२०७९, २६ श्रावण बिहिबार   |  
Thursday 11th August 2022

बन्द हुने अवस्थाबाट देशकै ‘नम्बर वान’ हुन सफल डिसहोमको कथा

नेपालमा टेलिभिजन प्रशारणलाई डिजिटलमा रुपान्तरण गर्ने कार्य भर्खरै सफल भएको छ । सरकारले चालेको यस कदममा स्याटेलाइट प्रविधिबाट देशका कुनाकाप्चासम्म टेलिभिजन हेर्न सम्भव बनाएको डिसहोमले खेलेको भुमिका सबैभन्दा प्रभावकारी रह्यो । 

सन् २०१० बाट कठीन भौगोलिक अवस्था रहेको नेपालमा सबैतिर टेलिभिजन प्रशारण पुर्‍याउन सकिन्छ भन्ने योजना बनेको थियो । उक्त योजनामा अहिले प्राप्त प्रतिफलका पछाडि कयौँ असहज र चुनौतिपुर्ण उहापाेह डिसहोमले बेहाेरेको छ । 

नेपालको टेलिभिजन हेराइमा डिसहोम सबैभन्दा ठुलो र फराकिलो धरातल भएको माध्यम हो । जसले नेपालको हरेक ग्रामीण क्षेत्रमा डिजिटल टेलिभिजन प्रशारण पुर्‍याउन सफल भएको छ । अपरिपक्व र जोखिमपुर्ण योजनाबाट थालिएको परियोजनाले उचाई छोएको छ । 

सुरुवात होम टीभीबाट भयो । अर्कोतर्फ प्रतिस्पर्धीको रुपमा डिस नेपाल थियो । सेवा सुरु गर्नेहरुमा स्याटेलाइटबाट टेलिभिजन प्रशारण गर्ने विषयमा अनुभव र ज्ञान दुबै थिएन । ‘विदेशमा बसेकाले स्याटालाइट टीभीको विषयमा थोरै केही जानकारी थियो’, अहिले डिसहोमका प्रबन्ध निर्देशक रहेका सुदीप आचार्य भन्छन्, ‘तर, व्यवसायिक रुपमा अघि बढ्न हामीसँग पर्याप्त ज्ञान केही पनि थिएन ।’ 

सुदीप विदेशबाट फर्किए पछी स्याटेलाइट टेलिभिजनको अनुमती लिने कुरा भयो । उनीसँगै अनुमतिपत्रका लागि एकै पटक ८–९ जनाले आवेदन दिएका थिए । चुनौतिपुर्ण योजनामा यत्रोविधि प्रतिस्पर्धाको अवस्था पैदा होला भन्ने उनले कल्पनासम्म गरेका थिएनन् । अरुसँगै उनले पनि अनुमतिपत्र लिए ।

त्यस पछि स्याटेलाइट फ्रिक्वेन्सी पाइन्छ कि पाइँदैन भन्ने  चिन्ता थपियो । धेरैबीचको प्रतिस्पर्धामा भाग्यबश आचार्यको समूहले फ्रिक्वेन्सी पनि पायो । उनी सम्झिन्छन्, ‘त्यति बेला होम टीभी र डिस नेपाल दुबै कम्पनीले स्याटालाईटको फ्रिक्वन्सी प्राप्त गर्‍यौँ । त्यहीँबाट हाम्रो यात्रा सुरु भयो ।’

बजारमा जाने, आफ्नो व्यवसाय विस्तार गर्ने सबै खालको योजना पनि थियो । तर, सेवा सुरुभएसँगै बल्ल ज्ञान र अनुभवको अभाव भएको महशुस गर्न थाले । जसले व्यवसायिक योजना अपुरो रहेको अनुभुती दिलाउन थाल्यो । परिणामस्वरुप कम्पनी समस्यामा पर्दै गयो । 

घरमा राखिने डिसको छाता ग्राहक आफैले राख्न सक्छन् भन्ने सोचाइका साथ कम्पनीले योजना बनाएको थियो । अमेरिकामा छँदा प्राविधिक आफै आएर छाता जडान गरेको विषय आचार्यले नदेखेका होइनन् । ‘तर बिजनेश प्लान बनाउँदा त्यो कुरा सोचिएन,’ आचार्य भन्छन्, ‘ग्राहक आफैले राख्छन्, हामीले बेच्ने मात्र हो भन्ने थियो । तर, डिसलाई स्याटालाइटको एंगल अनुसार मिलाउनु पर्ने रहेछ ।’

