबाग स्कुल’को नाम छ । उक्त स्कुलको साविकको ठेगाना काठमाडौँ महानगरपालिका-०३, काठमाडौँ रहेको र जान चाहेको ठेगाना गोकर्णेश्वर नगरपालिका-०६, काठमाडौँ उल्लेख छ ।
यही सूचनालाई मात्र आधार मान्ने हो भने द चाँदबाग स्कुल हाल बाँसबारीमा रहेको र यो विद्यालय स्थानान्तरण भइ जोरपाटी जान चाहेको उल्लेख छ । यसमा कुनै किसिमको दाबी बिरोध भए ३५ दिनभित्र निवेदन दिन भनिएको छ ।
हामीले फेला पारेका विभिन्न सूचना, कागजात र समाचार अनि गोरखापत्रमा प्रकाशित यो सूचनाको तालमेल नमिलेको पाइएपछि काठमाडौँ महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज ढकाललाई सम्पर्क गर्यौँ । उनले भने, “विद्यालय स्थानान्तरण वा स्वामित्व परिवर्तनको अन्तिम निर्णय शिक्षा समितिले गर्ने हो, वडाले केवल वडा स्तरको सहमति मात्र दिने गर्दछ । लामो समयदेखि शिक्षा समितिको बैठक बस्न नसकेका कारण अहिले सूचना ढिलो गरी आएको हो । साउन महिनापछि केही दिनअघि मात्र समितिको बैठक बसेको हुनाले यो पछिल्लो सूचना आएको हो । ‘द चाँदबाग स्कुल’ का हकमा विद्यालय नै भाग्नुपर्ने कुनै कारण छैन । स्कुल अन्यत्र सरिसकेको भए तापनि कानुनी रूपमा ‘ड्यु प्रोसेस’ (प्रक्रिया पुर्याउने कार्य) पूरा गर्नका लागि सार्वजनिक सूचना जारी गरिएको हो ।
यस्तो सूचना निकाल्नुको मुख्य उद्देश्य विद्यालयको कुनै आर्थिक दायित्व, लिनु-दिनु, भाडा वा अन्य विवाद भएमा त्यसको जानकारी सार्वजनिक होस् भन्ने नै हो । स्कुल जहाँ सरे पनि उसको दायित्व सँगसँगै जाने भएकाले कसैको दाबी-विरोध भएमा सहजीकरण गर्न यो प्रक्रिया अनिवार्य छ । वडाले दिएको सहमतिको पत्रबारे सर्वसाधारणलाई थाहा नहुन सक्छ, त्यसैले सबैलाई सार्वजनिक रूपमा जानकारी गराउनु विभागको कर्तव्य हो । नाम र स्वामित्व परिवर्तन भइसकेका अन्य विद्यालयको पनि एकमुष्ट निर्णय गर्नुपर्ने भएकाले केही समयको अन्तराल देखिएको हो । साउनपछि पहिलो पटक यति पछि बैठक बसेकाले यो ढिलाइ भएको हो । तर अब विभागका बैठकहरू नियमित बस्नेछन् र सबै कामहरू समयमै सम्पन्न हुनेछन् ।”
यी विभिन्न तथ्यले के पुष्टि हुन्छ भने काठमाडौँ महानगरपालिकाबाट एक वर्ष अघि नै ‘द चाँदबाग स्कुल’ भौतिक र कानुनी रूपमै स्थानान्तरण भएर गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ जोरपाटीमा गइसकेको थियो र हाल नियमित सञ्चालनमा छ । महानगरपालिकाको शिक्षा विभागको बैठक लामो समयसम्म बस्न नसकेकाले सूचना झन्डै एक वर्षपछि प्रकाशन हुन गयो । र, त्यही सूचनालाई मात्र आधार बनाई बालेन्द्र शाहको नाम जोड्दै द चाँदबाग स्कुल स्थानान्तरण भएको भ्रामक समाचार भाइरल हुन पुग्यो ।
दाबी
बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्न लागेसँगै डरले चौधरी ग्रुपले बाँसबारीको सरकारी जग्गामा सञ्चालन गर्दै आएको 'द चाँदबाग स्कुल' गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा सार्न (भाग्न) लागेको ।
दाबीकर्ता
'जनबोली', Truth of Nepal, A One Television, Janajibro Group नामक फेसबुक पेजहरू र 'bharat_bist24' नामक इन्स्टाग्राम प्रयोगकर्ता लगायत अन्य ।
तथ्य
विद्यालय पहिल्यै सरिसकेकोः द चाँदबाग स्कुल भर्खरै सर्न लागेको नभई करिब एक वर्षअघि नै (५ चैत २०८१ मा) नै काठमाडौँ महानगरपालिका वडा नं. ३, बाँसबारीबाट गोकर्णेश्वर नगरपालिका वडा नं. ६, जोरपाटीमा भौतिक र प्रक्रियागत दुवै रूपमा स्थानान्तरण भइसकेको छ र हाल त्यहीँबाट सञ्चालित छ ।
कानुनी रूपमा प्रमाणित: काठमाडौँ महानगरपालिका वडा नं. ३ ले ६ चैत २०८१ मा ठाउँसारीको सिफारिस दिएको थियो भने गोकर्णेश्वर नगरपालिकाले २८ चैत २०८१ मा सहमति र ५ असार २०८२ मा विद्यालय सञ्चालनको अन्तिम अनुमति दिइसकेको ।
सूचना आउनुको कारण: काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग (समिति) को बैठक लामो समयसम्म बस्न नसकेका कारण विद्यालय स्थानान्तरणसम्बन्धी दाबी-बिरोधको कानुनी प्रक्रिया पूरा गर्ने सूचना झन्डै एक वर्षपछि ८ चैत २०८२ मा मात्र 'गोरखापत्र'मा प्रकाशित भएको ।
अधिकारीको भनाइ: महानगरको शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार विद्यालय अन्यत्र सरिसकेको भए तापनि स्कुलको कुनै आर्थिक दायित्व वा विवाद भएमा त्यसको जानकारी सार्वजनिक होस् भन्नका लागि मात्र यो सूचना निकालिएको हो, स्कुल भाग्न लागेको होइन ।
निष्कर्ष
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले समयमै बैठक बस्न नसक्दा ढिलो गरी एक वर्षपछि निकालेको प्राविधिक सूचनालाई आधार मानेर 'विद्यालय अहिले सर्न लागेको' र त्यसलाई 'बालेन शाह प्रधानमन्त्री बन्न लागेको' कुरासँग जोडेर फैलाइएको हल्ला भ्रामक हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: चैत ११, २०८२ ९:५९
