केपी ओली पक्राउको विरोध गर्ने युवतीमाथि सामाजिक सञ्जालमा भद्दा टिप्पणी र धम्की
चैत १६, २०८२ १५:४४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि सरकारको विरोधमा एमाले कार्यकर्ताहरू देशका विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएका छन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका बारेमा जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै शनिबार बिहान ओलीलाई पक्राउ गरिएपछि एमालेले आन्दोलन जारी राखेको छ ।
विरोध प्रदर्शनकै क्रममा एमाले कार्यकर्ता अमिशा पराजुलीले नारा-जुलुस गरेको र सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । भाइरल भएसँगै उनको तस्बिर र भिडिओको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा विभिन्न आपत्तिजनक पोस्टहरू गरिएका छन् । ती पोस्टहरूमा पराजुलीमाथि बलात्कारको धम्की, द्विअर्थी शब्दको प्रयोग र घरेलु हिंसालाई समर्थन गर्ने किसिमका टिप्पणीहरू गरिएको पाइएको छ ।
फेसबुक प्रयोगकर्ता ‘Padam Dong Tamang’ ले “यति राम्री मान्छे पनि एमालेमा रहेछन् त” भन्दै एक पोस्ट गरेका छन् । २८ मार्च ३:२१ मा गरिएको उक्त पोस्टमा ‘Laxmi Shrestha Magar’ नामको प्रयोगकर्ताले बलात्कारपछि हत्याको सिकार भएकी किशोरी निर्मला पन्त जस्तै अवस्थामा पुग्नुपर्ने भन्दै कमेन्ट गरेकी छिन् ।
उनले लेखेकी छिन्, “यसको पनि निर्मला पन्तको जस्तो हालत हुनुपर्ने, अनि मात्र दिमाख ठिकमा आउँथ्यो ।” यस्तो असंवेदनशील कमेन्टमा पनि केही प्रयोगकर्ताले रियाक्ट गरेका छन् । मगरको कमेन्टमा रिप्लाई गर्दै अर्का प्रयोगकर्ताले लेखेका छन्, “बानी परेको होला” ।

शनिबार (२८ मार्च) राति ५:३९ मा फेसबुक पेज ‘MUSIC HUB’ ले सोही युवतीको तस्बिर राख्दै व्यङ्ग्यात्मक तरिकाले लेखेको छ, “Arrange marriage is scary what if…….. 🤣” । सोही पोस्टमा ‘Abinas Thapa’ नामका प्रयोगकर्ताले द्विअर्थी कमेन्ट गरेका छन् । 'Genz Nepal' लेखिएको प्रोफाइल फोटो राखेका उनले कमेन्टमा लेखेका छन्, "नानी तिम्रो पनि अलिकति चिलाए जस्तो छ। ढाड🤣🤣"
‘Psycho Nepal’ नामको पेजले पनि पराजुलीको तस्बिर राख्दै मिम बनाएको छ । उक्त पोस्टमा ‘Raj Puri’ नामका प्रयोगकर्ताले घरेलु हिंसालाई प्रोत्साहन गर्ने तरिकाले लेखेका छन्, “एउटा छालाको पेटी भए पुग्छ ।” यो कमेन्टमा १२६ जनाले त रियाक्टमात्र गरेका छन् । कमेन्टमा रिप्लाई गर्दै अन्य प्रयोगकर्ताले द्विअर्थी कमेन्ट गरिरहेका छन् ।