डिसको छाता राख्न दक्ष जनशक्ति आवश्यक हुन्थ्यो । तर कम्पनीसँग थिएन । अभाव खट्किएपछि मात्र जनशक्ति तयार गर्ने काम सुरु भयो । यस्तैमा २० देखि ३० जना प्राविधिक तयार पनि भए । तर, नेपालभर सेवा विस्तारका लागि त्यो जनशक्ति पर्याप्त हुने कुरै थिएन ।

जसले गर्दा मागअनुसार डिस जोड्न सम्भव भएन । जोडिएको घरमा पनि सही रुपमा नजोडिँदाको समस्या छँदै थियो । यसको असर व्यवसायमा पर्न थाल्यो । अन्ततः व्यवसायिक योजनाअनुसार अगाडि बढ्न नसक्ने अवस्थामा कम्पनी पुग्यो ।  

अवस्था यतिसम्म जटिल बन्यो कि कम्पनीले सेवा सुरु गरेको १२ महिनामै टिकाउन नसकिने महशुस सञ्चालकलाई हुन थाल्यो ।  बन्द गर्ने वा ठूलो लगानी भित्र्याउने, यीनै दुई विकल्प थिए । बन्द गर्नु सहज विकल्प छँदै थिएन । अनि अर्को विकल्प पनि भेटियो । त्यसअनुसार तत्कालीन होम टीभी र डिस नेपाल मर्ज गर्ने कुरा अघि बढ्यो । 

दुबै सेवा प्रदायकले भारतबाट छुट्टाछुट्टै रुपमा च्यानल किनेर ल्याउँथे । त्यसमा दोहोरो खर्च भइरहेको थियो । दुबै कम्पनी एक हुँदा त्यस्तो खर्च कम हुने, अन्य सञ्चालन खर्चमा पनि कमी आउने ।

‘उद्देश्य एउटै थियो, त्यसैले पनि हामी एक भएर जानु पर्छ भन्ने भयो,’ आचार्य सुनाउँछन्, ‘२०१० को अगष्टमा हामीले सेवा सुरु गरेका थियौं । २०११ को फेब्रुअरीमा हामी दुई कम्पनी एक भयौं । यसरी डीसहोमको जन्म भयो ।’

कम्पनी एउटै भएपछि स्याटेलाइट पनि एउटै प्रयोग हुन थाल्यो ।  जसले स्याटेलाइटको खर्च पनि जोगियो । यसबीच एक वर्षको अनुभव संगालीसकेको अवस्था थियो । 

अनुभवले ठूलो लगानीको आवश्यकता रहेको महशुस गराइरहेको थियो ।  तर, त्यस बेला नेपालमा बैंकहरुसँग ठूलो रकम ऋण प्रवाह गर्न पर्याप्त पूँजी थिएन । ६५ करोड ऋण लिन १४ वटा बैंकलाई गुहार्नु परेको बिगत आचार्यको मानसपटलमा ताजै छ ।  

त्यसैले २०११ मै लगानीको अर्को बाटो खुल्यो । विदेशी कम्पनी ‘स्यान मार्टिन होल्डीङ्स’ सँग कुरा अघि बढ्यो । होल्डिङ पनि इच्छुक देखियो । ४७ प्रतिशत शेयर उनिहरुले खरीद गर्ने कुरा भयो ।

उक्त कम्पनी आउने अवस्थामा लगानीका अलावा अर्को सहजता पनि थपिनेवाला थियो । त्यो के भने स्यान मार्टिन आफै सेटअप बक्स उत्पादक कम्पनी । त्यति मात्र नभएर उक्त कम्पनीसँग स्याटेलाइट टेलिभिजन प्रशारण व्यवसायको लामो अनुभव पनि थियो । जसले गर्दा प्राविधिक रुपमा निकै सहज हुने भयो । 

सम्झौताले डिसहोमको सेट-टप बक्सका लागि भेण्डरसँग मोलतोल गर्नुपर्ने झन्झट पनि अन्त्य गरिदियो । आफू पनि लगानीकर्ताको रुपमा रहेकाले कसरी कम्पनीलाई सफल बनाउने भन्ने दायीत्व स्यान मार्टिनलाई पनि थियो । 

यता दैनिक रुपमा ग्राहक थपिँदै थिए । त्यो अर्को सकारात्मक पक्ष थियो । कारण के भने त्यतिबेला टेलिभिजन हर्नेक्रम त्यति व्यापक भइसकेको थिएन । भएका अन्य सबै एनालगमा ।

