close

Scam Exposed: टिकटकमा १५ हजार फलोअर भएको अकाउन्टले सस्तोमा दराज बेच्ने भन्दै यसरी ठग्यो ३० हजार

हिक्मत आचार्य हिक्मत आचार्य

चैत २४, २०८२ २०:४८

Scam Exposed: टिकटकमा १५ हजार फलोअर भएको अकाउन्टले सस्तोमा दराज बेच्ने भन्दै यसरी ठग्यो ३० हजार

काठमाडौँ । के १५ हजार फलोअर भएको टिकटक अकाउन्ट सधैँ विश्वासिलो हुन्छ ? के केवल १५० रुपैयाँ डेलिभरी शुल्क तिर्दा बैंक खाता नै रित्तिन सक्छ ? काठमाडौँको टेकुमा बस्दै आएकी १९ वर्षीया रिमा तामाङ (नाम परिवर्तन) का लागि यी प्रश्नहरू अब प्रश्न मात्र रहेनन्, कहिल्यै बिर्सन नसकिने पीडादायी भोगाइ बनेका छन् ।

झन्डै एक महिनाअघि तामाङको टिकटक ‘फर यू’ पेजमा एउटा आकर्षक विज्ञापन झुल्कियो । ‘DARRANG_ FURNITURES HOUSE’ नामको उक्त अकाउन्टमा एउटा दराज जम्मा ४ हजार रुपैयाँमा बिक्रीका लागि राखिएको थियो । 

रिमाले उक्त अकाउन्टको प्रोफाइल हेरिन्, जहाँ १४ हजार ९०० फलोअर थिए । पसलको नामबाट राखिएका भिडिओमा लाखौँ भ्युज र हजारौँ लाइक-कमेन्ट देखेपछि उनी विश्वस्त भइन् । अकाउन्टको बायोमा लेखिएको नम्बरमा उनले ह्वाट्सएप मेसेज पठाइन् ।

उताबाट तत्कालै जवाफ आयो, “तपाईंको नाम, नम्बर र अर्डर गर्न चाहनुभएको सामानको स्क्रिनशट पठाउनुहोस् ।” 

रिमाले आफूले किन्न खोजेको दराजको फोटो पठाइन् । उनलाई सामानको मूल्य ४ हजार र डेलिभरी चार्ज १५० रुपैयाँ लाग्ने भनियो । रिमालाई यति ठूलो दराजको डेलिभरी चार्ज जम्मा १५० मात्र हुँदा केही शंका लागेर लोकेसन सोधिन् । उनलाई धनगढीको एक पसलको लोकेसन पठाइयो र ठूलो परिमाणमा सामान डेलिभरी हुने भएकाले सस्तो भएको दाबी गरियो । 

अझ पूरा रकम सामान पाएपछि मात्र दिए हुने शर्तले रिमालाई थप ढुक्क बनायो । “१५० रुपैयाँ त हो, त्यतिमा सामान नै यहाँसम्म आइपुग्यो भने त राम्रै हो नत्र ठगिए पनि केही भएन भन्ने लागेर मैले केमा पठाउने भनी सोधेँ,” रिमा भन्छिन्, “उनीहरूले एउटा क्यूआर कोड पठाए र मैले तत्कालै आफ्नो बैंकबाट पैसा पठाइदिएँ ।”

तर, व्यापारीले रकम नपाएको दाबी गर्दै ‘पेन्डिङ’ भएको स्क्रिनशट पठाए । कक्षा ११ मा पढ्दै गरेकी रिमालाई सामानकै आश लागेकाले उनले फेरि १५० रुपैयाँ पठाइन् । दोस्रो पटक पनि रकम नआएको मेसेज आएपछि उनी हैरान भइन् र दराजको आश मारिन् । तर, त्यतिकैमा ती व्यक्तिले दया देखाएको नाटक गर्दै भने, “बहिनी तपाईंको ३०० रुपैयाँ बेक्काममा अड्कियो । त्यो ट्रान्जेक्सन फेल भएकाले हो, म फिर्ता ल्याउने तरिका सिकाइदिन्छु ।” ३०० रुपैयाँ नै सही, फिर्ता आउँछ भने किन प्रक्रिया नअपनाउने भन्ने रिमालाई लाग्यो ।

ती व्यक्तिले भिडिओ कल गरेर रिमालाई स्क्रिन शेयर गर्न लगाए । “स्क्रिन शेयर किन गर्नुपर्यो भन्ने लागेको थियो, तर के-के अप्ठ्यारा शब्द बोलेर प्रक्रिया अपनाउनुपर्छ भन्न थाले, होला त भनेर मैले पनि स्क्रिन शेयर गरेँ,” उनी भन्छिन् । कलमै रहेका स्क्यामरले उनलाई बैंकिङ एप खोल्न र क्यूआर कोडको अप्सनमा जान लगाए । उनले ह्वाट्सएपमा एउटा क्यूआर पठाएर स्क्यान गर्न भने । रिमाले पैसा पाउनका लागि किन अर्काको क्यूआर स्क्यान गर्ने भनी प्रश्न गर्दा उनले यो ‘अटो जेनेरेटेड क्यूआर’ भएको र यसले अड्किएको रकम फिर्ता ल्याउन मद्दत गर्ने दाबी गरे ।

उनको निर्देशन अनुसार रिमाले अमाउन्टमा ‘१९९९’ र रिमार्क्समा ‘refrences150paid’ लेखेर पिन हालिन् । 