पराजुलीले सञ्चारकर्मीहरूलाई अन्तर्वार्ता दिने क्रममा आइतबार (२८ मार्चमा) केपी शर्मा ओलीलाई पक्राउ गर्न “शनिबार बिहानै पक्राउ पूर्जी कसरी जारी भयो ?” भन्दै प्रश्न गरेकी थिइन् । जनताले दिएको जनमतको सम्मान गर्दै हालको सरकारलाई मानेको भएपनि कानुनभन्दा माथी कोही नरहने अन्तर्वार्ताका क्रममा बताएकी छिन् ।
‘Py Amrit’ नामको फेसबुक प्रयोगकर्ताले सोही अन्तर्वार्ताको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “National crush re ta 😋” । Sujan Kafle नामका प्रयोगकर्ताले कमेन्ट गरेका छन् “National crush ❌ International va.. ✅” यो कमेन्टमा ३१ जनाले रियाक्ट गरेका छन् ।
अर्का प्रयोगकर्तालाई ‘Shåñy Dhakál’ ले ‘National crush from ratnapark😩’ लेखेका छन् । उक्त कमेन्टमा युवतीलाई कुनै यौनकर्मीलाई सार्वजनिक रूपमा भद्दा तरिकाले मोलमालाई गरे झै प्रयोगकर्ताहरूले रिप्लाइ गरेका छन् । ‘Shåñy Dhakál’ ले गरेको पोस्टमा नै ६३ जनाले रियाक्ट गरेका छन् ।
‘पुष्पेन्द्र शाह सनातनी’ नामक अर्का प्रयोगकर्ताले कमेन्ट गरेका छन्, "Va.. of the year☠️"

‘Naya Khabar’ नामको फेसबुक पेजले २८ मार्च साँझ ५:२६ मा सोही युवतीको ५२ सेकेन्ड लामो भिडिओ अन्तर्वार्ता पोस्ट गरेको छ । उक्त पोस्टमा कमेन्ट गर्दै ‘Craziy Mogoorx’ लेख्छन्, “bola aaudaina mu.. ra..i”
‘Call24 News’ ले २८ मार्च दिउँसो ४:२५ मा सार्वजनिक गरेको अन्तर्वार्तामा 'Gd Bikas Dhakal' युवतीमाथि बलात्कारपछि हत्या हुनुपर्ने भन्दै आपाराधिक कार्यलाई समर्थन गर्ने किसिमको कमेन्ट गरेका छन् । उनले लेखेका छन्, “बलात्कारीहरू पनि यस्तालाई चाहिँ बलात्कार गरेर मार्नु नि सोझा साझाहरूलाई भन्दा” माथि उल्लेख गरेका त केही प्रतिनिधि कमेन्टहरू मात्र हुन् । प्रयोगकर्ताहरूले घरेलु हिँसादेखि बलात्कार र हत्या सम्म हुनुपर्ने कमेन्टहरू युवतीहरूको फोटो र भिडिओमाथि बर्साएका छन् ।
सामाजिक सञ्जालमा यस्ता किसिमका आपराधिक मानसिकता दर्साउने कमेन्टहरू आउन थालेपछि पराजुलीले सोमबार दिउँसो आफ्नो टिकटक अकाउन्ट प्राइभेट गरेकी छिन् ।
उनी विरुद्ध आएका कमेन्टप्रति केही प्रयोगकर्ताहरूले नेपाली समाजको दोहोरो चरित्र देखिएको भन्दै आलोचना समेत गरेका छन् । ‘कसलाई समर्थन गर्ने’ भन्ने बारेमा युवतीको निर्णय व्यक्तिगत भएको र लोकतान्त्रिक देशमा विरोध गर्न पाउने अधिकार रहेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । यस्ता आपराधिक र अमानवीय किसिमका टिप्पणीलाई बहिष्कार गर्नुपर्ने र कानुनी उपचारको समेत खोजी हुनुपर्ने उनीहरूको माग छ ।
फेसबुक पेज ‘Project Abhaya’ ले उनीमाथि आएका बलात्कारका धम्की र नकारात्मक कमेन्टहरू समेट्दै आइतबार बिहान ७:१० मा पोस्ट गरेको छ । महिलाले आफ्नो तर्क दिइरहँदा बलात्कारका धम्की दिनुले अहंकारले भरिएको समाजको चरित्रलाई देखाइएको बताइएको छ ।
उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “हामी लोकतन्त्रको झण्डा फहराउँछौँ । तर कुनै महिलाले कुनै कुरामा असहमति जनाउने बित्तिकै त्यो झण्डा फ्याँकिदिन्छौँ । बहस गर्नका लागि बलात्कारलाई हतियार बनाइन्छ । धम्कीहरूबाट जवाफ दिइन्छ । दुर्व्यवहार सामान्य मानिन्छ । यो मूल्य होइन । फगत चर्को स्वरमा बोलिएको कमजोर अहङ्कार मात्र हो ।
तिमीहरूले महिलालाई कहिल्यै सम्मान गरेनौ । तिमीहरूले उनीहरूलाई शान्त, सहमत र अदृश्य हुँदा मात्र स्वीकार गर्यौ । जुन क्षण उनीसँग आफ्नो अडान हुन थाल्छ, तिमीहरूका लागि उनी समस्या बन्न थाल्छिन् । यो तिमिहरूको समस्या हो, उनको होइन ।” (अङ्ग्रेजीमा लेखिएको क्याप्सनलाई नेपालीमा भावानुवाद गरिएको हो ।)
सोही तस्बिर शेयर गर्दै जेनजी अभियन्ता तनुजा पाण्डेले महिलाले विचार राख्दैमा बलात्कारको धम्की आएको र यस्ता आपराधिक मानसिकता भएका व्यक्तिहरूलाई अन्यले पनि समर्थन गरेको भन्दै आक्रोश पोखेकी छिन् । अनि यस्तै प्रयोगकर्ताले बलात्कारपछि हत्या भएका किशोरीहरूको न्यायका लागि पनि आवाज उठाउने गरेको भन्दै समाजको दोहोरो चरित्रलाई चित्रण गरेकी छिन् ।
उनले लेखेकी छिन्, “विवेकशील लोकतान्त्रिक समाज जहाँ एउटी महिलाले आफ्नो विचार राख्दा उनलाई बलात्कार गर्ने, कसरी बलात्कार गर्ने, कहाँ बलात्कार गर्ने, कसले कसले बलात्कार गर्ने भनेर सार्वजनिक रूपमा भनिन्छ, नयाँ नेपालको सर्वज्ञानी लोकतान्त्रिक भनिने अपराधी मानसिकता बोकेर हाँस्दै, ताली बजाउँदै ‘यौन उत्पीडन, धम्की र दुर्व्यवहार’लाई हेरी बसेका दानवहरू। यही नै हो इनिशा र निर्मला ले न्याय पाउनु पर्छ भनेर न्यायको भाषण दिने जमात! ढोंगी समाज!!! Caution:मैले यहाँ कुनै राजनीतिक दलको कुरा गरिरहेको छैन। मैले समाजको कुरा गरिरहेको छु, यो समाज तपाईं हो , म हो, हामी हौँ। कुनै दललाई दोष नदिनुहोस्। पितृसत्ता कुनै एक दलको विशेषता होइन।”
सामाजिक सञ्जाल रेडिटमा सब रेडिट r/nepalsocial मा प्रयोगकर्ता ‘m_r__c_o_o_l’ ले प्रोजेक्ट अभयाले सार्वजनिक गरेको तस्बिर सार्वजनिक गर्दै कुनै कुराको आलोचना गर्न पाएपनि सभ्य भएर मात्र गर्नुपर्ने मत राखेका छन् । सोही पोस्टमा कमेन्ट गर्दै ‘Distinct-Affect-543’ ले अनलाइनमा महिलाहरूलाई दुर्व्यवहार गरेर देशको विकास नहुने उल्लेख गरेका छन् । अभिव्यक्ति स्वतन्त्रताको नाममा महिलामाथि बलात्कारको धम्की दिनु वा यौन दुर्व्यवहार गर्नु आपराधिक क्रियाकलाप रहेको उनले बताएका छन् । यसमा सबै नागरिक सचेत र जिम्मेवार नभएसम्म परिवर्तन नहुने उनले बताएका छन् ।