विश्वकप हेर्दा देखेर होइन, सुनेरै गोल भएको थाहा पाउनुपर्नेसम्मको अवस्था थियो । टेलिभिजनका दर्शकलाई त्यसैमा रमाउनुको विकल्प पनि थिएन । दर्शकको त्यही बाध्यात्मक अवस्था डिसहोमका लागि एउटा गतिलो अवसर बनिदियो । 

अर्कोतर्फ ग्रामीण क्षेत्रमा त्यतिबेलासम्म टेलिभिजनको पुहँच खासै पुगिसकेको थिएन । टेलिभिजन भएतापनि नेपाल टेलिभिजन भन्दा अर्को हेर्न सम्भव थिएन। ‘हामीले त्यो विकल्प दियौं । ग्राहक आकर्षित भए । ग्राहक बढ्दै गए । हामीले पनि ग्राहकलाई केन्द्रमा राखेर काम गर्न थाल्यौं ।’

कम्पनीले ग्राहक सेवालाई प्रभावकारी बनाउँदै लग्यो । कल सेन्टर विस्तार भयो । आचार्य अहिले डिसहोमको कल सेन्टर नेपालकै नमुना भएको दाबी गर्छन् । ‘ग्राहकले कल गर्ने वित्तिकै सम्पूर्ण जानकारी दिने, ग्राहको कल बिचैमा काटिए तुरन्तै कलब्याक गर्न सकिने सिस्टम हामीले बनाएका छौँ,’ उनी उत्साहित देखिए । 

यसरी समयक्रमसँगै कम्पनीको योजना पनि परिवर्तन हुँदै गयो । प्रशारणको प्रविधिका अलावा प्रशारण सामग्रीमा पनि कम्पनीले काम सुरु गर्ने योजना बनायो । 

कुरा सन् २०१५ को अप्रिल तिरको हो । त्यस अघि लगानीकर्ताको रुपमा रहेका आचार्य कम्पनीको प्रमुख कार्यकारी अधिकृतको नयाँ जिम्मेवारीमा नियुक्त भएका थिए ।

नयाँ जिम्मेवारी सम्हालेको १२ दिनमै महाविपत्ति निम्त्याउने गरी भूकम्पले सारा नेपाल हल्लायो । तर, त्यो विपद् अवसरको रुपमा उपयोग गर्न एउटा संयोग जस्तै बनिदियो ।

‘ठ्याक्कै त्यतिबेला हामीले स्याटालाईट माइग्रेसन गरेका थियौं । इन्टेक स्याटको ९०६ स्याटालाईटबाट हामी आमोस फोरमा गएका थियौं । जसले गर्दा हाम्रा सबै प्राविधिकहरु ग्राहकको घर-घरमा पुग्नैपर्ने हुन्थ्यो । त्यसले हामीलाई फेरी एक पटक ग्राहकसँग जोडिने अवसर मिल्याे भने, भुकम्प गएको बेला १७ घण्टामै सबै सेवालाई पुनः सञ्चालनमा ल्याउन सफल भयौँ । यसले हामीलाई ग्राहकसँग अझ नजिक हुने मौका मिल्यो,’ उनी भन्छन् । 

सँगसँगै कम्पनीले बिलिङ सफ्टवेयरलाई पनि अपग्रेड गरिरहेको थियो । ग्राहकले रिचार्ज गरेको आधा एक घण्टामा पनि टीभी नचल्ने समस्याको समाधन बिलिङ सिस्टममा भएको अपग्रेडले केही सेकेन्डमै चल्नै बनाइदियो ।

असहज अवस्थाबाट यसरी कम्पनी विस्तारै बाहिर आउन थाल्यो । यसले नयाँ अवसरहरु पनि देखाउन थाल्यो । त्यसका लागि अब नयाँ प्रविधि र योजनाको आवश्यक थियो ।

ठीक त्यही समयमा सरकारले टेलिभिजन प्रशारणको वितरणलाई डिजिटलमा रुपमान्तरण गर्ने लक्ष्य सार्वजनिक गर्‍यो । त्यसको सुरुवात डिसहोमले गरिसकेको थियो । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन-आईटीयुले पनि डिजिटलमा जानै पर्ने निर्देशन दिइसकेको थियो । 

एनालग केबल प्रशारणलाई डिजिटलमा रुपान्तरण गर्दाको फाइदा र त्यसबाट सरकारको राजश्वमा पर्ने फरक विषय डिसहोमको अनुभवले दिलाइसकेको थियो ।