उनलाई भनिएको थियो कि माथिको १९९९ कोड हो र तल रिमार्क्समा लेखिएको रकम फिर्ता आउने हो । तर, पिन थिच्नासाथ उनको खाताबाट २०१० रुपैयाँ काटियो । लगआउट गरेपछि बैंकको स्टेटमेन्ट थाहा हुने कुरै भएन, तर पछि हेर्दा खाताको रकम गायब भइसकेको थियो । उनले फेरि सम्पर्क गर्दा उताबाट भनियो, “तपाईंको दुई हजार हाम्रोमा आएछ, अब पहिलेको पनि फिर्ता हुन्छ, म कल गर्छु स्क्रिन शेयर गर्नु ।”

रिमाको खातामा विदेशमा रहेका दाइले खर्चका लागि १० हजार रुपैयाँ हालिदिएका थिए । बैंकमा रकम देखेपछि स्क्यामरले फेरि अमाउन्टमा चार वटा ९ टाइप गर्न लगाए र रिमार्क्समा ‘release2150fund’ लेख्न लगाए । उनले पिन कोड राखेर सबमिट गर्नासाथ खाताबाट १० हजार काटिएको एसएमएस आयो । रिमाले पुनः गुनासो गर्दा स्क्यामरले १० हजार झुक्किएर आएको स्वीकार्दै फिर्ता गरिदिने बहाना बनाए ।

 भोलिपल्ट रिमाका आमाले २५ हजार र बुबाले ५ हजार रुपैयाँ खर्चका लागि पठाइदिए । यसपटक स्क्यामरले सहानुभूति पोख्दै ‘रकम होल्ड भएको’ भन्दै ११९९९ को कोड राख्न लगाएर फेरि १२ हजार रुपैयाँ चोरे ।

जब रिमाले जसरी पनि पैसा फिर्ता माग्न थालिन्, तब स्क्यामरले अर्की एक महिला कर्मचारीले सहयोग गर्ने बताए । ती महिलाले पनि उही प्रक्रिया दोहोर्‍याएर रिमाको थप ५ हजार रुपैयाँ लुटिन् । 

अन्त्यमा स्क्यामरले ‘तिम्रो कमजोरीले रकम होल्ड भयो’ भन्दै अर्को व्यक्ति खोज्न भनेपछि रिमाले आफ्नो साथीलाई आबद्ध गरिन् । उनका साथीले पनि स्क्यामरले भनेझैँ गर्दा खाताबाट ३ हजार रुपैयाँ गुमाए ।

यसरी पटक-पटक गरी रिमाको २८ हजार र साथीको ३ हजार स्क्यामरको हातमा पुग्यो ।

जापानी भाषाको परीक्षा तयारी गरिरहेकी रिमाको खातामा अहिले जम्मा १९ रुपैयाँ बाँकी छ । जेएलपीटीको जाँचका लागि शुल्क बुझाउन नसक्दा उनको जाँच पनि छुट्यो । बहिनीको बीएलई परीक्षा र कोठा भाडाका लागि पठाइएको रकम गुमेपछि उनी विक्षिप्त छिन् । “मसँग त १९ रुपैयाँ छ खातामा अहिले, कसरी माग्ने ? मलाई त सुसाइड गरुँ झैँ लागेको छ,” उनी भन्छिन् । 

ठगिएपछि रिमा आइतबार साइबर ब्युरो पुगेर निवेदन दिइन् । तर, निवेदन दिएपछि पनि स्क्यामरले उनलाई सताउन छोडेका छैनन् । पैसा फिर्ता दिने बहानामा अश्लील भिडिओ पठाउने र अपमानजनक शब्द प्रयोग गरेर उनलाई मानसिक तनाव दिइरहेका छन् । टेकपानाको सम्पर्कमा आएकी रिमालाई सहयोग गर्न खोज्दा स्क्यामरले अझै पनि खातामा समस्या भएको भन्दै स्क्रिन शेयर गर्न दबाब दिइरहेका छन् । पहिले पनि ती स्क्यामरले पटक पटक रकम पठाउँदा असफल भएको भन्दै स्क्रिनशट पठाएको देखियो । तर, रकम नजाउनुको कारण रिमाको बैंक खातामा नभई स्क्यामरकै खातामा थियो । कि त्यहाँ रकम थिएम कि केही अरु गल्ती थियो ।

एउटै तरिकाले पटक-पटक ठगिँदा पनि रिमाले किन चाल पाइनन् भन्ने प्रश्न उठ्न सक्छ । यसको पछाडि स्क्यामरले भावनासँग खेल्नु र प्राविधिक शब्दको जाल फिँजाउनु मुख्य कारण देखिन्छ । सुरुमा रकम फिर्ताको लोभ देखाउने र पछि युवतीकै कमजोरीले रकम होल्ड भएको भन्दै उनलाई नै दोषी महसुस गराउने काम भयो । नेपालको कुनै पनि बैंक वा वालेटले क्यूआर कोड स्क्यान गरेर रकम प्राप्त हुने सुविधा दिएका छैनन् ।

क्यूआर स्क्यान गर्नुको सिधा अर्थ खाताबाट पैसा पठाउनु हो । टिकटकमा विज्ञापन गरिएका ‘DARRANG_ FURNITURES HOUSE’ जस्ता नक्कली पसल र +९८०९३१००९१, +९७०३३५१३५९ जस्ता ह्वाट्सएप नम्बरहरू अहिले सर्वसाधारणलाई ठग्न सक्रिय रहेको यो घटनाले पुष्टि गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत २४, २०८२ २१:१