उनले लेखेका छन्, “अब अत्ति भयो । यस्तो दुर्व्यवहारलाई बहिस्कार गर्ने, रिपोर्ट गर्ने र कम्तीमा पनि सामान्य सम्मानको खोजी गर्ने समय आएको छ । अनलाइन स्पेस सबैका लागि सुरक्षित हुनुपर्छ । चुप लागेर बस्नु भनेको यस्तो दुर्व्यवहारलाई झन् बढावा दिनु हो । फ्रिडम अफ स्पिच (अभिव्यक्ति स्वतन्त्रता) जति महत्त्वपूर्ण छ, सभ्यता र नागरिक चेतना पनि त्यति नै महत्त्वपूर्ण छ । र ध्यान दिनुहोस् कसैलाई बलात्कारको धम्की दिनु वा यौन दुर्व्यवहार गर्नु ‘फ्रिडम अफ स्पीच’ होइन ! यो त आपराधिक हो र पूर्ण रूपमा अस्वीकार्य छ ।”
सामाजिक सञ्जाल एक्समा प्रयोगकर्ता आनन्द चौधरीले पनि युवतीमाथि आएका यस्ता कमेन्टहरूको विरोध जनाएका छन् । २८ मार्चमा साँझ ७:५८ मा एक पोस्ट राख्दै उनले लेखेका छन्, “नेपाली समाजको स्तर यो हो । अनि उनीहरू नेपालको विकास भएको हेर्न चाहन्छन् ।”
किन फैलिन्छन् घृणात्मक सामग्री ?
‘कन्फर्मेसन बायस’ अर्थात् आफूलाई मन पर्ने कुरा मात्र सुन्ने बानी कारण पनि समाजमा एकै समुदायप्रति धेरै व्यक्ति सकारात्मक वा नकारात्मक हुने गरेको मनोचिकित्सक प्रज्वल आचार्य बताउँछन् । उनले भने, “दश वर्ष पहिले केपी शर्मा ओलीको समर्थन गर्ने धेरै थिए, त्यति बेलामा उनको विरुद्धका कुरा मानिसहरू खासै सुन्न चाहँदैनथे । पछिल्लो समयमा उनीसहित पुराना दलप्रति नै जनआक्रोश छ । यस्तोमा पुराना दलको समर्थनमा कसैले केही गर्नेबित्तिकै मानिसहरू रिसाएर कमेन्ट गरिरहेका छन् ।”
तर, रिस उठेको भरमा नै बलात्कार, घरेलु हिंसा जस्ता विषयमा समर्थन गर्दै पोस्ट गर्नु सामान्य मानिसले गर्ने व्यवहार नभएको उनले बताए ।
यस्तो टिप्पणी गर्ने व्यक्तिहरू मानसिक रूपमा स्वस्थ नभएको बताउँदै मनोचिकित्सक आचार्यले भने, “यस्तो घृणा फैलाउने धेरैजसो फेक अकाउन्ट प्रयोग गर्ने प्रयोगकर्ता हुन्छन् । बेरोजगारीका कारण पनि मानिसहरूले यस्ता कमेन्ट गरिरहेका हुन्छन् । काममा व्यस्त हुने मानिसहरू त्यस्तो घृणात्मक विषयमा आफ्नो ऊर्जा खर्चिँदैनन् । तर, जो मानिस ‘अनसिन’ छ, ऊ यस्ता घृणा फैलाएर सामाजिक सञ्जालमा थोरै भए पनि अटेन्सन पाउन र आफ्नो जीवनको अर्थ भएको महसुस गर्न यस्ता काम गर्छ ।”
यस्ता घृणा फैलाउने व्यक्तिहरूलाई साइबर अपराधको कसुरमा कारबाही भएमा मात्र घृणात्मक सामग्री फैलाउने क्रम कम हुने उनको भनाइ छ । “यो कुनै मनोवैज्ञानिक कारण मात्र नभई ‘साइबर बुलिङ’ हो । यस्ता कमेन्ट गर्ने केही मात्र पनि कानुनको फेला परे भने बाँकीलाई यस्तो काम गर्नबाट रोक्न सकिन्छ,” आचार्यले भने ।
पछिल्लो अध्यावधिक: चैत १६, २०८२ १६:५०