त्यसताका देशभर सात सय भन्दा बढी केबल अपरेटरहरु सञ्चालनमा थिए । ती सबैलाई भर्खरै डिजिटलमा रुपान्तरण गर्ने काम भर्खरै सम्पन्न भएको छ । यसको फाइदा अहिले सरकार, व्यवसायी र ग्राहक सबैलाई पुगेको छ । 

टेलिभिजन प्रशारण सबैतिर डिजिटलमा रुपान्तरण भइसकेको अवस्थामा प्रतिस्पर्धाका लागि नयाँ उपाय आवश्यक थियो । यस्तैमा नेपाली चलचित्र उद्योगसँग जोडिएर आफ्नै च्यानलबाट थप कन्टेन्ट दिने योजना बन्यो ।

‘त्यसपछि हामीले नेपाली चलचित्र मात्रै दिनेगरी ‘प्लस मुभी’ भन्ने छुट्टै च्यानल सुरु गर्‍यौं । ग्राहकले पैसा तिरेर नेपाली चलचित्र हेर्न पाउने विकल्प तयार भयो,’ प्रबन्ध निर्देशक आचार्य भन्छन्, ‘त्योसँगै हामीले ‘पे पर भ्यू’ पनि सुरु गर्यौँ । जसबाट हलमा चलेका नेपाली चलिचित्र पैसा तिरेर ग्राहकले टीभीमै हेर्न पाउने बनायौं ।’

सिनेमा हल नभएका स्थानका दर्शकका लागि यो चलचित्र हेर्ने एउटा गतिलो विकल्पकाे रुपमा स्थापित हुँदै गएको छ । अर्कोतर्फ नेपाली चलचित्र उद्योगमा पनि सहयोग पुर्‍याएको छ । 

अहिले यसको प्रयोग बढ्दो क्रममा रहेको आचार्य बताउँछन् । उनका अनुसार यो सेवा सुरु गर्दा पहिलो चलचित्रले नै १२ लाख कमाई गर्न सफल भयो । त्यसपिछका दिनमा नयाँनयाँ चलचित्र हलको पर्दाबाट हट्दा नहट्दै डिसहोमको च्यानलमा देखिन थालेका छन् । 

सेवा सुरु गरेको करिब दुई वर्षको अवधिमा अहिलेसम्म डिसहोमको ‘पे पर भ्यु’ (छुट्टै पैसा तिरेर हेर्ने) मार्फत १० लाख ग्राहकले नेपाली फिल्म हेरेका छन् । 

टेलिभिजनमा नयाँ चलचित्र हेर्नका लागि एउटा टिकेटको तीन सय २५ रुपैयाँ तोकिएको छ । ग्राहकले आफुलाई पायक पर्ने सयम छानेर एसएमएस गरी फिल्म हेर्न पाउँछन् । हाल दैनिक ८ शो चलिरहेका छन् । 

तर यो च्यानलमा हलमा लागेको सबै फिल्म देखाइने भन्ने चाहिँ छैन । किन भने यो विषय चलचित्र निर्माताको रोजाइमा पनि भरपर्छ । हुन त डिसहोमले हलमा लाग्दालाग्दै नेपाली चलचित्र डिसहोममा समेत देखाउने प्रयास नगरेको पनि होइन ।

तर, लगानीकर्ता र हल मालिकहरु त्यसमा सहमत भएनन् । यसरी हलमा लागेको ५५ दिन पश्चातमात्रै डिसहोममा नेपाली चलचित्र देख्न पाइने अवस्था बन्यो । त्यसो त रेखा थापाको एउटा फिल्म हलमा लागेकै दिनदेखि डिसहोममा समेत देखाइयो । उक्त चलचित्रले डिसहोमबाट मात्रै ३५ लाख रुपैयाँको ब्यापार गरेको थियो । 

अहिले तोकिएको समयमा मात्रै हेर्न मिल्ने अवस्था छ । विस्तारै ग्राहकले चाहेको समयमा हेर्न मिल्ने पनि सेवा सुरु गर्ने तयारीमा कम्पनी जुटेको छ । डिसहोमको सेट-टप बक्समा दुई ओटा यूएसबी (पेनड्राइभ) राख्न मिल्ने बनाइएको छ ।

त्यसमा पेनड्राइभ राखेर फिल्म रेकर्ड गरेर आफूले चाहेको समयमा हेर्न सकिन्छ । तर यसरी रेकर्ड गरिएको चलचित्र त्यहि सेट टप बक्समा मात्रै हेर्न मिल्ने प्रविधि अपनाइएको छ ।

यदि तपाईं कुनै खेल हेर्दै हुनुहुन्छ र बीचैमा तपाईं कुनै जरुरी काममा अल्झिनुपर्‍यो भने पेनड्राइभ राखेर ‘पज’ गरेर राख्न सकिन्छ । यूएसबीकै लागि कम्पनीले अर्को योजना पनि बनाएको छ । त्यो के भने, हरेक हप्ता अथवा हरेक १५ दिनमा यूएसबीमा फिल्म डाउनलोड हुन्छ । यदी तपाईंले पैसा तिर्नु भएको छ भने खुल्छ नत्र खुल्नेछैन । 

त्यसमा हरेक सात दिनमा नयाँ फिल्म डाउनलोड हुनेछ । यो योजना अबको १–२ महिनामै सुरु हुने प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए । ‘यसका साथै हामीले अर्को ‘डिसहोम गो’ भन्ने मोबाइल एप ल्याएका छौं  । त्यहाँ हाल कम्पनीका ग्राहकले २० वटा च्यान निःशूल्क रुपमा हेर्न सक्छन् ।

बजारमा अहिले विस्तारै प्रतिस्पर्धा बढ्दै गएको छ । सहज रुपमा सेवा पुर्‍याउन सकिने ग्राहक कुनै न कुनै कम्पनीको सेवा लिइरहेकै छन् । अबको ग्राहक भनेको खोज्नुपर्ने अवस्था छ । ग्राहक खोजेर सेवा दिनु अबको चुनौति भएको आचार्य बताउँछन् । 

सरकारी आँकडालाई आधार मान्ने हो भने अहिले करीब ७२ प्रतिशत घरधुरीमा टेलिभिजन पहुँच पुगिसकेको छ । यसकाे मतलब अझैं २८ प्रतिशत घरधुरीमा टेलिभिजन पुग्न बाँकी छ । तर ती सबै घर सहज पुहँचमा भने छैनन् । बजारमा नयाँ नयाँ प्रविधि पनि भित्रिएका छन् । 

यद्यपी नेपालको परिवेशमा स्याटेलाइट शशक्त माध्यम भएकाले डिसहोमलाई अन्य प्रविधिका वितरक भन्दा सहज छ । केबलमा विभिन्न स्थानमा  ‘हेडइन’ राख्नुपर्ने बाध्यता रहन्छ ।

स्याटेलाइट प्रविधिमा मात्रै नभएर डिसहोमले केबलमार्फत समेत डिजिटल टेलिभिजन दिन थालेको छ । अहिले करीब ३५ प्रतिशत बजार हिस्सा डिसहोम एक्लैको छ । यस हिसावले टेलिभिजन प्रशारणको वितरणमा यो कम्पनी देशकै ‘नम्बर वान’ बन्न सफल भएको छ ।

प्राविधिक रुपमा आफूलाई अरुभन्दा अब्बल स्थापित गरेको डिसहोमलाई थप परिस्कृत कसरी गर्ने भन्ने किसिमको चुनौति भने कायमै छ । अहिले पनि बजारमा विदेशी कन्टेन्ट (सामग्री तथा विषयवस्तु) हेर्ने ग्राहकको संख्या धेरै छ ।

तर गुणस्तरमा ध्यान दिन सकेको अवस्थामा दर्शकले स्थानीय विषयवस्तु बढी रुचाउने गरेको अनुभव आचार्यको छ । ‘नेपाल आइडल, भ्वाइस अफ नेपाल लगाएतका कार्यक्रममा ग्राहकले देखाएको रुचीले त्यसलाई पुष्टी गरेको छ,’ उनी भन्छन्, ‘युट्युबमा पनि नेपाली कन्टेन्ट नै बढी हेरिने गरेको हामीले देखिरहेका छौँ ।’

तर, कन्टेन्ट बनाउने कार्य भने चुनौतिपुर्ण छ । यहाँ आईडिया र ट्यालेन्ट भए पनि लगानीकै विषय सबैभन्दा चुनौतिको विषय रहेको आचार्यको बुझाई छ । उनी भन्छन्, ‘यदि बनाइएको कन्टेन्टलाई मनिटाइज गर्न सक्ने हो भने नेपाली कन्टेन्ट विस्तारै उत्कृष्ट हुँदै जानेछन् । हामी त्यसैमा काम गरिरहेका छौं । 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team